२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

रोहितको शतकमा क्यानडाविरुद्ध नेपालको जित

Nada
२०८३ असोज २५ गते १९:३४
Shares
रोहितको शतकमा क्यानडाविरुद्ध नेपालको जित

काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले विजयी सुरुवात गरेको छ । ओमानमा जारी श्रृंखलाअन्तर्गत आइतबार भएको खेलमा क्यानडालाई २४ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

ncell

नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो । क्यानडाका लागि आरोन जोनसनले ४४ रन बनाए । ४९ बल खेलेका उनले ६ चौका प्रहार गरे ।

समित गोहेलले ५९ बलमा २ चौकाको सहयोगमा ३५ रन बनाए र अखिल कुमारले अविजित ३० रन बनाए । श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन बनाए ।

नेपालका लागि करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान २–२ विकेट लिए ।

ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनाएको थियो ।

नेपालका लागि रोहित पौडेलले शतकीय इनिङ खेले । रोहितले १२७ बलमा ८ चौका र १ छक्काको सहयोगमा १०१ रन बनाए । गुल्सन झाले ३४ बलमा ४८ रन बनाए । बसिर अहमदले ५७ बलमा ३० रन बनाए भने अर्जुन कुमालले ५४ बलमा २३ रन बनाए ।

क्यानडाका लागि अखिल कुमारले ४ विकेट लिए भने सुख्जिन्दर सिंहले ३ विकेट लिँदा जहिर शिर्जादले २ विकेट लिए ।

यस शृंखलाको पहिलो खेलमा ओमानले क्यानडालाई हराएको थियो । त्यसपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको थियो । अब नेपालको ध्यान ओडीआई स्टाटस बचाउनेतर्फ हुनेछ ।

यस जितपछि लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौं स्थानमा झरेको छ ।

लिग–२ का शीर्ष चार टोलीले आगामी फेब्रुअरीमा हुने विश्वकप छनोटमा सिधै स्थान बनाउने व्यवस्था छ । शीर्ष चारमा पर्न नसकेपछि नेपालले अब प्लेअफमार्फत विश्वकप छनोटको यात्रा तय गर्नुपर्नेछ । यसअघि नेपालले शीर्ष चारमा रहँदै छनोट खेल्ने अवसर पाएको थियो ।

यद्यपि, नेपालको तत्कालको प्राथमिकता भने ओडिआई मान्यता सुरक्षित गर्नु हो । यस शृंखलामा तीन खेल जित्न सके नेपालको ओडिआई मान्यता सुरक्षित हुनेछ । अन्यथा नेपालले विश्वकप छनोट प्लेअफबाटै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनुपर्ने चुनौती सामना गर्नुपर्नेछ ।

नेपालले सन् २०१८ मा जिम्बाब्वेमा आयोजित विश्वकप छनोट प्रतियोगिताबाट ओडिआई मान्यता प्राप्त गरेको थियो । त्यसयता नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर