२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

दसैंमा ड्रोनबाट सुरक्षा निगरानी, देशभर ८० हजार प्रहरी तैनाथ

Nada
जीवन शर्मा
२०८३ असोज २६ गते ०६:२५
Shares
दसैंमा ड्रोनबाट सुरक्षा निगरानी, देशभर ८० हजार प्रहरी तैनाथ

काठमाडौं : दसैं, तिहारलगायत चाडपर्वमा हुने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले ‘विशेष सुरक्षा योजना २०८३’ ल्याएका छन् । उक्त योजना कार्यान्वयनका लागी नेपाल प्रहरीले ५० हजार र सशस्त्र प्रहरीले २८ हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने भएको छ । सोहीअनुसारको आवश्यक ड्रोन तथा सिसिटिभीमार्फत निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

ncell

‘चाडपर्वको मौका छोपी चोरी डकैती, जुवातास एवं सट्टेबाजीे, अन्तर्राष्ट्रिय सीमानाकामा तस्करी र सीमा अपराध हुन सक्छन्,’ नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले भने, ‘यस्ता अपराध नियन्त्रणका लागी नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना–२०८३ ल्याएको छ ।’ यो समयमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको उनले बताए ।  

नेपाल प्रहरीले मात्रै होइन, सशस्त्र प्रहरी बललले पनि शान्ति सुरक्षालाई मध्यनजर गर्दै चाडपर्वलक्षित विशेष सुरक्षा योजना–२०८३ ल्याएको हो । दुवै सुरक्षा निकायले छुट्टाछुट्टै योजना बनाएर दसैं, तिहार, छठलगायत राष्ट्रिय चाडपर्वमा हुन सक्ने आपराधिक घटना हुनबाट रोक्ने बताएका छन् । सशस्त्र प्रहरीले २८ हजार भन्दा बढी जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८३’ तयार गरी असोज २२ गतेबाटै लागू गरेको बताए । उनले मध्यान्हसँग भने, ‘हामीले यो वर्ष २८ हजार १२६ जना सुरक्षाफौजलाई तैनाथ गरेका छौं ।’ 

असोज २५ गतेबाट औपचारिक रूपमा दसैंको प्रारम्भ भइसकेको छ । दसैं, तिहार र छठ मनाउनका सहरदेखि गाउँ जाने नागरिकको लर्को छ । दसैंको उल्लाससँगै बढेको भिडभाडसँगै हुन सक्ने आपराधिक घटनाले मुलुकको शान्ति सुरक्षाको विषय गम्भीर बन्ने सक्ने सुरक्षा निकायले आकलन गरेका छन् । यही समयमा विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुन्डी र नक्कली नोट कारोबारलगायतलाई सुरक्षा निकायले चुनौतीका रूपमा लिएका छन् । यसलाई व्यवस्थापन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले हरेक वर्षजस्तै यस वर्ष पनि विशेष सुरक्षा योजना ल्याएको दुवै सुरक्षा निकायले बताएको हो । 

बडादसैं, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बुधबारदेखि ‘चाडपर्वलक्षित सुरक्षा योजना–२०८३’ लागू गरेको नेपाल प्रहरीले जनाएको छ । यो समयमा आमनागरिकको जनजीवन सामान्य तुल्याउन, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्यमा जाने यात्रीसमेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । सुरक्षा व्यवस्था चुस्त बनाउन ५० हजार बढी प्रहरी खटाइएको उनको भनाइ छ । नेपाल प्रहरीले ४०८ स्थानमा यात्रु सहायता र अन्तर्राष्ट्रिय सीमा–नाकामा १०८ वटा सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय एवं जिल्ला प्रहरी कार्यालयमा कमान्ड पोस्ट स्थापना र त्यहाँबाट प्रहरी परिचालनको व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले जानकारी दिए । यसअवधिमा प्रहरीले पैदल, मोबाइल र ग्रामीण गस्ती गर्नेछन् । चेकप्वाइन्ट तथा ट्राफिक प्रहरीसहितको चेकजाँचको व्यवस्था मिलाइएको छ भने सरकारी एवं महत्त्वपूर्ण संस्थाहरू, कारागारलगायत कार्यालयको सुरक्षाको व्यवस्था मजबुत पारिएको छ । प्रहरीले चाडपर्व सुरक्षा योजनाको कार्यान्वयनमा ड्रोन, सिसिटिभी, ‘बडिवन’ क्यामरालगायत सञ्चार उपकरण र प्रविधिको प्रयोग गर्ने भएको छ । 

काठमाडौं उपत्यकालगायत प्रमुख सहरको मुख्य बजार तथा सपिङ मल, मार्ट, बैंक तथा वित्तीय संस्था, सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय एवं ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसामा शून्य सहनशीलताको रणनीति अपनाइने प्रवक्ता काफलेले बताए । त्यस्तै, उपत्यकाबाट बाहिरिने सवारीसाधनमा यात्रुलाई दुःख दिने, हैरानी दिने, टिकट महँगोमा बिक्री गर्ने, कालोबजारी गर्ने, सिट नभएको टिकट जारी गर्ने प्रवृत्ति अन्त्य गर्ने प्रहरीले लक्ष्य लिएको प्रहरीको भनाइ छ । चाडपर्वको समयमा नागरिकको सुरक्षा, सहज आवागमन, दुर्घटना न्यूनीकरण गर्नेमा प्रहरीको ध्यान केन्द्रित भएको प्रवक्ता काफ्लेले बताए । ‘चाडपर्वको बेलामा बढ्न सक्ने दुर्घटना कमी ल्याउन मातहतको निकायलाई निर्देशन भइसकेको छ,’ उनले भने, ‘यो चाडपर्वमा विगतको भन्दा अझ शान्त, सुरक्षित, मर्यादित, व्यवस्थित र भरपर्दो सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको छ ।’ प्रहरीले सुरक्षा व्यवस्थालाई कार्यसम्पादनसँग जोडेर हेरेको छ । ‘जिल्ला प्रहरी प्रमुख र प्रदेश प्रहरी कार्यालयको प्रमुखको कार्यसम्पादन सुरक्षा व्यवस्थासँग जोडेर हेरिएको छ,’ उनले भने ।

त्यस्तै, २८ हजार बढीको संख्यामा जनशक्ति परिचालन गरेको सशस्त्र प्रहरी बल, नेपालले आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्न बताएको छ । त्यसका लागि थप ४ हजार ५०० जनशक्ति तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीबलका प्रवक्ता कार्कीले बताए । सशस्त्रले सीमावर्ती क्षेत्र तथा अन्य स्थानमा हुन सक्ने आपराधिक गतिविधि र अप्रिय घटना रोक्न आवश्यक स्रोतसाधन तथा प्रविधिसहित सुरक्षा तैनाथी बढाइएको उनले बताए । ‘सीमा क्षेत्रमा अपराध नियन्त्रणसँगै नेपाल प्रवेश गर्ने पर्यटक तथा नेपाली नागरिकको सुरक्षित र सहज आवागमनका लागि विशेष व्यवस्था गरिएको छ,’ उनले भने । नागरिकलाई आवश्यक सहयोग तथा विपद्का बेला उद्धारमा सहजीकरण गर्न भारत र चीनतर्फका समकक्षी सुरक्षा निकायसँग समन्वय गरी १४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष स्थापना गरेको उनको भनाइ छ । सीमावर्ती क्षेत्रमा समकक्षी सुरक्षा निकायसँगको समन्वयमा संयुक्त गस्तीसमेत सञ्चालन भइरहेको छ । 

‘अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषध पहिचानका लागि झापाको काँकडभिट्टा, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा तालिमप्राप्त स्निफिङ डगसहितको के–९ टोली परिचालन गरिएको छ,’ प्रवक्ता कार्कीले भने, ‘चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणसँगै मुख्य राजमार्गमा दुर्घटना न्यूनीकरण र तत्काल उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितको आकस्मिक उद्धार टोली परिचालन गरिएको छ ।’  

त्यस्तै, ठुला दुर्घटना वा विपद्मा एकैपटक धेरै घाइतेलाई अस्पताल पुर्‍याउनुपर्ने अवस्था आउन सक्ने कुरालाई ख्याल गर्दै सातै प्रदेश तथा काठमाडौं उपत्यकासहित १६ स्थानमा मास क्याजुअल्टी भेइकल (एमसिभी)समेत तैनाथ गरिएको सशस्त्र प्रहरीको भनाइ छ । सुरक्षा योजनाअन्तर्गत दैनिक ४१५ स्थानमा पिकेट, ४१८ स्थानमा चेक प्वाइन्ट, ६०१ वटा पैदल गस्ती, ५५५ वटा मोबाइल गस्ती र १८२ वटा लामो दूरीका गस्ती सञ्चालन हुनेछन् । त्यस्तै, १४६ वटा क्विक रेस्पोन्स टिम (क्युआरटी), १४ वटा बम डिस्पोजल टोली, ३७ वटा एम्बुलेन्स, २५१ वटा विपद् उद्धार टोली र ११ स्थानमा गोताखोर टोली २४सै घण्टा तयारी अवस्थामा रहने कार्कीले बताए । 

सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दैनिक ५०४ वटा सीमा नाका पिकेट, ४२ वटा सीमा लिंक पेट्रोल र ६ वटा बोर्डर इन्टर्‍याक्सन टिम (बिआइटी) परिचालन गरिएको छ । चाडपर्व अवधिभर आवश्यकताअनुसार समकक्षी सुरक्षा निकायसँग ९२४ वटा संयुक्त सीमा गस्ती सञ्चालन गर्ने योजनासमेत ल्याएको छ । सशस्त्र प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन  २१ वटा ड्रोन परिचालन गरेको छ भने सीमा नाकाका विभिन्न स्थानमा ४१२ वटा सिसिक्यामेरामार्फत सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, बाहिनी, गण तथा सम्बन्धित युनिटबाट २४सै घण्टा निगरानी गर्ने व्यवस्था मिलाएको कार्कीले बताए ।

सम्बन्धित खबर