२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सचेत वर्गले लिनुपर्ने पहल

ADV
२०८१ भदौ १३ गते ०६:२०
सचेत वर्गले लिनुपर्ने पहल

–युवराज संग्रौला

समाजका मुल समस्याहरूको वस्तुगत विश्लेषण गरी सामाजिक संरचनामा अन्तर्निहित मतभेद, असमानता र अन्तरबिरोधहरू एकिन नगरि राजनीतिकको नयाँ मार्ग निर्माण गर्न सकिन्न । तर, हाम्रो सडकमा भने राजनीति चटकको पर्याय भएको छ । राजनीति मदारीको खेल भएको छ र हाम्रो सत्तामा राजनीति लुटको पर्याय भएको छ ।

हाम्रा सभ्यताहरू (सिंजा, मगरात, नेवा, मिथिला, किराँत, थारु र भोट सभ्यता)को बिचको सद्भाव र एकता निर्माणको आधार राजनीति हो । अहिले यो सद्भाव भताभुङ्ग छ, भाषाहरू मुर्छित छन् र संस्कृतिहरू मरणासन्न छन् ।

देशको अर्थतन्त्र ‘नवउदारवादी’ एकाधिकारवादी पुँजीवादको अधिनमा छ । यस्ले वस्तु उत्पानलाई निषेध गर्दै पैसाले पैसाको उत्पादन गर्ने माफिया लुटतन्त्रको संरक्षण गर्दछ र किसान र उद्यमी मारेर बिचौलिया पोस्छ । यसलाई समाप्त गरि ‘सामाजिक नागरिकतन्त्रको’ निर्माण गर्नु राजनीति हो, जसले नेपालमा अहिले सार्वजनिक अर्थतन्त्र समाप्त गरी राष्ट्रिय अर्थतन्त्रमाथिको केही मानिसको लुटतन्त्रीय नियन्त्रणलाई अन्त्य गर्नेछ । सामाजिक संरचनामा सिर्जना गरिएको पितृसत्ता र जातीय विभेदको खाडलको अन्त्य गर्नेछ र राज्य व्यवस्थामा बिदेशी हस्तक्षेपको अन्त्यको मार्ग निर्माण गर्ने छ ।

देशको शिक्षा निकम्मा बनाई अशिक्षित लोकतन्त्र बहाल गरिएको छ, जो लुटतन्त्रको रणनीति हो । मानिसलाई अल्पबुद्धी, झुठो सूचनाको दास र भ्रान्त बनाइदिएपछि लोकतन्त्रका नाममा ‘भोटतन्त्र’को साहाराले लुटतन्त्र कायम गर्न सजिलो हुन्छ । त्यसकै परिणाम हो, मानिस बाटोमा नेता खोज्छन् र बितन्डाको सहयोगले कोही नेता बन्न फोहोरी भाषा बोल्दै सडकमा आउँछ । अत वर्तमान शिक्षालाई व्यवसायिक बनाउने बौद्धिक अभियान राजनीति हो र सत्ताका आंकाक्षामा सडकमा चटक गर्नु, धर्मका नाममा गुन्डागर्दी गर्नु, जेलेन्स्की उत्पादन गर्नु र सामाजिक सञ्जाललाई अश्लील दलदल बनाउनु प्रभुत्ववादी शक्तिको खेल हो ।

मानिसको जीवन जोगाउने स्वास्थ सेवालाई मानवीय बनाई, प्रत्येक मानिसको बाँच्न पाउने हक संरक्षण गर्ने दायित्व राज्यले लिनुपर्ने मान्यता स्थापित गर्ने अभियान राजनीति हो । राज्य व्यवस्थालाई बिदेशी हस्तक्षेप र प्रभुत्ववाट मुक्त गरि स्वनिर्णय गर्न सक्षम बनाउनु, जनसमृद्धिका लागि उत्पादन स्वनिर्भरता निर्माण गर्नु र समाजमा कायम रहेका लैंङ्गिक, जातीय तथा भाषिक विभेदहरु समाप्त गरि नयाँ वैज्ञानिक संस्कृतिसहितको समतामूलक सामाजिक संरचना निर्माण गर्नु नै राजनीति हो ।

तर, राजनीति त हाम्रो सडकमा तान्डव, तिजका गीतमा पोइल, दिनभरी कोटिहोम र बेलुका सेकुवा घरको, सामाजिक सञ्जालमा रछ्यान, र अभिव्यक्तिमा रत्यौली पो भएको छ । झुठो सूचना र अफवाहबाट उत्तेजित एउटा जमात सडकमा मदारीको खेल खेल्दै विकास खोजिरहेको छ । होस गरौं, यो बिनाशको बाटो हो । जब गाउँमा कुकुर नासिन्छन्, “झाडिमा लुकेका फयाउरा र स्याल गाउँतिर कुखुरा चोर्न पस्छन् ।” समयमै हेक्का नराखे हामी बर्बादीतर्फ जानलाई बेर लाग्दैन । सचेत वर्गले त्यसतर्फ सचेत ढंगले पहल लिनैपर्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise