२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सिन्धुपाल्चोकलाई सधैं पहिरोको पिर

ADV
भावना पाठक
२०८१ भदौ ४ गते ०६:५५
सिन्धुपाल्चोकलाई सधैं पहिरोको पिर

काठमाडौं : बाढीपहिरो र भूकम्पका घटनाबाट आक्रान्त जिल्ला हो – सिन्धुपाल्चोक । पछिल्लो दशकका हरेक वर्षा मनसुनको समयमा कुनै न कुनै प्राकृतिक विपद्ले सिन्धुपाल्चोकका नागरिक त्रसित हुने गरेका छन् । यस वर्षका मनसुनमा पनि सुख्खा पहिरोले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल क्षेत्रमा त्रासदी बढाएको छ । 

थाङपाल ७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो गएको हो । प्रहरीका अनुसार सुख्खा पहिरोले  इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ । पहिरो जाँदा ढुंगा माटोसहितको गेग्रान नदीमा खस्दा आंशिक थुनिएको हो । 

नदी आंशिक रुपमा थुनिँदा मेलम्ची, तिपेनी लगायत तटीय क्षेत्रका नागरिकहरू त्रसित भएका छन् । गएराति देखि आएको पहिरोका कारण इन्द्रावती नदीको बहाव रोक्न सक्ने भन्दै तिपेनी बजार र इन्द्रावती नदी किनारका नागरिकहरू त्रसित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार, फेरि पहिरो गयो भने नदीको वहावमा अवरोध हुन सक्छ । त्यस्तोमा गाउँ वस्तीतिर समस्या गर्छ कि त्रास छ । यस्ता खतराको सम्भावना रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली स्ट्याण्ड बाई रहेको बताइएको छ । 

पहिरो गएपछि जोखिममा रहेका स्थानीय तथा अस्पतालका सामग्रीहरु सुरक्षित स्थानमा सार्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको छ ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले विज्ञप्ति जारी निकालेर खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम भएको सर्तक रहन भनेको छ । 

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७, ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनिएको छ । 

अझै पनि सुख्खा पहिरो झरिरहेकाले के हुन्छ भन्न सक्ने अवस्था नभएको बताइएको छ । 

पहिरोका कारण पाँच पोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ । खोला थुनिएमा तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजार लगायतको नदी तटीय क्षेत्रमा प्रत्यक्ष असर गर्नेछ । 

मौसमविदहरुका अनुसार पहाडी भूभागमा पहिरो गएर सुनकोसी, इन्द्रावती, मेलम्ची, भोटेकोसी र ठाडा खोलानालामा जुनसुकै बेला बाढी आउन सक्छ । 

२०७२ सालमा सिन्धुपाल्चोकमा भूकम्पका कारण सर्वाधिक धनजन क्षति भएको थियो । विज्ञहरूले त्यतिबेलै जोखिमयुक्त स्थान पहिचान गर्नुपर्ने सुझाव दिएका थिए ।

भूकम्पका बेला जिल्लाको हिमाली भेगका डाँडामा जताततै पहिरो गएको थियो । जताततै जमिनमा धाँजा फाटेकाले वर्षामा तिनै स्थानमा पानी पसेर पहिरो गएको अनुमान कतिपयले गर्दै आएका छन् ।

२०७२ पछि लगातार सिन्धुपाल्चोकमा पहिरो गएकाले भूकम्पकै असर रहेको अनुमान विज्ञहरूले गर्दै आएका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise