
बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ र रङरोगन गरेर चिटिक्क पारिएका छन् भने टाढा रहेका आफन्तजन घर फर्किने क्रम जारी छ । तर, नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुर थपुवाका तीन बालबालिकाका लागि भने यस वर्षको दसैँ खुसीभन्दा बढी पीडा र आँसु लिएर आएको छ।
१६ वर्षीय सुभास नेपाली, उनका ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिकाका आमाबुवा आराम दमाईं र उजना दमाईं भोटेकोशी बाढीमा बेपत्ता भएको ५० दिन बितिसकेको छ । दसैँमा आमाबुवाको हातबाट टीका लगाउने र मीठोमसिनो खाने उमेरका यी बालबालिका भने अझै आमाबुवा फर्किने आशामा दिन बिताइरहेका छन् ।
‘आमाबुवा फर्किएर आउने आशामा बसेको दुई महिना हुन लाग्यो, केही अत्तोपत्तो भएन । दसैँ आयो, आमाबुवा आउनुभएन,’ जेठा छोरा सुभासले भक्कानिँदै भने, ‘बाढीले आमाबुवालाई बेपत्ता बनाएपछि हामी पूरै सहाराविहीन भयौँ । दसैँ आउँदा आमाबुवाको झन् धेरै यादले सताइरहेको छ ।’
बडादसैँको रौनक गाउँघरमा छाइरहँदा यी तीन बालबालिकाको मनमा भने आमाबुवा फर्किने आशा र निराशाबीचको छटपटी छ । बाढीमा बेपत्ता भएका उनीहरूका आमाबुवाको अवस्था अझै अज्ञात छ ।
बाजुराको हिमाली गाउँपालिकाबाट नेपालगञ्जको मनिकापुरस्थित थपुवा बसाइँ सरेका आराम र उजना दमाईंका लागि जीवनका सङ्घर्ष नयाँ थिएनन् । आफ्ना सन्तानले आफूहरूले जस्तै अभाव र दुःख भोग्न नपरोस् भन्ने चाहनाले उनीहरूले छोराछोरीलाई काठमाडौंमा राखेर राम्रो शिक्षा दिने सपना बुनेका थिए ।
नेपालगञ्जमा सोचेजस्तो रोजगारी नपाएपछि यो दम्पती रसुवा भन्सार कार्यालयको टिमुरेस्थित पार्किङ क्षेत्रमा मजदुरी गर्न पुगेको थियो । दिनरात मेहनत गरेर कमाएको रकमले उनीहरूले काठमाडौंमा पढिरहेका छोराछोरीको भविष्य निर्माण गरिरहेका थिए । सुभास कक्षा ९, अश्विन कक्षा ६ र स्मारिका कक्षा ४ मा अध्ययनरत थिए ।
‘आमाबुवाले रसुवाबाट दुःख गरेर पैसा पठाइदिनुहुन्थ्यो, हामी यहाँ ढुक्कले पढ्थ्यौँ,’ सुभासले भने, ‘अहिले बाढीले दुवैजनालाई बेपत्ता बनाएको छ, हामी सहाराविहीन भयौँ । अब हाम्रो टाउकोमा हात राख्ने कोही छैन ।’
आमाबुवा बेपत्ता भएपछि यी बालबालिकाको भविष्यसमेत अन्योलमा परेको छ । उनीहरूका लागि दसैँको खुसीभन्दा आमाबुवाको अभाव र भविष्यको चिन्ता ठूलो बनेको छ ।
भोटेकोशी बाढीमा परी थपुवा गाउँकै शेरसिंह रोकाय, विष्णुमती रोकाय र दीपक रोकाय पनि बेपत्ता छन् । बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजी तथा उनीहरूका परिवारलाई आवश्यक सहयोग र समन्वयका लागि काम भइरहेको नेपालगञ्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले जानकारी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार रसुवामा आएको बाढीपछि बाँकेका २३ जना व्यक्ति अझै बेपत्ता छन् ।
घरघरमा दसैँको टीका र जमरा लगाउने तयारी भइरहँदा सुभास, अश्विन र स्मारिकाको प्रतीक्षा भने उस्तै छ । उनीहरूका लागि यस वर्षको दसैँमा सबैभन्दा ठूलो चाहना नयाँ लुगा, मीठो परिकार वा टीका होइन, बेपत्ता आमाबुवा घर फर्किएर आऊन् भन्ने नै हो ।