२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

निरन्तर विवादमा खगेन्द्र

Nada
भावना पाठक
२०८३ असोज २८ गते ०६:२०
Shares
निरन्तर विवादमा खगेन्द्र

काठमाडौं : दलित अभियन्ता हुँदै राष्ट्रिय राजनीतिमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार महिलामाथि आपत्तिजनक टिप्पणी र धम्की दिएको आरोपमा विवादमा तानिएका छन् । एक महिलालाई अश्लील र आपराधिक भाषा प्रयोग गरी धम्की दिएको अडियो बाहिरिएपछि उनी विवादमा तानिएका हुन् । 

ncell

सुनारको भनिएको अडियोमा ‘रगत पिउँछु, तेरो ज्यान लिन्छु’जस्ता आपराधिक भाषा प्रयोग गरेको सुन्न सकिन्छ । ‘मलाई बुढी पनि भन्नुहुन्छ, मार्छु, काट्छु पनि भन्नुहुन्छ, मेरो नांगो भिडियो बनाएर ब्ल्याकमेल पनि गरिरहनुहुन्छ, मैले कति सहने ?’ पीडित महिलाले प्रश्न गरेकी छिन् । 

ती महिलाको पीडालाई बेवास्ता गर्दै उनले ‘मलाई पैसा चाहियो’ मात्र भनिरहेको सुन्न सकिन्छ । ‘मलाई साँझसम्म चाहिन्छ, साँझ ८ बजेसम्म हुन्छ नि हैन पैसा ? ओइ, सुनिस्, साँझ आउँछ नि हैन ?’ ती महिलाले जवाफ दिन्छिन्, ‘हस्’ । 

ती महिलाले फेरि सोध्छिन्, ‘हजुरलाई पैसै मात्र चाहिएको हो त ?’, सुनार भन्छन्, ‘अँ मलाई पैसा चाहिएको हो । साँझ आउँछ हैन ?’ 

‘हस्, तपाईंलाई पैसा नै चाहिएको हो भने म जसरी भए पनि रेडी गर्छु,’ ती महिला भन्छिन् । 

त्यसपछि सुनार अस्वाभाविक हाँसो हाँस्छन् । ‘हिरोको आमालाई, हिरोइनलाई बलात्कार गर्दा भिलेनलाई जस्तो आनन्द आउँछ नि, मलाई त्यस्तै भै’राछ,’ उनी निर्धक्कसँग भन्छन् । सार्वजनिक अडियो सुन्दा सुनार र ती महिलाबीच प्रेम रहेको र पछि खटपट भएको बुझ्न सकिन्छ । 

यो विषय बाहिर आएपछि रास्वपाले विज्ञप्ति जारी गर्दै सुनारमाथि छानबिन गर्ने बताइसकेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कानुनभन्दा माथि कोही पनि हुँदैन, राज्यको अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिनेछ ।’ महिलामाथि हुने दुव्र्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टी शून्य सहनशीलताको नीति रहेको विज्ञप्तिमा उल्लेख छ ।

उनीमाथि आरोप लागेपछि पार्टीले आन्तरिक छानबिन अगाडि बढाएको छ । पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले अनुशासन समितिबाट पनि काम अघि बढिसकेको जानकारी दिए । ‘तत्काल काम सुरु गर्न निर्देशन दिइएको थियो, र छानबिन सुरु भइसकेको छ,’ उनी भन्छन्, ‘अनुशासन आयोगले निर्णय गरेर काम अघि बढाइसकेको छ । छानबिनमा लामो समय लाग्दैन । गर्नुपर्ने सबै छानबिन गरिन्छ ।’

सबैतिरबाट दबाब आएपछि सांसद सुनारले आफूले अनुसन्धानमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले भ्रष्टाचारविरुद्ध आवाज उठाएका आधारमा आफूमाथि निरन्तर प्रहार भएको बताए । 

‘भ्रष्टाचारविरुद्ध प्रश्न गर्दै गर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार र घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,’ उनले भनेका छन्, ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ । विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको छु ।’ विवादास्पद अडियोबारे प्रस्टीकरण दिँदै सुनारले काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको र ती सबै आरोप झुटा भएको दाबी गरेका छन् ।’

सांसद सुनारको अडियो प्रकरणलाई रास्वपाको संसदीय दलले पनि गम्भीरतापूर्वक लिएको सचेतक प्रकाशचन्द्र परियारले बताए । उनका अनुसार पार्टीले विधि र प्रक्रियालाई पछ्याउने भए पनि गलत गतिविधिमा संलग्न व्यक्तिलाई संरक्षण नगर्ने नीति लिएको छ । ‘अडियोमाथि छानबिन हुन्छ । यदि उक्त अडियो सम्बन्धित व्यक्तिकै भएको प्रमाणित भयो भने पार्टी एउटा व्यक्तिको पछि सती जान सक्दैन,’ परियारले भने ।

सुनारले सार्वजनिक भएको अडियो फेक हो भनिरहँदा यस विषयमा थुप्रैले आपत्ति जनाएका छन् । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्री सुनारबाट पीडित महिलाको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताउँछिन् । ‘यो अडियो मैले पूरा सुन्न सकिनँ, महिला डरले बोल्नै नसकेको जस्तो देखिन्छ । बच्चालाई समेत त्यो तहको गालीगलौज सहन सक्ने कुरा पटक्कै होइन,’ उनले भनिन्, ‘हिंसाको पनि हद हुन्छ, यो घटना सामान्य छैन । बच्चामाथि सुरक्षा खतरा छ । सरकार, नेपाल प्रहरीले तत्काल महिला र बच्चाको ज्यानको सुरक्षामा ध्यान देओस् ।’ उनले महिला र बालबालिकामाथिको हिंसा कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने बताइन् । 

जनआस्थाले अडियो सार्वजनिक गरे पनि पीडित भनिएकी महिलाको सहमतिमा सार्वजनिक गरिएको हो कि होइन भन्ने विषय खुलेको छैन । नाम उल्लेख नगरिए पनि ती महिलाको परिचय खुल्ने धेरै विषय अडियोमा समावेश छन् । यसले महिलाको सुरक्षा र गोपनीयतामाथि प्रश्न उठेको महिला अधिकारकर्मीहरू बताउँछन् । 

सधैं विवादमा

सांसद सुनार मुछिएको यो पहिलो विवाद होइन । ‘दलितलाई खै’ अभियानमार्फत चिनिएका उनको पृष्ठभूमि नै विवादित छ । रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा न्यायका लागि उनले उठाएको दमदार आवाजलाई धेरैले प्रशंसा गरेका थिए । त्यसयता भने उनी निरन्तर विवादमा पर्दै आएका छन् । 

सुर्खेतस्थित मेहेलकुना अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा उनीविरुद्ध २०८१ असार १४ मा मुद्दा दर्ता भएको थियो । उक्त घटनामा अस्पताल प्रमुख डा. सोजन सापकोटाले जाहेरी दिएका थिए । यो विषय अझै टुंगिएको छैन । मुद्दा अदालतमा विचाराधीन छ । यसैगरी, २०८० असारमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनीमाथि सुर्खेत प्रहरीले मुद्दा चलाएको थियो । २० हजार रुपैयाँ धरौटी बुझाएर उनी त्यतिबेला रिहा भएका थिए ।

सामाजिक सञ्जालबाट महिलालाई गाली बेइज्जत गरेको आरोपमा उनीविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतमा विद्युतीय कारोबारसम्बन्धी मुद्दा दर्ता भएको थियो । उनले फेसबुक लाइभबाट महिलाको चरित्रहत्या गरेको दाबीका साथ अधिवक्ता मनीषा गौतमले मुद्दा दर्ता गरेकी थिइन् । २०८२ कात्तिक १३ मा अदालतमा उपस्थित भएका उनी ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । 

यही विवादकै कारण जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्रीको शपथ हुनुभन्दा केहीबेर अगाडि उनको नाम हटाइएको थियो । त्यतिबेला मन्त्री बन्न नसकेका उनी पछि रास्वपा प्रवेश गरे । गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा बाँके–३, बाट २९ हजार ५५१ मत ल्याएर निर्वाचित भए ।

पदीय मर्यादा उल्लंघनको आरोप 

सांसद सुनारमाथि पदीय मर्यादा उल्लंघन गरेको आरोप लाग्दै आएको छ । अभियन्ता हुँदा उनी सडकमा थिए । सडकबाट सरकारलाई प्रश्न गर्थे । अहिले उनी करिब दुईतिहाइसहित सरकारको नेतृत्व गरिरहेको दलको सांसद छन् । सदनमा पुग्दा पनि सडकको व्यवहार नछोडेको आरोप उनीमाथि लाग्दै आएको छ । 

सांसद निर्वाचित भएलगत्तै कृष्ण विकको हिरासतमा भएको मृत्युलाई हत्या दाबी गर्दै उनले सिन्धुलीका प्रहरी र सिडिओलक्षित अमर्यादित टिप्पणी गरेका थिए । उनले कृष्णले आत्महत्या गरेको नभई प्रहरीले गरेको हत्या भएको दाबी गरेका थिए । ‘दलितलाई मार्न पाइँदैन’ भन्दै उनले यसको जिम्मेवारी प्रहरी प्रशासनले लिनुपर्ने बताएका थिए । सिडिओ र प्रहरी अधिकृतलाई ‘घिसार्छु’ भन्ने अभिव्यक्ति दिएका उनलाई त्यतिबेला रवि लामिछानेले समेत साथ दिएका थिए । 

त्यतिबेला ‘पीडाको आवाज मधुरो हुँदैन’भन्दै सुनारको बचाउ गरिएको थियो । त्यसयता उनी झन् उग्र रूपमा प्रस्तुत हुँदै आएका छन् । गत असार ७ गते चितवनको भरतपुरमा रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा आएका अतिथिप्रति उनले गरेको टिप्पणी पनि विवादित भएको थियो । उनले ‘भ्रष्टाचारी, आतंकारीले हामीलाई सिकाउनु पर्दैन’ भन्दै गरेको टिप्पणी रास्वपामाथि नै भारी परेपछि सभापति रवि लामिछानेले सचेत गराएका थिए ।  

पछिल्लो समय उनी नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीसँगको लफडामा मुछिएका छन् । साउन २७ गते सार्वजनिक लेखा समितिको बैठकमा खगेन्द्र र महानिरीक्षक कार्कीबीच चर्काचर्की भएको थियो । 

उनले गत फागुनमा भएको निर्वाचन प्रहरीका लागि जुत्ता, मोजा, ज्याकेट लगायत सामग्री खरिद गर्दा ६० करोड अनियमितता आरोप लगाएका थिए । ‘आरोप लागेका व्यक्ति पदमै बसेर आफूविरुद्धको छानबिनमा प्रभाव पार्न सक्छ । बर्दी लाएर बसेर ल मलाई छानबिन गर भन्न पाइँदैन,’ उनले भनेका थिए, ‘आवश्यक परे सम्बन्धित व्यक्तिका मोबाइल तथा अन्य प्रमाण नियन्त्रणमा लिएर फौजदारी कसुरको कोणबाट अनुसन्धान गर्नुपर्छ ।’ 

सांसद सुनारको आरोपप्रति आपत्ति जनाउँदै आइजिपी कार्कीले आफ्नो बचाउ गरेका थिए । ‘आजसम्म निष्ठापूर्वक काम गरेका मान्छेलाई जथाभावी भन्या छ । जे मन लाग्यो त्यही भन्नु त उचित होइन होला । कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि !,’ कार्कीले भनेका थिए । 

उनले सुनारमाथि लक्षित गर्दै भनेका थिए– ‘प्रहरीहरूलाई घिसार्छु भन्नेहरूले पनि बडा मिठो कुरा गरेको यहाँ सुन्न पाइयो । घिसार्छु भन्ने कुन किसिमको पाषाणयुगीन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदै छौं कि भन्ने चिन्ता गरिराखेको, बीचमा बडा दूधले नुहाएका कुरा सुनिन्छ ।’

भदौ २६ गतेको प्रतिनिधिसभा बैठकमा सुनारले महानिरीक्षक कार्कीमाथि भ्रष्टाचार र प्रहरीको जुत्ता–मोजा हिनामिनाको आरोप लगाउँदै सरकारसँग बर्खास्त गर्न माग गरेका थिए । यस विषयमा सांसद मनीष झाको नेतृत्वमा छानबिन समिति पनि बनेको छ, उक्त समितिमा उनी पनि सदस्य छन् । 

सुनार र प्रहरीबीच दोहोरी चलिरहेकै बेला अडियो सार्वजनिक हुनुलाई उनले आफूलाई फसाउने षड्यन्त्र भएको टिप्पणी गरेका छन् । ‘यो ममाथिको षड्यन्त्र हो, प्रहरी मबिरुद्ध हात धोएर लागेको छ । म यसको डटेर सामना गर्छु,’ उनले भने ।

चरित्र खोल्ने अडियो काण्ड

नेताको अडियो काण्ड नयाँ भने होइन । कहिले महिलामाथि दुव्र्यवहारको आरोप, कहिले कमिसनको सौदाबाजी त कहिले घुस लेनदेनका संवाद सार्वजनिक हुँदै आएका छन् । केहीले पद गुमाएका छन् भने कतिपयमाथि मुद्दा चलेका छन् । केहीले भने अडियो नै षड्यन्त्र भएको दाबी गर्दै अनुसन्धानको माग गरेका छन् । 

पद गुमाउनेदेखि अदालतसम्म

२०७६ मा तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथि यौन दुव्र्यवहारको आरोपसँग जोडिएको अडियो प्रकरणमा विवादित बने । उनले सभामुख पदबाट राजीनामा दिए र पक्राउसमेत परे । पीडितले नै बयान फेरेपछि उनले अदालतबाट उन्मुक्ति पाए । त्यसअघि चिनियाँ बिचौलियासँग सरकार ढाल्न ५० करोड मागेको अडियोका कारण उनी विवादमा परेका थिए । सो प्रकरणको अनुसन्धान भने भएन । 

त्यही वर्ष तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी कमिसन संवादको अडियो सार्वजनिक भयो । ‘७० करोड’ प्रकरणका रूपमा चर्चित उक्त घटनापछि उनले मन्त्री पदबाट राजीनामा दिए । तर, रकम लेनदेन भएको पुष्टि भएको थिएन ।

रास्वपाकै सांसद ढाकाकुमार श्रेष्ठ मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि कारबाहीमा परे । मन्त्री बन्न ठिक्क परेका उनी पार्टीले उनले सांसद् पद मात्र गुमाएनन्, रास्वपाको साधारण सदस्यबाट समेत कारबाहीमा परे । 

घुस र कमिसनका संवाद

अडियो विवाद नेताहरूमा मात्र सीमित छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक २०७५ मा नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएको भनिएको प्रकरणमा मुछिए । अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिए । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको विवरण छ ।

पूर्वमन्त्री मोहनबहादुर बस्नेत टेरामक्स प्रकरणसँग जोडिएको अडियो विवादमा तानिए । उनले अडियोलाई आफूविरुद्धको षड्यन्त्र भन्दै अस्वीकार गरेका थिए । विशेष अदालतले २०८३ असारमा उनलाई सफाइ दिएको विवरण छ ।

पोखराको लिचीबारी जग्गा प्रकरणमा तत्कालीन मन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहितका व्यक्तिसँग सम्बन्धित अडियो सार्वजनिक भएपछि भ्रष्टाचार मुद्दा अघि बढेको थियो । सोही कारण मन्त्री गुप्ताले राजीनामा दिनुपर्‍यो । पछिल्लो समय अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्य र नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग सम्बन्धित भनिएको अडियो चर्चामा छ ।

सम्बन्धित खबर