२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अफगानी नागरिकमा शक्तिबर्धक पेय पदार्थको मोह

Nada
२०८१ भदौ २६ गते १७:५५
Shares
अफगानी नागरिकमा शक्तिबर्धक पेय पदार्थको मोह

काठमाडौंः अफगानी नागरिकमा शक्तिबर्धक पेय पदार्थको मोह बढेको छ । क्याफिन र चिनीको मात्रा उच्च भएको र प्रायः पिउने पानीभन्दा बढी उपलब्ध हुने इनर्जी ड्रिङ्क्सलाई धेरै अफगानीहरूले अपर्याप्त आहारको पूरकको रूपमा हेर्छन् । 

ncell

पश्चिमी अफगानिस्तानमा रहेको एक कम्पनीमा हरेक सेकेन्ड २४ वटाको दरले उत्पादन हुने शक्तिवर्धक पेय पदार्थ (इनर्जी ड्रिङ्क्स) अफगानीहरूले आफ्नो जीवनको कठिनाई लुकाउन र निराश मनको लहरलाई तृप्त पार्ने आकर्षक वस्तु हो । 

तालिवान समूह सत्तामा आएपछि अफगानिस्तानले इस्लामिक कानून अनुकुल नभएको भनी यहाँका महिला तथा बालबालिकाका अधिकारमा भारी कटौती गरेको छ भने पश्चिमी प्रभावका धेरै वस्तुलाई प्रतिबन्ध लगाएको छ । तर अमेरिकी सैनिकसँगै अफगानिस्तान भित्रिएको उत्तेजक पेयको मोह अझै बाँकी छ । बढिरहेको छ । 

अफगानिस्तानमा मदिरा प्रतिबन्धित छ तर क्याफिन युक्त इनर्जी ड्रिङ्क्स प्रहरीदेखि बालबालिकासम्म सबैले सेवन गर्छन् । ‘यहाँका युवाको जीवन सङ्घर्ष र कठिनाइले भरिएका छन्’, हेरात सहरको सुपरमार्केटमा ४० प्रकारका इनर्जी ड्रिङ्क्सको व्यापार गर्ने मिलाद गजनवीले भने, ‘यो मानिसहरूको लत बनेको छ ।’

विश्व खाद्य कार्यक्रमका अनुसार गरिबीबाट ग्रस्त अफगानिस्तानका करिब ९० प्रतिशत मानिस अपर्याप्त खानामा बाँचिरहेका छन् । गुलजार नाम गरेका  एक मजदुरले आफु दिनको १४ घण्टासम्म मजदुरी गर्ने र दिनभरीको थकान मेटाउन चार बोतल इनर्जी ड्रिङ्क्स पिउने बताए । गुलजारको आहारमा १०० ग्रामभन्दा बढी चिनी हुन्छ । यो मात्रा विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको भन्दा दुई गुणा बढी हो ।

अमेरिकी खाद्य तथा औषधी प्रशासनका अनुसार अत्यधिक क्याफिनको सेवनले उच्च रक्तचाप, मुटुको धड्कन, चिन्ता र अनिद्रा निम्त्याउन सक्छ । तर गुलजार आफुसँग अन्य कुनै विकल्प नभएको बताउँछन् । स्थानीय ब्रान्डको इनर्जी ड्रिङ्क्स लगभग ३० अफगानी मात्र पर्छ जबकी आयातित दुई सबैभन्दा लोकप्रिय विश्वव्यापी ब्रान्ड ‘रेड बुल’ वा ‘मोन्स्टर’ भने अधिकांश अफगानीको पहुँचभन्दा बाहिर छ ।

विदेशी सहायतामा भर पर्ने गरिब अफगानी उच्च मुल्यमा इनर्जी ड्रिङ्क किन्न असमर्थ छन् र यसको सट्टा क्याफिनयुक्त ग्रीन टी र पाउरोटीको आहारमा बाँचिरहेका छन् । पश्चिमी हेरातको औद्योगिक केन्द्रमा रहेको ‘पामिर कोला’ नामक कम्पनीले दैनिक १० लाखभन्दा बढी इनर्जी ड्रिङ्क्स उत्पादन गर्ने गरेको बताएको छ । आफूलाई यस व्यवसायको एक सानो खेलाडी बताउने पामिर कोलाले अफगानिस्तानका चार करोड नागरिक प्रत्येकका लागि दिनको दुई वट्टा ९क्यान० को दरले उत्पादन गर्ने अनुमान गरेको छ ।  

‘अफगानिस्तानका मानिसहरू जसले कडा श्रम गर्छन् तर राम्रो खाना पाउँदैनन्, उनीहरूका लागि सबैभन्दा राम्रो ऊर्जाको स्रोत इनर्जी ड्रिङ्क्स पिउनु हो’, पामिर कोलाका सञ्चालक जाहिर शाह बहादुरले भने, ‘अफगानिस्तानमा इनर्जी ड्रिङ्क्सको व्यापार राम्रो छ र सम्भवतः अझ राम्रो हुनेछ’, उनले भने । (एजेन्सी)

सम्बन्धित खबर