
काठमाडौँ : इजरायलमा केयरगिभरको काममा पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई अदालतले थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्कालाई थुनामा नराखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
अदालतका अनुसार पीडितले दिएको जाहेरी र पक्राउ परेका अन्य प्रतिवादीको बयानमा खड्काको संलग्नता पुष्टि हुने पर्याप्त आधार देखिएको छैन ।
यस प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खड्कासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्य व्यक्तिमा कांग्रेस नेता भरतप्रसाद चौलागाईं, बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ रहेका छन् ।
प्रहरीले सुरुमा दुई जनालाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता देखिएको र घटना संगठित रूपमा भएको आशंका भएपछि प्रहरीले संगठित अपराधको कसुरसमेत थपेर अनुसन्धान अघि बढाएको थियो ।