२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

कतारमा कामदारको राहदानी रोके २५ हजार रियालसम्म जरिवाना

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज २९ गते १९:०३
Shares
कतारमा कामदारको राहदानी रोके २५ हजार रियालसम्म जरिवाना

दोहा, कतार : कतारमा कामदारको आवासीय अनुमति पत्र (कतार आइडी) जारी गर्ने वा नवीकरण गर्ने प्रक्रिया पूरा भएपछि उनीहरूको राहदानी फिर्ता नगर्ने रोजगारदातालाई २५ हजार कतारी रियालसम्म जरिवाना हुन सक्ने भएको छ । कतारको आन्तरिक मन्त्रालयका एक अधिकारीले कामदारको राहदानी आफूसँग राख्ने विषयमा प्रचलित कानुनी व्यवस्थाबारे पुनः सचेत गराएका छन् ।

ncell

आन्तरिक मन्त्रालयद्वारा आयोजित एक अनलाइन कार्यक्रममा खोज तथा अनुगमन विभागअन्तर्गतको हिरासत शाखाका प्रमुख मेजर साउद हमाद अलबुरैदीले रोजगारदाताले आवासीय अनुमति पत्र जारी वा नवीकरण गर्ने प्रक्रिया पूरा गरेपछि कामदारलाई राहदानी फिर्ता दिनुपर्ने बताए । उनका अनुसार रोजगारदाता र कामदारबीच राहदानी आफूसँग राख्ने विषयमा लिखित सहमति वा दुवै पक्षले हस्ताक्षर गरेको कानुनी कागजात भएको अवस्थामा बाहेक रोजगारदाताले कामदारको राहदानी आफूसँग राख्न पाउँदैन । राहदानी फिर्ता नगर्नु कानुनी उल्लंघन भएकाले रोजगारदाताले यससम्बन्धी नियम पालना गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा मेजर अलबुरैदीले रोजगारदातालाई रोजगारीसम्बन्धी करार पत्र व्यवस्थित रूपमा अभिलेख राख्न, तोकिएको समयभित्र आवासीय अनुमति पत्रसम्बन्धी प्रक्रिया पूरा गर्न र कामदारलाई पर्याप्त आवासको व्यवस्था गर्न पनि आग्रह गरे। उनले विदेशी कामदारको रोजगारी तथा आवासीय अवस्थासम्बन्धी प्रचलित नियम पालना गर्नुपर्नेमा जोड दिए ।

रोजगारदाता र कामदारबीच रोजगारीसम्बन्धी कुनै विवाद उत्पन्न भएमा सम्बन्धित निकायमार्फत समाधान खोज्न पनि उनले सुझाव दिए । रोजगारदाताले आफ्नो राहदानी रोकेर राखेको अवस्थामा कामदारले सम्बन्धित सरकारी निकायमा सम्पर्क गरी सहायता लिन सक्ने मन्त्रालयले स्पष्ट पारेको छ।  राहदानी व्यक्तिगत पहिचान र अन्तर्राष्ट्रिय यात्राको महत्त्वपूर्ण कागजात हो । 

ताजा खबर

सम्बन्धित खबर