
काठमाडौं : नेपालबाट यस वर्षको मनसुन पूर्णरुपमा बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज असोज २८ गते मनसुन देशका सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो ।
महाशाखाका अनुसार यस वर्ष असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी क्षेत्रका केही भूभागबाट मनसुन बाहिरिन सुरु गरेको थियो । सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ । तर, यस वर्ष जुन १९ अर्थात् असार ५ गते नेपालमा मनसुन प्रवेश गरेको थियो भने सरदर मितिभन्दा १२ दिनपछि बाहिरिएको हो ।
यस वर्ष मनसुन बाहिरिने सरदर अवधिमा नेपालमा औसत वर्षा भएको बताइएको छ । यद्यपि, भौगोलिक क्षेत्रअनुसार वर्षाको मात्रा र प्रतिशतमा भिन्नता देखिएको छ। तराई तथा पहाडी क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको छ ।
मौसमविद्हरूका अनुसार मनसुन पूर्णरुपमा बाहिरिएसँगै आगामी केही दिनसम्म देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा र घमाइलो रहनेछ । पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहे पनि समग्रमा दशैंको समयमा मौसम अनुकूल रहने पूर्वानुमान गरिएको छ ।
मौसम घमाइलो रहने अनुमानसँगै दशैंमा यात्रा गर्ने, टीका तथा जमरा लगाउन आफन्तकहाँ जाने र घुमफिर गर्ने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ ।