– त्रिपुरा पोखरेल, सिक्किम
“काइँली बिमारी छन् हेर्न जाँदिनौं ?” मेरी बाल्यकालकी सखाले माइती घरतिर जाने बाटोमै मलाई खबर गरिन् । मेरो बाल्यकालको स्मृतिमा विस्मृत प्रायः भइसकेकी काइँला दाइकी काइँली फेरि मेरो मानसपटलमा देखा परिन् । माइतीघरमा ब्याग राखेर म फेरि बाहिरिएँ । हामी दुईजना पैदल नै काइँलीको घरतिर हानियौं । किन हो कुन्नि, माइतीमा पाइला राख्ना साथ मलाई आफ्नो बालापन पुनः फर्किएको अनुभूति भयो ।
सेतै फुलेकी, मुखभरि चाउरिएर मुजा परेको छाला, छालाले मासु छोडेको अवस्थामा ओछ्यानमै बिलाउन आँटेकी काइँलीलाई देख्दा म तर्सिएँ । समय र रोगले मान्छेलाई यो अवस्थामा पु¥याउँदो रहेछ भन्ने सोचाइले म झस्किएँ । छेउमा झुन्डिएको ऐनाले पनि मलाई गिज्याइरहेको भान भयो । मैँले डराएर त्यतातिर हेरेँ, मेरो मनमात्र घरि केटाकेटी, घरि जवान हुँदोरहेछ भन्ने कुराको सत्य साबित गर्यो ऐनाले । “काइँली, हामीलाई चिन्यौ?” मैले उसको कान नजिक मुख लगेर सोधें । उनले टाउकोको इशाराले चिनेको संकेत दिइन् । सायद तिनको पोइले हामी गेटबाट छिर्दा नै हाम्रो परिचय गराइसकेको हुनुपर्छ ।
बाबुआमाकी काइँली छोरी भएकोले तिनलाई सबैले काँइली भन्छन् । सबैले काइँली भन्ने गरेकाले मेरो जिब्रोले पनि तिनलाई काइँली नामले नै फड्र्काथ्यो । उनलाई सम्बोधन गर्नका लागि काइँली बाहेक अरु कुनै आदरार्थी शब्दहरू थिएनन् । “तीर्थ नानी म बजार गएर आउँछु एकछिन् भाउजूसँग बसिदिन्छौ कि ?” खडकुँलोभरि मासु बोकेर र मलगायत अरु भुराभुरीलाई बाटोमा नबस भन्दै गाली गर्दै धकेल्ने उही सत्र/अठारका काइँला दाइ रहेछन् । उनी अझै पनि हृष्टपुष्ट देखिन्थे । हामी दुवैले तिनलाई बजार जाने स्वीकृति दियौं ।
मैले ओछ्यानमा सुतेकी काइँलीलाई एकपल्ट फेरि सरसर्ती हेरें । त्यतिखेर मेरो कानमा कामतका केटाकेटीहरूले गीतको भाकामा गाएका दुई वाक्य गुञ्जिन थाले, “पल्लो गाउँमा स्याल करायो काइँलोले धमिनी भगायो ।” अर्को थियोे “आङ्लाङबाङ आङ्लाङबाङ ढुङ्गा हानाहान धामी दाइ र काइँलाको खुट्टा तानातान ।” आङ्लाङबाङको अर्थ अझैसम्म पत्ता लागेको छैन ।
केटाकेटी छँदा मलाई खेती जान असाध्यै रहर लाग्थ्यो । मंसिरको जाडोमा हजुरआमाको पछि लागेर खेती जान्थ्येँ । कामत पुग्दा समुचा शरीर धुलो र फुस्रो हुन्थ्यो । म यसैमा रमाउँने गर्थें । केटाकेटीदेखि नै मलाई शहरको देखावटी संस्कारभन्दा गाउँको वास्तविक जीवन रम्य लाग्दथ्यो ।
हामी खेतीमा पुगेपछि त्यहाँको रौनक नै अर्कै हुन्थ्यो । कामत घरको आँगनमा हरूवा र बटियादारको भीड लाग्थ्यो । हजुरामा आँगनको बीचमा राखेको बेन्चमा बस्नुहुुन्थ्यो । उनीहरु कागजमा धर्का तानेर धानको हिसाब बुझाउँथे । म धर्काको हिसाब बुझ्दिन थिएँ । खेल्ने उमेरमा मलाई हरहिसाबबारे बुझ्ने रहर पनि थिएन ।
हजुरआमाको आँखा छलेर म मृगले बुर्कुसी मारे झैँ बुर्कुसी मार्दै कामतका झुपडीहरू चहार्दै हिंड्थें । मलाई त्यहाँको स्वच्छन्दता खुबै मनपथ्र्यो । केटाकेटी नाङ्गै भुतुुङ्गै भएर धुलो खेलिरहेका हुन्थे, खोलाको मट्याइलो पानीमा पौडी खेल्थे, डुबुल्की लगाउथे । उनीहरूलाई फोहोर पानीमा नजा, लुगा लगा, धुलो नखेल् भनेर रोकटोक गर्ने कोही थिएनन् । बिहान बेलुकी पढ्नुपर्छ भन्दै हप्कीदप्की गर्ने आमाहरू त्यहाँ थिएनन् । त्यहाँको जीवन गुईंठा बना, जर्ना बटुल्, पानी ल्या, भातभान्सा, खेताला गर्न यस्तै काममा व्यस्त हुन्थ्यो । म शहरको घरको अनुशासनमा उकुसमुकुस हुन्थें । बिहान उठेदेखि राति ओछ्यानमा जाँदासम्म घरका अभिभावकले बनाएको नियम कानूनबमोजिम चल्नु पर्दथ्यो । त्यहाँ साङ्लोमा बाँधिएकी म कामतमा आएपछि उन्मुक्ति पाए झैँ लाग्थ्यो ।
“नानी यहाँ बस ।” म कतिखेर खड्किनी दिदीको घरमा पुगिसकेकी रहिछु । उनी मेरी आमाको उमेरभन्दा ज्यादा उमेरकी थिइन । तिनलाई म अरु सरह नै खड्किनी दिदी भन्थें । मलाई उनले नाकमा लगाएको बुलाकी कानको ढुङ्ग्री र माडवारीले लोभाउँथ्यो । झन् दिदी बोल्दा तिनको ओठसम्म झरेको बुलाकी हल्लिएको दृश्यले मलाई लिङ्गे पिङमा मच्चिएको भान हुन्थ्यो । तिनले कपालको चुल्ठो बाट्दा निधारदेखि कपालको आँख्ला बनाएको हुन्थ्यो । हिन्दी सिनेमाका अभिनेत्री साधना र बबिताको नक्कल गरेर जुडो बनाउने नारी समाजमा हुर्किएकी मलाई खड्किनी दिदीको कपाल कोर्ने ढाँचा अनौठो लाग्थ्यो ।
“दिदी, अहिले म धामी दाइको घरमा बिहेको रमझम हेर्न जान्छु ल, भोलि हजुरआमासँग तपाईंको घरमा आउँछु ।” यति भन्दै म हतारहतार धामी दाइको घरतिर कुदें । धामी दाई उमेरमा मेरो बुवाभन्दा ठूला । बुवाको दाजु मेरो पनि दाजु ।
धामी दाइको घरको आँगनमा गाउँका केटाहरू जग्गे बनाउन व्यस्त थिए । टाउकोमा फेटा, ल बेदा र घुँडासम्म भाँग्रोको सेतो कपडा बेरेका धामी दाइले काम सघाउन आउनेहरूलाई आफ्नो चोरी औंला ठडाउँदै कुनै कुराको निर्देश दिँदै थिए ।’ वंश र उमेरको नाताले मेरो बुवाको उमेरभन्दा ठूलो धामी दाइको बिहे ... !’ म कान्छी औंलाको नङ टोक्दै सोच्न थालें । कति मथिङ्गल मन्थन गर्दा पनि जडसम्म पुग्न सफल भइन । एघार वर्षमात्र टेकेको मेरो कलिलो उमेरको कलिलो मगजले यस विषयको परिमाण निकाल्न सकेन ।
“बैनी, आमा र हजुरामाले तिमीलाई खोज्दै हुनुहुन्छ, छिट्टै घर जानु रे ।” अघिकै काइँला दाई मलाई लिन आउनुभएको रहेछ । म उहाँको पछिपछि लागेँ । हजुरामा कामत घरको आँगनमा धुनी ताप्दै हुनुहुन्थ्यो । मलाई देख्नासाथ एकैसाथ कराउनु भयो, “छोरी मान्छे भएर एक्लै लखरलखर किन हिँडेकी ।” म निरत्तोरित भएर खुट्टाको बूढी औलाले भुइँ कोट्याउन थालें । राति हजुरआमालाई मेरो माया लागेछ, मलाई भान्सा कोठामा लगेर स्थानीय गाईको बाक्लो दूध दिनुभयो । छोरालाई स्वतन्त्रता र छोरीलाई बन्धक पार्ने हजुरामाको विचारबाट गाउँमा पनि मैले मुक्ति पाउन सकेकी थिइनँ ।
बेहुला अन्माउन र रत्यौलीको निम्तोमा हजुरआमासँग म पनि गएँ । नौमती बाजालाई अघि लाएर धामी दाइ बेहुली लिन जानुभयो । हाम्रो बजारमा ब्याण्डबाजामा “ले जाएगें ले जाएंगे दिलवाली दुल्हनिया लेजाएंगे ।” ‘बाबुल की दुआएँ लेती जा’को धुनमा ब्याण्ड बाजा बज्दथ्यो तर, यहाँ बाजादेखि लिएर सबैमा नेपाली संस्कृतिको झलक देखें । राति मलगायत अरु केटाकेटीलाई कोठामा थुनेर आँगनमा आइमाईहरू रत्यौली खेल्न थाल्नुभयो । हामीले बाहिर हाँसोको फोहरा छुटेको र एक दुईवटा छाडा शब्द बाहेक अरु केही सुनेनौ ।
भोलिपल्ट बिहे खान गयौं । धामी दाइकी बेहुलीको सुन्दर मुहार देखेर म हेरेकोहेरै भएँ । उनी चौबन्दी चोली, फरिया, मजेत्रो पटुकी र हेम्बरीमा सजिएकी थिइन् । जन्म घर छोडेर आउँदाको पीडाले होला बेहुलीको अनुहार खग्रास लागेको दिन जत्तिकै थियो तर धामी दाइ भने झलमल्ल लागेको घाम जस्तै उज्यालो भएका थिए ।
“फुच्चाफुच्चीलाई भेला गरेर दरीमा बसाउ ।” सबैको हतार र हल्लाभित्र एउटा आदेश आयो।धुलो उड्दै गरेको आँगनमा ठूलो गुन्द्री ओछ्याएको, थियो मलाई पनि तानेर गाउँका केटाकेटीहरूसँगै राखे । अरु सरह म पनि रमाएर पतकरमा दिएको मासुको झोलसँग भात खान थालें । बिहे भोज अति नै स्वादिष्ट लागेको भएपनि हजुरामाको इशाराको चेतावनीले मलाई अरू थप्न दिएन । ठूलो कसौंडीको भातलाई झिंगाले डम्मै छोपेको थियो ।
बिहेबाट बजारको घर फर्केपछि तीनवर्षसम्म हजुरामाले मलाई कामत घर लानु भएन । धामी दाइको बिहेमा मैले अनुशासन भंग गरेको सजाय थियो त्यो । म भर्खर किशोरावस्थाको सिढीको एक खुड्किला चढ्दा हजुरआमाले मलाई खेतीको घर जान दिनुभयो ।
अब तिमी नछुनी पनि भइसक्यौ, अघिको जस्तो लखरलखर अर्काको घर न चाहार्नु, उता रजस्वला भयौ भने अलग्गै बस्नु । उहाँको आज्ञा सिरोपर गर्नु बाहेक अर्को कुनै बिकल्प थिएन । उहाँले महिनाबारी भएको थाहा पाउनुभयो भने बसेको ठाउँमा पनि पानीले पुछ्न लगाउनु हुन्थ्यो । छुवाछूत भयो भने छोइछिटा गर्नुहुन्थ्यो । हजुरामाको हठधर्मी र संकुचित व्यवहारले गर्दा मैले आफू परसरेको कहिले भन्दिनथेँ । उहाँ जहिले पनि मलाई हपार्दै भन्नुहुन्थ्यो, “यसले नछुनी भएको कहिले भन्दिन, नछुनी परार साल नै काशी गइसकेको हो, यसले छुइछाइ गरेर मलाई नर्क नै पार्ने भई ।” म यस्ता वाइहात कुरालाई एक कानले सुनेर अर्को कानले उडाइदिन्थेँ ।
कामत घरमा पुग्नासाथ सधैंको जस्तै पाखुरे, बटियादार, कुतिया र हरुवाहरू हजुरआमाको वरिपरि बसेर हरहिसाब बुझाउन थाले, म अनुमति लिएर खड्किनी दिदीको घरतिर लागें ।
“तीर्थ नानी, सजिलोसँग मुढामाद बस्नुस् ।” खडकिनी दिदीले मेरो अगाडि मुढा राखिदिइन् । तिनले यसरी आदरभाउ गर्दा मलाई असजिलो लाग्यो, अप्ठ्यारो लाग्दै मुढामा बसें ।
“ह्या नानी ! बिहे गर्ने उमेर भइसकेको मानिसले पनि के अप्ठ्यारो मानेको ?” तिनले मेरो छातीमा नजर गाड्दै भनिन् । मैले आफ्नो वक्षलाई दुबै हातका कुइनोले छेकें । चार वर्षको अन्तरालमा खडकिनी दिदीको केश तीलचामल जस्तै भएछ ।
“दिदी, धामी दाजु, धमिनी भाउजूको हालखबर के छ ?” बिहेमा देखेको धामी दाइको उज्यालो अनुहार, धमिनी भाउजूको सुन्दर र आकर्षित अनुहारलाई मैले भुल्न सकेकी थिइनँ । दिदीले मेरो प्रश्नको उत्तर दिइन्, “नानीलाई के ढाट्नु र ! उनीहरुको अहिलेसम्म जायजन्म भएको छैन । दुबैको भित्री मनुवा एकअर्कासँग सन्तुष्ट छैनन् क्यारे ...!” तिनको कुरा नसिद्धि म धामी दाइको घरतिर लागें । धामी दाइको घर फुङ्ग उडेको थियो । सिकुवामा बिहेमा खडकुँलोमा मासु बोक्ने काइँला दाजु एउटी आइमाईसँग ढेस्सिएर बसेको थिए, मलाई देख्नासाथ दुबैजना अलि पर सरेर बसेँ । दुबैलाई मैले चिने तर तिनीहरुले मलाई चिनेनन् । म फनक्क फर्किएर घरतिर लागें । दिउसो धामी दाइको सिकुवामा देखेको घटनाले मलाई सोच्न वाध्य तुल्यायो । म पनि केही कुरा बुझ्ने भइसकेकी थिएँ । भोलिपल्ट हजुरामालाई हिसाबकिताब गर्न सघाउँदा बाहिर कतै निस्किने फुर्सद भएन । बेलुकाको खाना खाएर ओछ्यानमा पस्दा मेरो आँखामा पैंतालीस वर्षको धामी दाइ, पैंतीस वर्षकी धमिनी भाउजू र बीस एक्काईस वर्षका काइँला दाइको तस्वीर आउने जाने प्रकृया जारी रह्यो । तीनैजनाको मनुवालाई मनको तराजुले जोख्ने कोशिस गर्दा पनि परीमाण निकाल्न सकिनँ ।
“तीर्थ, भोलि शनिबार छुट्टीको दिन खेतीका किसान समाजले वनभातको आयोजना राखेका छन् । वनभात खान जाने हो ?”, मेरी आमाको प्रश्न थियो ।
पढाइको व्यस्तताले मलाई फुर्सद हुँदैनथ्यो । झन् कामतबारे सोध्ने र सुन्ने फुर्सद मलाई एक निमेष थिएन । हजुरामा धराबाट विदा भएर अनन्त यात्रामा गएपछि म कामत र कामतका परिवारसँग विमुख भएकी थिएँ ।
“खड्किनी दिदी” यसपटक भने निक्कै चर्को आवाजले बोलाएँ । मेरो आवाजले तिनी तर्सिदै कराइन्, “थुक्क पड्के, तीर्थ नानी पो रहेछ । मेरो कानको जाली झण्डै फुटेको !” म खित्का छोडेर हाँसे ।
“एउटा मुढा ल्याएर बसन नानी ।” तिनले माटो लागेको औलाले मुढातिर उदिष्ट गर्दै भनिन् । मैले आज्ञाकारी छात्रा सरह तिनको निर्देशलाई पालना गरेँ । आज पनि दिदीले मेरो खुट्टादेखि पाइतालासम्म नियालेर हेरिन्, त्यसपछि आफ्नो औंला भाँच्न थालिन् । “नानी, तिमीसित भेट नभएको पनि सातवटा वर्ष भएछ । अहिले त तिम्रो ... फर्सी नै भएछ ।” यसो भन्दै तिनी गलल्ल हाँसिन् । आज तिनको हाँसोमा कुनै आकर्षण थिएन । मैले चाउरी परेको तिनको अनुहार हेरें, त्यहाँ तिनलाई सुहाउने फुली, बुलाकी र ढुङ्ग्री थिएन । तिनी मरुभूमि जत्तिकै उजाड देखिन्थिन् । “आफ्नो जातीय गहना शरीरबाट निकाल्नु र निकालिदिनुको मतलब... गाउँमा ठूलै परिवर्तन भएछ । परिवर्तनको लहरले हाम्रो गाउँघरमा जोगाड गरिएको संस्कृतिलाई पनि सोरेर लगेछ ! भविष्यमा खड्किनी दिदीलाई भेट्ने मेरो कुनै औचित्य रहेन ।
नानी, मेरा शहरिया नातिनी बुहारिले उनीहरूको इज्जत जान्छ, लाज हुन्छ भनेर.. मेरा गहना र गुन्यूचोली मेरो शरीरबाट निकाल्न लगाए । सायद तिनले मेरो मनोभावना बुझेर होला तिनले मलाई स्पष्टीकरण दिइन् ।
परबाट स्कुल पढ्न नजाने बराला केटाकेटीहरुको आवाज मेरा दुबै कानमा ठोक्किए.., पल्लो गाउँमा स्याल करायो, काइँलाले धमिनी कुदायो । “आङ्लाङबाङ आङ्लाङ्बाङ ढुङ्गा हानाहान धामी दाइ र काइँलाको खुट्टा तानातान ।” मैले गीतको भाका नबुझेर दिदीलाई पुलुक्क हेरें । तिनले अर्थ खुलाउन थालिन् ।
“नानी धामी र धमिनीको भित्री मान्छे खुशी नहुँदा सन्तान जन्मिएनन् । काइँलासँग पोइल गएपछि तिनले घ्वाँक्क परेको छोरो जन्माइन् । यता धामीले पनि कान्छी ल्याए, तिनको पनि छोरा र छोरी जन्मिए । सन्तान जन्माउन पनि मनुवा खुशी हुनुपर्ने रहेछ ।”, स्वभाव अनुसार तिनी खितखित हाँसिन्, तिनको हाँसोलाई साथ दिंदै हल्लिने बुलाकी भने थिएन । मलाई दिदीको मनुवा शब्दले विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘सुम्निमा’ उपन्यासको सम्झना गरायो । स्वेच्छाले मनपराउनु र जबर्जस्ती कर गर्नुको भिन्नता.. दुबैको अनमेल विवाहमा पाएँ ।
“तीर्थ नानी चिया ।” काइँला दाइ हातमा चियाको गिलास लिएर मेरो सामु उभिएका थिए । तिनको आवाजले छुटेको तरङ्गले, मैले यत्रो वर्षसम्म साँचेर राखेकी मेरा स्मृतिहरू ऐना जस्तै सतचुर्न भएर टुक्रिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies