२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सुत्केरी महिला मृत्यु प्रकरण : दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति 

ADV
ओमप्रकाश यादव
२०८१ भदौ २२ गते १५:२०
सुत्केरी महिला मृत्यु प्रकरण : दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति 

रौतहट : रौतहटको गरुडा नगरपालिका–५ शिवनगर बर्थिङ सेन्टरमा  मृत्यु भएकी सुत्केरी महिलाको परिवारलाई क्षतिपूर्तिदिने सहमति भएको छ । महिलाको मृत्यु भएको घटनामा दोषी चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको हो  । 

इलाका प्रहरी कार्यालय गरुडामा गएराति भएको दुईपक्षीय छलफलमा पीडित परिवारलाई राहतस्वरूप तत्काल दुई लाख सहयोग गर्ने, घटनाको छानबिन गर्न सर्वदलीय कमिटी गठन गर्ने र अस्पतालमा तोडफोड गर्नेलाई कारबाही गर्ने सहमति भएको छ । 

छलफलमा सहभागी गरुडा नगरपालिकाका मेयर कन्थमनि प्रसाद कल्वारले पीडित परिवारलाई तत्कालको लागि राहतस्वरुप पालिकाको तर्फबाट दुई लाख उप्लब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 

दुबै पक्षबीच सहमति भएलगत्तै पीडित परिवार र उनका आफन्तले अबरुद्ध शिवनगर स्थित गौर चन्द्रनिगाहपुर सडक खुलाएका छन् । 

पीडित र स्थानीय सरकारबीच भएको सहमतिअनुसार गएराति ११ बजे शिवनगर स्थित अबरुद्ध सडक खुलाएर मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् ।

दुईपक्षीय छलफलमा गरुडाका मेयर कन्थमणि प्रसाद जयस्वाल, नेकपा एसका नेता ब्रिज किशोर यादव, जसपा नेपालका नेता अनिल कुमार यादव, नेपाली कांग्रेसका नेता सुनिल कुमार यादव, रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी रामनरेश राय यादव, रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरी प्रमुख एसपी बिक्रम हुमागाईं, वडा अध्यक्ष रामबाबु चौधरीलगायत पीडित परिवारका प्रतिनिधिको सहभागिता रहेको थियो ।

गएको बिहीबार साँझ सुत्केरी गराउन शिवनगर स्थित प्रसुती गृहमा गएकी गरुडा नगरपालिका- ५ शिवनगरका अरबिन्द साह सोनारको श्रीमती वर्ष २२ की रमिता देवीको अत्याधिक रक्तस्राव भएर मृत्यु भएको थियो ।

सुत्केरी बेथा लागेपछी घरका सदस्यहरुले उक्त अस्पतालमा लैजादा रमिताले नर्मल अवस्थामा नै बच्चा जन्माएकी थिइन । तर बच्चा जन्माउने बित्तिकै अत्याधिक मात्रामा रगत बग्न थालेपछी थप उपचारका लागि वीरगञ्ज लैजाँदै  गर्दा चिकित्सकले उनलाई शुक्रवार बिहान मृत घोषणा गरेका थिए । 

चिकित्सकको चरम लापरबाहीले महिलाको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका थिए । उपचारमा चिकित्सकले गम्भीर लापरबाही गरेका कारण रगत बगेर रमिताको मृत्यु भएको भन्दै आक्रोशित पीडित परिवारले शुक्रबार दिनभरी अस्पताल अगाडि प्रदर्शन गर्दै अस्पतालमा तोडफोड समेत गरेका थिए ।

उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र उचित क्षतिपुर्तीको माग गर्दै पीडित परिवार र उनका आफन्तहरुले शुक्रवार दिन भरी स्वास्थ्य चौकी शिवनगरअगाडि शव राखेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि शुक्रवार दिनभर शिवनगरको अवस्था निकै तनावग्रस्त बनेको थियो । अस्पतालमा क्षति हुन नदिन हिजो दिनभरी नेपाल र शसस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको थियो ।

तर दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिदिने सहमति भएपछि पीडित परिवार र आफन्तहरुले राती ११ बजेदेखि नै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसंगै आज विहानदेखि शिवनगरको अवस्था सामान्य बनेको छ ।

एक महिनाअघि पनि चिकित्सककै लापरबाहीले शिवनगर बर्थिङ सेन्टरमा सुत्केरी गराउन गएकी गरुडा नगरपालिका-३ मलाही टोलकी एक महिलाको अत्याधिक रक्तस्राव भएकै कारण मृत्यु भएको थियो ।

एक महिना भित्रमा सो अस्पतालमा दुई जना सुत्केरी महिलाको ज्यान गएपछि स्थानीयहरु सो अस्पतालका चिकित्सकमाथि निकै आक्रोशित भएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise