२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

शिक्षाविद् शर्माद्वारा मृत्युपश्चात् चिकित्सा शिक्षाका लागि देहदान गर्ने निर्णय

Nada
२०८३ असोज २९ गते २१:४१
Shares
शिक्षाविद् शर्माद्वारा मृत्युपश्चात् चिकित्सा शिक्षाका लागि देहदान गर्ने निर्णय

काठमाडौं : पोखरा महानगरपालिका–३१, बेगनास निवासी शिक्षाविद् फणीन्द्र मोहन शर्माले मृत्युपश्चात् आफ्नो पार्थिव शरीर चिकित्सा शिक्षा तथा अनुसन्धानका लागि दान गर्ने निर्णय गरेका छन् ।

ncell

शर्माले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पस, काठमाडौंलाई आफ्नो पार्थिव शरीर दान गर्ने निर्णय गरेका हुन् । उनले २०८१ असोज २९ गते देहदानसम्बन्धी औपचारिक पत्र प्राप्त गरेका थिए । उनको निर्णयको सम्मान गर्दै संस्थानले प्रशंसापत्रसमेत प्रदान गरेको छ ।

वि.सं. २०२२ सालदेखि शिक्षण पेसामा आबद्ध शर्मा ३९ वर्षसम्म अध्यापन कार्यमा संलग्न थिए । उनले आफ्नो शिक्षण जीवनको अधिकांश समय प्रधानाध्यापकका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । बेगनासस्थित आनन्द ज्योति माध्यमिक विद्यालयको स्थापना, विकास तथा शैक्षिक उन्नयनमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ ।

शिक्षा र समाजसेवामा लामो समय समर्पित शर्माले जीवनको अन्त्यपछि पनि मानव सेवामा योगदान पु¥याउने उद्देश्यले देहदान गर्ने निर्णय लिएको बताएका छन् । उनको यस निर्णयले चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीलाई मानव शरीरको बनावट अर्थात् शरीर रचना विज्ञानको व्यावहारिक अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चिकित्सा शिक्षामा शरीर रचना विज्ञानको अध्ययनका लागि देहदान महत्वपूर्ण मानिन्छ । आफ्नो मृत्युपछि पनि ज्ञान, विज्ञान र मानव कल्याणका क्षेत्रमा योगदान दिन सकिने शर्माको निर्णयलाई स्थानीयले मानवता, उदारता र समाजसेवाप्रतिको समर्पणको उदाहरणका रूपमा लिएका छन् ।

वाराणसेय संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री उत्तीर्ण गरेका शर्माले ‘जीवनको अनमोल सन्देश’ नामक पुस्तकसमेत लेखेका छन् । उक्त पुस्तक गत असोज २४ गते सार्वजनिक गरिएको थियो । पुस्तक राष्ट्रपति रामचन्द्र पौडेल तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत हस्तान्तरण गरिएको थियो ।

पूर्वगृहमन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ पत्रकार टीकाराम यात्रीले पुस्तकको समीक्षा गरेका थिए । पुस्तकको प्रकाशन संयोजन तथा सम्पादन अमृत अधिकारीले गरेका हुन् ।

पुस्तकमा शैक्षिक सन्देश तथा विभिन्न ग्रन्थमा आधारित प्रेरणादायी विचारहरू समेटिएका छन् । मानव जीवन क्षणभंगुर भए पनि ज्ञान, विज्ञान र मानव सेवाका क्षेत्रमा गरिने योगदान दीर्घकालसम्म स्मरणीय रहने सन्देश पुस्तकमा अभिव्यक्त गरिएको छ ।

शिक्षण पेसामार्फत पुस्तौँको भविष्य निर्माणमा योगदान पुर्‍याएका शर्माले मृत्युपश्चात् पनि चिकित्सा शिक्षा र वैज्ञानिक अनुसन्धानमा सहयोग पुग्ने उद्देश्यले गरेको देहदानको निर्णयले समाजमा देहदानको महत्वबारे सकारात्मक सन्देश प्रवाह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर