
काठमाडौं : गत असोज ६ गते प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरूलाई स्तब्ध बनाउनेगरी रास्वपाकी सांसद रचना खतिवडा भावुक बनिन् । सांसद पद व्यक्तिगत राजनीतिक आकांक्षा वा पदको लोभका कारण नलिएको बताउँदै उनले भनिन्, ‘आन्दोलनका सहिद, घाइते र थुनामा रहेका जेनजीले पूर्ण न्याय नपाए सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि हिच्किचाउने छैन ।’ संसद्को विशेष समयमा बोल्दै सांसद खतिवडाले सहिद परिवारले न्यायको प्रत्यक्ष अनुभूति गर्नेगरी सरकारले काम गर्नुपर्ने माग गरेकी थिइन् । सोही क्रममा उनले आफूलाई ‘छोराको लासमाथि सांसद पद साटेको’जस्ता अपमानजनक टिप्पणी गरिएको भन्दै आपत्ति जनाएकी थिइन् ।
तर, जेनजी आन्दोलनमा संलग्न भएका एक हजार एक सय भन्दा युवा विद्यार्थीलाई अहिले पनि पुर्पक्षका लागि थुनामा राखेको छ । लामो समयदेखि थुनामा रहेका बालबालिकालाई तत्काल छाड्न माग गर्दै मंगलबार जेनजीका आमाहरूले सिंहदरबारको गेटमै धर्ना बसे । आफ्ना सन्ततिको रिहाइको माग गर्दै युनिक श्रेष्ठ, मिलन खत्री, अनुपम भण्डारीलगायतका आमाहरू सिंहदरबारको मूल प्रवेशद्वार अगाडि धर्नामा बसेका थिए । आफ्ना छोराछोरीलाई सरकारले जबरजस्त अपराधीकरण गर्न खोजेको उनीहरूको आशंका छ । थुनामा रहेका जेनजीका आमाहरूले आफ्ना छोराहरूको रिहाइको माग गर्दै धर्ना बसे पनि बालेन सरकारले उनीहरूको कहर सुन्न सकेको छैन ।
जेनजी घाइते तथा सहिद परिवार समाज र गृहमन्त्री सुधन गुरुङबीच गत असार १७ गते सिंहदरबारमा एक सहमति भएको थियो । दुवैतर्फको छलफलपछि थुनामा रहेका जेनजीलाई रिहाइ गर्ने सहमति भएको थियो । उक्त सहमतिसमेत सरकारले कार्यान्वयन नगरेको जेनजी सहिद तथा घाइते समाजका अध्यक्ष बादल राईले बताए । जेनजी आन्दोलनजको जगबाट बनेको सरकारले जेनजीहरूलाई नै थुनेर राखेको भन्दै उनीहरूलाई तत्काल हिराइ गर्नुपर्ने सांसद खतिवडाले बताइन् । उनले मध्यान्हसँग भनिन्, ‘जेनजी आन्दोलनका क्रममा पक्राउ परेका थुनुवालाई बिनासर्त तत्काल रिहा गर्न तथा घाइतेहरूको उपचारका लागि आवश्यक परे विदेशसम्म लैजानुपर्ने र त्यसको सम्पूर्ण खर्च राज्यले व्यहोर्नुपर्छ भन्ने मेरो माग हो ।’ उक्त मागबाट पछि नहटेको खतिवडाले बताइन् ।
२०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका कम्तीमा ११ सय युवाहरू अझै हिरासतमै रहेको जेनजी अभियान्ता सोडारीले बताए । उनीहरूमध्ये कतिलाई चोरी, डकैती, ज्यान मार्ने उद्योग, लुटपाट, सार्वजनिक अपराधलगायत छुट्टाछुट्टै मुद्दा लगाइएको छ । राजनीतिक परिवर्तनको आन्दोलनका अगुवा युवाहरूमाथि सरकारले झुटा आरोप लगाएर थुनेको अभियान्ता सोडारीको दाबी छ ।
आन्दोलनकै जगबाट बनेको वर्गमान वालेन नेतृत्वको सरकारको मुख्य जग नै जेनजी आन्दोलन भए पनि सरकारले आफ्नो जग बिर्सिएको सोडारीले बताए । ‘अहिले तिनै युवा पुस्ताको आन्दोलनको जगलाई सरकारले बिर्सिएर ११ सयभन्दा बढी जेनजी आन्दोलनकारीलाई थुनेको छ,’ सोडारीले मध्यान्हसँग भने, ‘भदौ २३ र २४ को आन्दोलनमा सहभागी भएका ११ सयभन्दा बढी जेनजीहरू देशको केन्द्रीय कारागारसहित विभिन्न जेलमा छन् ।’ सरकारले उनीहरूलाई सहजै नछाड्ने अवस्था आए जेनजी अभियान्ताहरूको साझा आह्वानमा पुनः आन्दोलन गर्ने चेतावनीसमेत उनले सरकारलाई दिए ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ को विध्वंशात्मक गतिविधिमा संलग्नहरू करिब एक वर्षदेखि थुनामा छन् । गम्भीर अपराध अनुसन्धानकै क्रममा थुनामा राखिएका उनीहरूलाई अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बताए । असोज १४ गते प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिअन्तर्गतको उपसमितिले जेनजी आन्दोलनका क्रममा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेकाहरूलाई मुद्दा फिर्ता लिएर थुनामुक्त गर्न सिफारिस गरेको थियो । उपसमितिले कारागार तथा हिरासतको अवस्थाबारे अध्ययन गरी नीतिगत तथा कानुनी सुझाव र सिफारिससहितको प्रतिवेदन समितिलाई बुझाइसकेको छ ।
सो प्रतिवेदनमा २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिमध्ये गम्भीर अपराधमा संलग्नबाहेक अन्यको मुद्दा फिर्ता लिएर थुनामुक्त गर्न सिफारिस गरेको थियो । सो सिफरिसका सन्दर्भमा सरकारले कुनै छलफल अघि बढाएको छैन । जेनजी आन्दोलनलाई राजनीतिक रूपका हेरिनुपर्ने र मानवीय संवेदनशीलतालाई ख्याल राख्नुपर्ने अभियान्ता सोडारीको भनाइ छ ।
रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले एकातिर यो जेनजीको सरकार हो भनेर अपनत्व लिन खोज्ने तर अर्कोतिर सरकारले ‘खोला तार्यो, लौरो बिर्स्यो’ भन्ने उक्तिलाई चरितार्थ गरेको सोडारीले दाबी गरे । ‘सरकारले कहिले समिति बनाउने कहिले के गर्ने भनेर जेनजीलाई अल्मल्याउँदै आएको छ,’ उनले यसअघि भने, ‘जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा लिएको भए ११ सयभन्दा बढी जेनजी भाइबहिनीहरू थुनिएर बस्नुपर्ने अवस्था हुँदैनथ्यो । यो सरकार सत्ताकै लागि जेनजीलाई देखाएर अवसरको खेतीमा लागेको देखिन्छ ।’