२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ : पूर्व राष्ट्रपति भण्डारी

Nada
२०८३ असोज २६ गते १८:०४
Shares
नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ : नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउने गरी मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताएकी छिन् । 

ncell

सोमवार काठमाडौँमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । मुलुकको शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी जीवनोपयोगी बनाउनुपर्नेमा उनको जोड छ । उनले मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीति निर्माता मात्र जिम्मेवार भएर नपुग्ने बताइन् । उनले मुलुकको विकास र समृद्धिको लागि हरेक नागरिक र समुदायको पनि उत्तिकै जिम्मेवारी हुने बताइन् ।

उनले नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन र इमानदारी विकासका महत्त्वपूर्ण आधार भएकोसमेत बताइन्। नेता भण्डारीले नागरिक शिक्षाले लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग गर्ने उल्लेख गर्दै नागरिक शिक्षामा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा समेत जोड दिइन् । नागरिकले राज्यबाट अधिकार र सेवा प्राप्त गर्ने अपेक्षा राख्नु स्वाभाविक भए पनि राज्य र समाजप्रतिको आफ्नो भूमिका तथा जिम्मेवारी बुझ्न पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ । 

उनले भनिन्, ‘मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीति निर्माताहरू मात्र जिम्मेवार भएर पुग्दैन । समाजका हरेक पक्ष, रहेका समुदाय र प्रत्येक नागरिकको पनि विकासमा आफ्नो भूमिका र जिम्मेवारी हुन्छ । नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन, इमानदारिता पनि विकासका महत्त्वपूर्ण आधार हुन् । यस अर्थमा नागरिक शिक्षा लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्ने महत्त्वपूर्ण आधार हो । यसले नागरिकमा आलोचनात्मक चेतना, सामाजिक उत्तरदायित्व, सहिष्णुता र लोकतान्त्रिक मूल्यप्रतिको सम्मान विकास गर्नुपर्छ । नागरिकले राज्यबाट आफ्ना अधिकार र सेवा प्राप्त गर्ने अपेक्षा राख्नु स्वभाविक हो । तर राज्य र समाजप्रतिको आफ्नो भूमिका र जिम्मेवारी बुझ्न समेत उत्तिकै आवश्यक हुन्छ । यसका लागि हाम्रो शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको छ । शिक्षालाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी विवेकशील, सिर्जनशील, नैतिक र जिम्मेवार नागरिक निर्माण गर्ने माध्यमका रूपमा विकास गर्ने माध्यम बनाउनुपर्छ भन्ने मलाई लाग्छ । विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षण विधि, पाठ्यक्रम र मूल्यांकन प्रणालीलाई जीवनउपयोगी, ज्ञान,दृष्टिकोण, आलोचनात्मक चिन्तन र  नागरिक जिम्मेवारीसँग जोड्नपर्छ । शिक्षा प्रणालीको सुधारसँगै पठन संस्कृतिको विकास पनि उत्तिकै आवश्यक छ ।’

उनले विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम, शिक्षण विधि र मूल्यांकन प्रणालीलाई जीवनोपयोगी ज्ञान, दृष्टिकोण, आलोचनात्मक चिन्तन र नागरिक जिम्मेवारीसँग जोड्नुपर्ने बताइन् । 

ताजा खबर

सम्बन्धित खबर