
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन् ।
हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा उनले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पारे ।
मन्त्री डा तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाका रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
मन्त्री तिमिल्सिनाले भने, “अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन, यसको सेवामा परिवर्तन हुँदै आएकाले नेपालमा पनि हुलाकलाई प्रभावकारी बनाउन कर्मचारीको क्षमता अभिवृद्धि, साधनस्रोत सम्पन्न र दूरदराजका जनतासम्म सेवा पुर्याउने कार्यमा सहयोग गर्न सरकार लागिपरेको छ ।”
उनले विगतमा हुलाकका गतिविधि, कमीकमजोरी र देखिएका समस्याको पहिचान गरी आगामी दिनमा हुलाकको काम प्रभावकारी बनाउन मतहतका कर्मचारीको विशेष पहल आवश्यक रहेको बताए ।
मन्त्री तिमिल्सिनाले बजेट अभाव, साधनस्रोत कमी र कार्यसम्पादनमा जटिलता देखाएर कुनै पनि कर्मचारी आफ्नो अधिकार र कर्तव्यबाट नपन्छिन निर्देशन दिए ।
हुलाकको सेवालाई छिटोछरितो र गुणस्तरीय बनाउनेमा विभाग मातहतका सबै निकाय र कर्मचारीको सकारात्मक सोच र प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ ।
सरकारले हुलाकमा गरेको लगानीको पूर्ण सदुपयोग गर्न कर्मचारीतन्त्रले सकारात्मक सोच र प्रतिवद्धताका कार्यसम्पादन गर्नुपर्ने उनले धारणा व्यक्त गरे ।