२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा शुरु

ADV
आबिद हुसेन
२०८१ भदौ २५ गते १७:०३
नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा शुरु

वीरगञ्ज : वीरगञ्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा शुरु भएको छ । मधेश प्रदेशमै पहिलो पटक वीरगञ्जको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगको उपचार सेवा शुरु गरिएको हो । 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलेजी वार्डको उद्घाटन गरे । उद्घाटन समारोहमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डाक्टर एनामुल हक र भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर उज्वल चालिसले नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच विस्तारित क्यान्सर उपचार सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौतापत्रमा क्यान्सर उपचार सेवा सञ्चालनका लागि आवश्यक जनशक्तिलगायतका प्राविधिक सहयोग भक्तपुर क्यान्सर अस्पतालले व्यवस्थापन गर्ने तथा आवश्यक भौतिक पूर्वाधार, उपकरणलगायतको व्यवस्थापन नारायणी अस्पतालले गर्ने उल्लेख छ । 

नारायणाी अस्पतालका निमित्त मेसु डाक्टर हकले मंगलबार मन्त्री पौडेलले औपचारिकरुपमा अंकोलोजी वार्डको समुद्घाटन गरेसँगै क्यान्सर उपचार सेवा सञ्चालनमा आएको बताए । क्यान्सर उपचार सेवाका लागि हाल ६ शय्याको अंकोलोजी वार्ड सञ्चालनमा ल्याइएको उनले बताए । उनले मधेश प्रदेशमै क्यान्सरको पहिलो उपचार सेवा नारायणी अस्पतालमा शुरु गरिएको पनि बताए । यससँगै वीरगञ्जसहित मधेश प्रदेशका क्यान्सर रोगीलाई अब काठमाडौं, चितवन वा भारत जानुपर्ने बाध्यता हटेको डा. चालिसेको भनाइ छ । 

No description available.

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. चालिसेका अनुसार नारायणी अस्पतालमा क्यान्सर रोगका प्राय: सबै उपचार सेवा उपलब्ध छन् । नारायणी अस्पतालमा क्यान्सर रोगको स्क्रिनिङ, डाइग्नोसिस्, केमोथेरापी, पालिटिएभ केयर, रेफरेल, काउन्सिलिङलगायतका सेवा शुरु गरिएको डा. चालिसले जानकारी गराए । नारायणी अस्पतालमा शुरु गरिएको क्यान्सर उपचार सेवाका लागि भक्तपुर क्यान्सर अस्पतालले हालका लागि मेडिकल अंकोलोजिष्टसहित दुई जना चिकित्सक खटाएको जानकारी दिदैं उनले भने, ‘नारायणी अस्पतालकै दुई जना नर्सलाई विशेषज्ञ तालिम दिएर पठाएका छौं ।’

यसका अतिरिक्त प्रत्येक महिना एक पटक भक्तपुर अस्पतालबाट नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकहरु आएर क्यान्सर रोगको उपचारको विशेषज्ञ सेवा दिने पनि उनले बताए । नारायणी अस्पतालसँगै कोशी प्रदेशमा कोशी अस्पताल विराटनगर, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेशमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढीमा क्यान्सर उपचार सेवा सञ्चालनमा ल्याइसकिएको उनले जानकारी गराए । 

कार्यक्रममा बोल्दै स्वस्थ्यमन्त्री पौडेलले ७ वटै प्रदेशमा एक/एक वटा अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सञ्चालन गर्ने सरकारको निर्णयअनुसार मधेश प्रदेशको नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा शुरु गरिएको बताए । यसलाई निरन्तरता दिँदै नारायणी अस्पतालमै अंग प्रत्यारोपण सेवा र मुटुको शल्यक्रिया सेवा पनि छिट्टै सञ्चालन गर्ने मन्त्रालयको योजना रहेको उनले बताए । त्यसका लागि मन्त्रालयले आवश्यक प्रक्रिया थालिसकेको उनले जानकारी दिए ।

अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री पौडेलसँगै प्रदेश सभा सदस्य श्याम पटेल, स्वास्थ्य मन्त्रालयको गुणस्तर तथा मापन शाखाका प्रमुख डा. मदनकुमार उपाध्याय, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमलगायतको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise