–डा. विनयकुमार रेग्मी
डेंगु एक प्रकारको भाइरल रोग हो, जुन एडिस इजिप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट लाग्छ । यो लामखुट्टे विशेषगरी बिहान सबेरै र दिउँसोको समय सक्रिय रहन्छ र सफा पानीमा अण्डा पार्ने गर्दछ । एडिस लामखुट्टेले टोकेको करिब ४ देखि ७ दिनपछि मात्रै डेंगुका लक्षणहरू देखिन थाल्छन् ।
डेंगुका लक्षणहरू
डेंगुको संक्रमण हुँदा केही लक्षणहरु देखिन थाल्छन्, जसबाट व्यक्ति संक्रमित भएको अनुमान लगाउन सक्छौं । जसका प्रमुख लक्षण निम्न छन्–
१. एक्कासि उच्च ज्वरो आउनु
२. टाउको र आँखाको गहिरो दुखाइ
३. मांसपेशी र जोर्नीमा पीडा
४. अत्यधिक थकाई महसुस हुनु
५. वाकवाकी लाग्नु वा वान्ता हुनु
६. पेट दुखाइ
७. छालामा रातो रास वा दागहरू देखिनु
८. गिजा वा नाकबाट रगत आउनु
९. सास फेर्न गाह्रो हुनु
१०. चिडचिडापन र मानसिक असहजता
गम्भीर अवस्थालाई डेंगु हेमोरेजिक फिवर भनिन्छ, जसमा रगत जमाउने प्लेटलेट्सको संख्या एकाएक घट्न थाल्छ, शरीरमा आन्तरिक रक्तस्राव हुनसक्छ । जसले अंगहरूमा क्षति पुग्न सक्छ । यस्तो अवस्थामा तुरुन्त अस्पताल भर्ना गरी विशेषज्ञको निगरानीमा राख्नुपर्छ ।
डेंगुको परीक्षण
डेंगु पहिचानका लागि रक्त परीक्षण अनिवार्य हुन्छ । यसमा प्लेटलेट्सको संख्या, सेतो र रातो रक्तकोषको मात्राको मूल्यांकन, लिभर र मिर्गौलाको कार्यक्षमता परीक्षण, साथै डेंगु एन्टिजेन र एन्टीबडीको परीक्षण गरिन्छ ।
कसरी हुन्छ उपचार ?
हालसम्म डेंगुको कुनै विशेष औषधि उपलब्ध छैन । त्यसैले लक्षणअनुसार उपचार गरिन्छ । यसमा ज्वरो कम गर्न प्यारासिटामोल प्रयोग गरिन्छ, तर एस्प्रिन वा ब्रुफेन जस्ता औषधिहरूले रक्तस्रावको जोखिम बढाउँछन्, जसको प्रयोग निषेध छ । बिरामीलाई प्रशस्त मात्रामा पानी, झोलिलो पदार्थ, इलेक्ट्रोलाइट सप्लीमेंट जस्ता तरल पदार्थ दिनुपर्छ । ब्लड प्रेसरको निगरानी गरिनुपर्छ र प्लेटलेट्स अत्यधिक घटेमा रक्त चढाउनुपर्छ ।
डेंगुको रोकथाम
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टे नियन्त्रण नै यसको मुख्य रोकथाम हो । जसका उपायबारे यहाँ चर्चा गरिएको छ–
१. सधैं झुल लगाएर सुत्ने
२. पुरै शरीर ढाक्ने लुगा लगाउने
३. बिहान र बेलुकी झ्याल–ढोका बन्द गर्ने
४. पानी जम्न नदिने – विशेषगरी गमला, ड्रम, टायर, फुलदानी आदि सफा राख्ने
५. लामखुट्टे नछिर्ने गरी झ्याल र ढोकामा जाली लगाउने
६. लामखुट्टे नष्ट गर्न धुप, स्प्रे वा झोल (चभउभििभलत) प्रयोग गर्ने
निष्कर्षमा
डेंगुका बिरामीहरूले ‘प्लेटलेट्स बढाउने’ भन्दै बिना प्रमाणित घरेलु उपचार वा खानेकुराको प्रयोग नगर्नु उपयुक्त हुन्छ । चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि सेवन गर्नु खतरनाक हुन सक्छ । कतिपय अवस्थामा बिरामी आफैँ केही दिनमा ठीक हुने गर्छन्, तर लक्षण गम्भीर देखिएमा तुरुन्त अस्पताल जानु अत्यावश्यक छ ।
डेंगु नियन्त्रण योग्य रोग हो, तर समयमा सही पहिचान, उपचार र रोकथामको उपायहरू अपनाएन भने ज्यानसमेत जान सक्ने खतरा हुन्छ । त्यसैले व्यक्तिगत सतर्कता, स्वच्छता र सामुदायिक जागरूकता अत्यन्त जरुरी छ ।
(डा. रेग्मी फिजिसियन तथा वरिष्ठ वाथरोग विशेषज्ञ हुन् । हाल उनी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आबद्ध छन् ।)