२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मंकीपक्स : डराइहाल्नु पर्दैन, सावधानी आवश्यक

ADV
अस्मिता बम
२०८१ भदौ ३ गते ०६:५०
मंकीपक्स : डराइहाल्नु पर्दैन, सावधानी आवश्यक

काठमाडौं : अफ्रिकी मुलुकहरुमा व्यापकरुपमा मंकीपक्स संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ । अफ्रिकी युनियन स्वास्थ्य एजेन्सीका अनुसार सन् २०२४ को जनवरीदेखि अफ्रिकामा कूल १८ हजार ७ सय ३७ जनामा मंकीपक्सको संक्रमण पुष्टि भइसकेको छ । साथै हालसम्म १२ अफ्रिकी सदस्य राष्ट्रहरूबाट तीन हजार १ सय १ घटनाहरु पुष्टि हुनुका साथै संक्रमणका कारण ५ सय ४१ जनाको मृत्यु भएको छ । संक्रमणको सोही अवस्थालाई मध्यनजर गर्दै डब्लुएचओले गत बुधबार विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । 

नेपालमा पनि दुई वर्षअघि एक जनामा मंकीपक्स संक्रमण पुष्टि भएको थियो । यद्यपि संक्रमित व्यक्ति विदेशी थिए । हाल बाह्य मुलुकमा संक्रमण तीव्ररुपमा फैलिरहेको हुनाले संक्रमण नेपालमा भित्रिन नदिन नेपाल सरकार पनि तयारीमा जुटेको छ । यसका लागि अन्तर्राष्ट्रिय नाकाहरु तथा हवाइ क्षेत्रको सुरक्षालाई सक्रिय बनाउनुका साथै त्यहाँका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

यस्तै देशभरिका छाला रोग विशेषज्ञहरुलाई सूचीत गराइ सावधान रहन आग्रह गरिएको उनको भनाइ छ । साथै मंकीपक्सको निदानका लागि चाहिने किटहरुको भण्डारणका साथै उपचारका लागि आवश्यक थप सामग्रीको खरिद पक्रिया पनि अघि बढेको प्रवक्ता बुढाथोकीले जानकारी दिए । 

तर यो रोग भित्रिन नदिन नेपाल सरकारको एकल प्रयासले मात्र सम्भव नहुने उनको भनाइ छ । ‘यो रोग भित्रिन नदिन नेपाल सरकार जत्ति नै तयारीमा जुटेपनि सरकारको एक्लो प्रयासले नियन्त्रण हुन सक्दैन । जनताले पनि जनस्वास्थ्यको मापदण्ड पालना गरिदिन पर्‍यो, संक्रमित देशबाट आएका व्यक्तिहरुलाई तीन हप्ताजति घरमै क्वारेन्टाइनमा राख्नु पर्‍यो । यसो गर्ने हो भने मात्र संक्रमण नेपाल भित्रिन पाउँदैन’, उनले भने । 

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले मंकीपक्सको लक्षण चिकेन पक्स अथात ठेउला रोगसँग मिल्दोजुल्दो हुने भएकाले यसको पहिचानका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए । यो रोग विशेषगरी संक्रमित व्यक्तिको तरल पदार्थ अन्य व्यक्तिमा पुग्दा, खाेक्दा, संक्रमितको लुगा प्रयोग गर्दा वा उसले सुतेको ओछ्यानमा सुत्दा र यौनसम्पर्कमार्फत सहजै सर्न सक्ने उनले बताए ।  

शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, ग्रन्थी सुन्निने र दुख्ने जस्ता लक्षण मंकीपक्सका हुने भएकाले यसलाई सामान्य रुपमा नलिन पनि उनको आग्रह छ । उनले भने, ‘सामान्य लक्षण देखिदैछ, कुनै जटिल रोग होइन भनेर चुप लागेर बस्न भएन । आफूमा त्यस्ता लक्षण देखिए भने समयमै उपचार र चिकित्सकको परामर्श लिनुपर्छ ।’ उनले शरीरमा फोका उठेपछि मात्र संक्रमण भएको हो कि भनेर जचाइने प्रवृत्ति आम नागरिकमा हुने भएकाले यसमा सुधार गर्न पनि आग्रह गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise