२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

परनिर्भरता घटाउन व्यवहारिक शिक्षा

ADV
२०८१ भदौ १४ गते ०६:२५
परनिर्भरता घटाउन व्यवहारिक शिक्षा

–के.बी. बस्नेत

कुनै पनि व्यक्तिको जीवनमा आइपर्ने आधारभूत कार्यहरू गर्न सक्षम बनाउनु शिक्षाको मूलभूत उद्देश्य हो । यस्तो शिक्षा जीवन उपयोगी हुन्छ । नेपालमा हालसम्म पनि शास्त्रीय शैलीको शिक्षा प्रदान गरिन्छ । यस्तो शिक्षाले अरूको बारेमा ज्ञान तथा सूचना त प्रदान गर्छ नै, तर शिक्षित व्यक्तिहरूलाई व्यवहारिक तथा सिर्जनशील बनाउन सक्दैन । वास्तवमा यहाँका विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका पढाइमा कुनै व्यवसाय रोज्न, खोज्न र टिकाउन सक्ने ज्ञान तथा सीपको कमी छ । 

कुनै पनि व्यक्तिले पढेका र सिकेका कुरालाई व्यवहारमा उतार्न सक्नु व्यवहारिक शिक्षाको विशेषता हो । यस्तो शिक्षाले कुनै पनि व्यक्तिलाई घर, खेतबारी, वनजङ्गल, जल, स्थल आदि क्षेत्रहरूमा व्यावसायिक रूपमा काम गर्न सिकाउँछ । हालसम्म पनि यहाँका विद्यालयदेखि विश्वविद्यालयसम्म सैद्धान्तिक ज्ञान प्रदान गरिन्छ । त्यसैले, विभिन्न घरायसी कामका लागि हामीले अरूको भर पर्नुपर्ने बाध्यता छ । नेपालमा पेसागत सीपमा आधारित ज्ञान तथा व्यावसायिक सीपमा आधारित शिक्षा प्रदान गरिएको भए यहाँ व्यावसायिक कामहरू गर्न सक्षम जनशक्ति उत्पादन गर्न सकिन्थ्यो । यसबाहेक परम्परागत पेसालाई आवश्यकताअनुरूप आधुनिकीकरण गर्दै व्यवहारिक बनाउन सकेको भए यहाँको हिमाल, पहाड र तराईमा विभिन्न किसिमका उत्पादनका सम्भावनाका आधारमा आयआर्जनका स्रोतहरूको खोजी गर्न सकिन्थ्यो । परन्तु, नेपालमा व्यवहारिक शिक्षाको कमीले गर्दा यहाँका शिक्षित युवाहरूले स्वरोजगारका क्षेत्रहरू पहिचान गर्न सकेका छैनन् । तसर्थ, रोजगारीका लागि उनीहरू बिदेसिन रुचाउँछन् ।

नेपालका पहाडी विद्यालयहरूमा व्यवहारिक ज्ञान प्रदान गर्न सकेको भए, त्यहाँ पढेका विद्यार्थीहरूले एकातिर उन्नत जातका गाई, भैँसी, बाख्रा, बङ्गुर, कुखुरा र माछा पालन गर्न सक्षम हुने थिए भने अर्कोतिर फलफूल तथा पुष्प खेती गर्न सक्षम भई आय–आर्जन गर्न सक्थे । यसैगरी, उनीहरूले तराई क्षेत्रमा खाद्यान्न, तेलहन, फलफूल र अन्य कृषिजन्य वस्तुहरूको अधिकतम उत्पादनका लागि आधुनिक फार्महरू सञ्चालन गरी स्वदेशमै रोजगारी पाउने थिए । तर, यहाँ व्यवहारिक शिक्षाको कमीले यस्तो हुन सकेको छैन । 

आज केही देशहरू विकासको उत्कर्षमा पुगेर चन्द्रमामा मानव पठाउन र मङ्गल ग्रहलगायत अन्य आकासिए जीवको सम्भावनाबारे गहन अनुसन्धानमा संलग्न छन् । यति मात्र होइन, अमेरिकास्थित नासाको अभियानले अन्तर्राष्ट्रिय जगतमा नै विशेष ध्यान आकृष्ट गरेको छ । तर, नेपालमा भने यी कुराहरू एकादेशको कथा झैँ भएको छ । नेपाल एक कृषि प्रधान देश भए पनि खाद्यान्नका लागि विदेशमा भर पर्नुपरेको छ । योबाहेक सागसब्जी, फलफूल र अन्य दैनिक सामग्रीहरूका लागि पनि विदेशमा भर पर्नुपरेको छ ।

कुनै पनि कृषिप्रधान देशमा पशुपालनले महत्त्वपूर्ण भूमिका खेल्छ किनभने यसबाट एकातिर स्वास्थ्यवर्द्धक दूध, दही, मोही र घ्यू प्राप्त हुन्छ भने अर्कोतिर खेतीका लागि मलमूत्र पनि प्राप्त हुन्छ । परन्तु, यी चीजहरूका लागि विशेषतः भारत र अन्य देशहरूमा निर्भर हुनुपरेको छ । यहाँका शिक्षित व्यक्तिहरूमा व्यवहारिक ज्ञान नहुनाले यस्तो भएको हो । आज विश्वमा सञ्चार क्षेत्रमा निकै प्रगति भएकोले कम्प्युटर, ल्यापटप र मोबाइलको प्रयोग धेरै बढेको छ । नेपालमा पनि यिनीहरूको प्रयोग दिनदिनै बढिरहेको छ । तर, यिनीहरूको उत्पादन यहाँ नहुनाले विदेशमा भर पर्नुपरेको छ । व्यवहारिक शिक्षा नहुनाले यस्तो भएको हो ।

यहाँ बारम्बार रेल ल्याउने कुरा चर्चामा आउँछ । तर, यहाँ बनाएको रेल होइन, भारत वा अन्य देशले बनाइदिएको रेल । यहाँ त केवल रेलको बाहिर नेपालको झण्डा र नक्सा बनाइन्छ । यसमा हामी गौरव ठान्छौं । वास्तवमा रेलमार्ग सर्वेक्षण गर्ने विदेशी इन्जिनियर, निर्माण कार्य ठेक्का लिने विदेशी कम्पनी, रेल चल्ने इन्धन विदेशको र रेलबाट भित्रिने सामानहरू पनि विदेशी हुन् । तर, पनि हामीलाई यस सम्बन्धमा कुनै सङ्कोच छैन ।

केही वर्षयता यहाँ पानीजहाजको कुरा पनि चर्चामा आएको छ जुन विदेशमा बन्छ । यहाँ त केवल पानी जहाजमा नेपालको झण्डा राखिन्छ । यसैमा हामी गौरव गर्छौँ । वस्तुतः राष्ट्रियता भौगोलिक विषय मात्र नभई आत्मनिर्भरताको विषय पनि हो । तर, दुःखलाग्दो कुरा त के छ भने यहाँको सबैजसो विकास कार्यहरूमा विदेशी सामानहरू जोडजाड गर्ने काम मात्र हुन्छ ।

यहाँका अस्पतालमा प्रयोग गरिने भेन्टिलेटर, स्वाव कलेक्सन बक्स, पिपिई आदि विदेशबाट ल्याइन्छ भने जटिल खालका स्वास्थ्य परीक्षण विदेशमा गरिन्छ । यति मात्र होइन, यहाँ पठनपाठन गरिने पुस्तकहरूका लागि पनि विदेशमै भर पर्नुपरेको छ । यथार्थतः यहाँ परनिर्भरताले हद नाघेको छ । यसका मूल कारण यहाँ विद्यमान अव्यवहारिक शिक्षा नै हो । यहाँको शिक्षा प्रणाली पुराना भएकोले अनुसन्धानको संस्कार बस्न सकेको छैन । 

वर्तमान समयमा पनि यहाँ विद्यमान शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञान मात्र प्रदान गरेकोले व्यवहारिक बन्न सकेको छैन र शिक्षित बेरोजगारहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ । तसर्थ, शिक्षामा गरिएको लगानी बालुवामा पानी हाले सरह भएको छ । यदि भविष्यमा यहाँको परनिर्भरता घटाउने हो भने शिक्षा व्यवहारिक हुनुपर्छ जसको लागि आमूल परिवर्तन गर्नुपर्छ । जसका लागि सम्बन्धित पक्षको ध्यान यथाशीघ्र आकृष्ट हुनुपरेको छ । यदि समयमै त्यसतर्फ हामी अगाडि बढ्न सकेनौ भने विकासको गतिमा पनि हामी धेरै पछि हुनेछौँ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise