२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मानव अधिकार संरक्षणका विषयमा जागरण अभियानद्वारा आयोगको ध्यानाकर्षण

Nada
२०८३ असोज २८ गते ११:५१
Shares
मानव अधिकार संरक्षणका विषयमा जागरण अभियानद्वारा आयोगको ध्यानाकर्षण

ललितपुर : सामाजिक जागरण अभियान नेपालले मानव अधिकारको संरक्षण, सामाजिक न्याय तथा नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ ।

ncell

आयोगको ललितपुरस्थित कार्यालयमा भएको भेटघाट तथा छलफलका क्रममा अभियानका प्रतिनिधिहरूले आयोगका अध्यक्ष टपबहादुर थापा मगर, सदस्य मनोज दवाडी र सचिव मुरारी खरेलसमक्ष समसामयिक सामाजिक समस्याबारे आफ्ना धारणा राख्दै ध्यानाकर्षण गराएका हुन् ।

छलफलमा मानव अधिकारको प्रभावकारी संरक्षण, सामाजिक न्याय, समानता, आधारभूत आवश्यकताको परिपूर्ति तथा प्रत्येक नागरिकले सम्मानजनक जीवनयापन गर्न पाउनुपर्ने विषयमा जोड दिइएको थियो । नागरिकको बाँच्न पाउने अधिकारलाई जीवन धान्न पाउने अवस्थासँग मात्र सीमित नराखी पोषणयुक्त खाना, शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत आवश्यकतामा सहज पहुँचसँग जोडेर हेर्नुपर्ने अभियानको धारणा थियो ।

अभियानले समाजमा विद्यमान विभेद, असमानता तथा नागरिकले भोगिरहेका विभिन्न सामाजिक समस्याको समाधानका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ । सामाजिक समस्याको दिगो समाधानका लागि नीतिगत सुधार, प्रभावकारी कार्यान्वयन तथा सार्वजनिक निकायको जवाफदेहिता आवश्यक रहेको प्रतिनिधिहरूले बताएका थिए ।

नागरिकका आधारभूत आवश्यकता पूरा हुनु, विभेदरहित वातावरण निर्माण हुनु र सबैले समान अवसर प्राप्त गर्नु मानव अधिकार सुनिश्चितताका महत्वपूर्ण आधार भएको अभियानको भनाइ छ । मानव अधिकारको संरक्षण र प्रवर्द्धन राज्यको दायित्व भए पनि यसका लागि नागरिक समाजको भूमिका उत्तिकै महत्वपूर्ण हुने अभियानले जनाएको छ ।

सामाजिक जागरण अभियान नेपालले सामाजिक सरोकारका विषयमा सम्बन्धित सरकारी निकाय तथा सरोकारवालासँग संवाद, सहकार्य र पैरवीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । सामाजिक चेतना अभिवृद्धि, समानताको प्रवर्द्धन, मानव अधिकारको सम्मान र नागरिकको जीवनस्तर सुधारका लागि अभियानले विभिन्न कार्यक्रममार्फत आफ्नो भूमिका निर्वाह गर्ने जनाएको छ ।

उक्त छलफलमा अभियानका संयोजक राजन केसी तथा सदस्यहरू कृष्णहरि कोइराला र सुशील पौडेल सहभागी थिए ।

ताजा खबर

सम्बन्धित खबर