२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

विपद्का सूचना दिने प्रविधि

ADV
२०८१ भदौ १६ गते ०६:२०
विपद्का सूचना दिने प्रविधि

–जीवन भण्डारी 

नेपालमा अहिले पनि विपद्का सूचना संकलनका लागि प्रयोग हुने सबैभन्दा प्रभावकारी माध्यम भनेको फोन नै हो । कुनै पनि विपद्का घटना भयो भने नागरिकले प्रहरी प्रशासनलाई जानकारी गराउने माध्यमको रूपमा मोबाइल फोन नै अत्यधिक प्रयोग भएको प्रहरीको तथ्यांकले देखाएको छ । यसको प्रयोग अति धेरै भए पनि विश्वसनीयता भने निकै कम मात्रै देखिन्छ । फोनबाट प्राप्त सूचनाकै आधारमा तत्काल घटनास्थलमा उद्धारका लागि टोली दौडी हाल्ने अवस्था अहिलेसम्म बनेको छैन । फोनबाट सूचना प्राप्त गरिसकेपछि त्यसको पुष्टि गर्न आफ्नै अन्य श्रोतहरूलाई लगाउनु पर्ने र के–कस्तो अवस्था छ भन्ने कुरा पनि आफै बुझेर तयारी गरेर जानुपर्ने अवस्था रहेको छ । यसले गर्दा विपद् व्यवस्थापनमा ढिला पनि हुने गरेको छ । त्यसैले योभन्दा भरपर्दो उपायको आवश्यकता छ । त्यही आवश्यकता देखेर त्यसलाई पूरा गर्न क्रिस्टा एपको रूपमा नयाँ प्रविधिको विकास भई नेपालमा परीक्षण समेत भइरहेको छ । 

नेपालमा पहिलो कुरा त धेरै नागरिकलाई कुनै पनि विपद्का घटना भयो भने कहाँ खबर गर्ने हो भन्ने नै थाहा छैन । थाहा भएकाले खबर गरिहाले भने पनि विवरणहरू निकै अपुरो मात्रै टिपाएको पाइन्छ । त्यसैगरी टिपाइएका विवरणहरू पनि सत्य हुन की होइनन् भन्ने आधिकारिकता पुष्टि हुँदैन । त्यसका लागि सम्बन्धित निकायले फेरि पुष्टि गर्नुपर्ने हुन्छ । धेरै जसो विवरणहरू सूचनादाताले भने जस्तो नहुने गरेको प्रहरीको अनुभव छ । त्यसैले प्रहरीले आफ्नै पुष्टि गर्न लाग्दा धेरै समय लाग्ने गरेको छ भने घटनाको फोटो÷भिडियो भएमा उद्धार सामग्रीहरू के–के चाहिन्छ भन्ने यकिन गर्न सकिने थियो । तर, मौखिक व्याख्याका आधारमा घटनास्थलमा पुग्दा अत्यावश्यक पर्ने साधन छुटेको र आवश्यक नपर्ने साधन लगिएको घटना पनि धेरै भएको प्रहरी अधिकारीहरूको अनुभव छ । घटनास्थलमा पुगेपछि मात्रै उद्धारका लागि यस्तो यस्तो सामग्रीको आवश्यकता छ भन्ने सूचना पठाएर अर्को टोली आउँदासम्म धेरै ढिला भइसकेको हुनसक्छ । त्यसैले तत्काल घटनास्थलको फोटो तथा भिडियो पठाइदिने उपाय प्रभावकारी हुन्छ की भन्ने अवधारणा अनुसन्धानकर्ताहरूले विकास गरेर परीक्षण थालेका हुन् । 

थाइल्यान्डमा रहेको एसियन इन्टीच्युड अफ टेक्नोलोजी (एआईटी) विश्वविद्यालयका प्राध्यापक डा. इन्द्रजीत पलले प्रतिपादन गरेको यो क्रिस्टा एपमा हामीलाई आवश्यकता देखिएकै जस्तो व्यवस्था गरिएको छ । यो एप लागू गर्न सबैभन्दा पहिले सम्बन्धित क्षेत्रको भौगोलिक अवस्थालगायतका विवरणहरू एपमा अपडेट गरिन्छ । त्यहीअनुसार सम्बन्धित निकाय (स्थानीय प्रहरी कार्यालय वा पालिकाको कार्यालय)मा सामान्य सूचना प्रणाली जडान गरिन्छ । त्यसपछि सम्बन्धित क्षेत्रका बासिन्दालाई एप डाउनलोड गर्न आह्वान गरिन्छ । त्यसपछि सम्बन्धित क्षेत्रमा कुनै पनि विपद्का घटनाको संकेत, सूचना, जानकारी केही भएमा थाहा पाउनेले तत्काल फोटो वा भिडियो वा अडियो वा अक्षरमा एपमार्फत जानकारी गराउन सक्छ । थाहा पाउने व्यक्तिले ती विवरणहरू पठाउने बित्तिकै उद्धार टोली रहेको ठाउँमा आपत्कालीन धुन बज्छ । त्यसपछि त्यही सूचना, संकेत, फोटो, भिडियो, अडियोका आधारमा उद्धार सामग्रीहरू सहित उद्धार टोली तत्काल घटनास्थलमा पुग्न सक्छ । फोटो वा भिडियोमा सूचना तथा जानकारी दिँदा घटनाको अवस्था र आवश्यक सामग्रीहरू के–के चाहिन्छ भन्ने यकिन गर्न सजिलो हुने भएकाले पनि यसको प्रभावकारिता देखिएको छ । 

यो प्रविधिको प्रयोग गर्दा, स्थानीय बासिन्दा वा प्रत्यक्षदर्शीहरूले विवरण पठाउन सजिलो हुने, प्राप्तिकर्तालाई घटनाको वस्तुस्थिति बढी थाहा हुने, विवरणहरू विश्वसनीय हुने, विवरणहरूको परीक्षण गर्न सजिलो हुने, सूचनादाताले पठाएको फोटो वा भिडियोका आधारमा जिपिएसमार्फत घटनास्थल पनि सजिलै यकिन हुने, घटनास्थलको फोटो भिडियोका आधारमा उद्धार सामग्रीहरूको आवश्यकता पहिचान गर्न सजिलो हुनेलगायतका धेरै फाइदा रहेका छन् । यसले सूचना आदान प्रदानलाई प्रभावकारी बनाउनुका साथै तत्काल उद्धार कार्यमा जान पनि मार्गदर्शन गर्दछ । उद्धार कार्यमा चाँडो जान र उद्धार कार्यलाई प्रभावकारी बनाउन मार्गदर्शन गर्ने भएकाले यसबाट क्षति न्यूनीकरणमा पनि ठुलो सहयोग पुग्ने देखिन्छ ।

विपद् सम्बन्धी सूचना सम्प्रेषण र प्रतिकार्य सम्बन्धी यो नयाँ प्रविधि सुरुमा धादिङको नीलकण्ठ नगरपालिकामा परीक्षणको रूपमा लागू भई सफल भएर अहिले धादिङका अन्य दुई पालिकाहरूमा समेत लागू हुन थालेको छ । अहिले धादिङको बजुरी र बेनीघाट रोराङ्ग गाउँपालिकामा परीक्षण भइरहेको स्थानीय जनप्रतिनिधिहरूले जानकारी दिएका छन् । बेनीघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले यो प्रविधिले क्षति न्यूनीकरणमा ठुलो सहयोग पुग्ने ठानेर लागू गर्न थालिएको बताए । अहिले परीक्षणको रूपमा रहेको र स्थानीयले निकै रुचि देखाएको अनुभव पनि उनले सुनाएका छन् । 

क्रिस्टाबाट जनधनको क्षति कम गर्न सकिन्छ भन्ने अन्तर्राष्ट्रिय निकायहरूले पनि स्वीकार गरिसकेका छन् । उनीहरूले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि क्रिस्टा एप सहयोगी हुने निष्कर्षका साथ त्यसको प्रयोग बढाउन प्रोत्साहन गरेका छन् । नेपालमा पनि यसको प्रयोग केही पालिकाहरूले गर्न थालेको भए पनि यसलाई देशव्यापी गराउन सकियो भने विपद्बाट हुने क्षति कम गर्न सक्ने देखिन्छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise