२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सोनासती मन्दिरमा तान्त्रिक मेला

Nada
२०८३ असोज २९ गते १४:५९
Shares
सोनासती मन्दिरमा तान्त्रिक मेला

महोत्तरी : मधेसकै प्रसिद्ध देवी शक्तिपिठ मानिने महोत्तरीको औरही–७ भोइलस्थित सोनासती देवी मन्दिरमा तान्त्रिक मेलाको चहलपहल सुरु भएको छ ।

ncell

बोलीचालीमा सोनामाई भनिने यो मन्दिरमा शारदीय नवरात्रमा तान्त्रिक मेलाको परम्परा छ । नवरात्रको पूmलपातीका दिनदेखि जम्ने यो मेला पञ्चमीकै दिन सुरु हुन्छ । यो तान्त्रिक मेलालाई आमरुपमा ‘भूतमेला’ भन्ने गरिन्छ ।

नवरात्रको पहिलो दिनदेखि नै बडादसैँ पर्वको पूजाआराधना सुरु हुन्छ, तर दुष्टात्माबाट सताइएका भक्तजन पञ्चमीदेखि देवीको पुकारा गर्न आउँछन् ।

मन्दिरका पुजारी केदार झा भन्छन् “नवरात्रमा दुष्टात्माबाट सताइएका हरुको पुकार देवीले तत्काल निवारण गर्ने हाम्रो विश्वास छ ।” मेलामा रुँदै कराउँदै मन्दिर परिसरमा कष्टबाट छुटकारा पाउन देवीको पुकारा गर्ने पुरानो परम्परा छ ।

पञ्चमीदेखि नवमीसम्मको यो मेलामा मधेसका मात्र नभएर बागमती र कोशी प्रदेशका मकवानपुर, सिन्धुली र उदयपुरसम्मका भक्तजनको बाक्लो उपस्थिति हुँदै आएको छ । यहाँ छिमेकी मित्रराष्ट्र भारतको विहार राज्यका सीतामढी, मधुवनी, झञ्झारपुर, चम्पारन, शिवहर र मुजफ्फरपुर जिल्लासम्मका श्रद्धालु पुग्ने गरेका छन् । मेला दुःखीजनको कष्ट निवारणका लागि देवीको पुकारा गरिनेसँग सम्बन्धित छ । देवी सोनासतीको पुकाराले कष्ट निवारण भएपछि जीवनभरि दुष्टात्माले असर गर्न नसक्ने विश्वास छ ।

नयाँ पुस्ताका युवायुवती भने भूत, पिसाच र बोक्साबोक्सीजस्ता मान्यता र रोगव्याधका कुरालाई कथित दुष्टात्मासँग जोड्नु भ्रममात्र भएको बताउँछन् ।

नवरात्रमा देवी दुर्गाको महत्व उजागर गर्नु र मातृसत्ताप्रति श्रद्धाभाव जगाउनु उन्नत संस्कार हो ।

सम्बन्धित खबर