–लक्ष्मण पोखरेल
जब म
मेरा शत्रुहरुलाई देख्छु
खुसी हुन्छु
जब मेरा शत्रुहरु
मलाई देख्छन्
दुःखी हुन्छन्
त्यस बेला म
झन् दुखी हुन्छु
मेरा शत्रुहरु खै
पत्तै नपाई कसरी
मेरा शत्रु बने ?
म मित्र सम्झन्थे
जब म मेरा शत्रुहरुलाई सम्झन्छु
पानी पँधेरो साध सीमा
सबै सम्झन्छु, सबै खोतल्छु
म एक्लो छु, अझै पनि एक्लो छु
तै पनि मेरा शत्रु छन्
मलाई थाहै नदिई शत्रु बनेका
मेरा हिजोका मित्रहरु
आजका शत्रुहरु ।।
जब म ती शत्रुहरुलाई देख्छु
खुसी हुन्छु
मलाई भित्रैदेखि माया लागेर आउँछ
दया लागेर आउँछ
मेरा ती हिजोका मित्रहरु
आजका महान् शत्रुहरु
सारै बैगुनी भएका छन्
म चाहन्छु
मेरा ती महान् शत्रुहरु
मेरा लागि
म तिनका लागि
सधैँ लालमोहन रसवरी जस्तै
गुलिया भईरहुँ ।।
म बदलिएको छु
मेरा ती महान् शत्रुहरु जस्तै
जब म
मेरा ती महान् शत्रुहरुलाई देख्छु
मजाले हाँस्छु, खित्का छोडेर हाँस्छु
मलाई तिनका सामु
हरेक हर्कत गर्न मन लाग्छ
राम्रो नराम्रो निसङकोच ...!
किन कि ती मेरा शत्रुहरु हुन् ।।
मलाई राम्रोसँग थाहा छ
मेरा शत्रुहरुलाई
मेरो बारेमा खुब चाँसो छ
त्यसैले त म आजभोलि
मेरा ती महान् शत्रुहरुको अघि
हरेक उट्पट्याङ्ग हर्कतहरु गर्न डराउँदिन
आखिर शत्रु
शत्रु नै त हुन् ?
कहिले मित्र थिए र ?
मेरा ती महान् शत्रुहरुको लागि
मलाई भलाद्मी टोप्लिनु छैन
म ठिक उल्टो भएको छु
तै पनि
मेरा शत्रुहरु
मदेखि खुसी छैनन्
म चाहन्छु
मेरा शत्रुहरु
मदेखि मेरा उट्पट्याङ्ग
गतिबिधिदेखि खुसी हुन्
तिनका लागि
मेरा हरेक गतिविधि
मनोरन्जनका साधन बनुन्
तै पनि मेरा ती महान् शत्रुहरु
मदेखि बिल्कुल खुसी छैनन्
मेरा हरेक गतिविधिमा
तिनको व्यापक असन्तुष्टी छ
म मेरा महान् शत्रुहरु
हाँसेको हेर्न चाहन्छु
जब म तिनलाई नियाल्छु
उस्तै देख्छु
नुन बिनाको तरकारी जस्तै
म मेरा ती महान् शत्रुदेखि हारेको छु ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies