रोल्पा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री नारायण प्रसाद (एनपी) साउदले नेपाली कांग्रेसको निरन्तरको मागका कारण नै सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनेको बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता साउदले सो कुरा बताएका हुन् ।
उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले चाँडै प्रतिवेदन दिने र निष्कर्ष आउने बताए । नेपालमा व्यापकरूपमा भ्रष्टाचार मौलाएको बताउँदै साउदले त्यसविरुद्ध कांग्रेसले निरन्तर आवाज उठाउँदै आएको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को छिमेकी राष्ट्र भारत भ्रमणलाई कसरी लिनु भएको छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता साउदले नेपाली कांग्रेसले त्यसलाई त्यति उपलब्धिमूलक भ्रमण नमानेको बताए । 'उहाँ भ्रमणमा जाँदै गर्दा आफ्नो देशका महत्वपूर्ण केही एजेन्डा लिएर जानुपर्थ्यो, अलिकति पूर्वतयारीका साथ जानुपर्थ्यो, तर त्यो देखिएन । त्यसैले प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धिका रूपमा मान्ने अवस्था छैन,' उनले भने ।
यस्तै उनले बजेट विनियोजनलाई कांग्रेसले गम्भीररूपमा लिएको बताउँदै संसदमा पनि कांग्रेसका सांसदले यसबारे प्रश्न उठाइरहेको बताए । उनले भने, 'हामीले नजिकबाट प्रमुख प्रतिपक्षी दलको हिसाबले गम्भीरतापूर्वक नीति तथा कार्यक्रम र बजेट विनियोजनलाई अध्ययन गरेर प्रश्न उठाइरहेका छौं ।'
अहिले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलमा पुगेको बताउँदै उनले कांग्रेसप्रति जनस्तरमा हेर्ने र बुझ्ने दृष्टिकोण कस्तो छ भन्नेबारे बुझ्नका लागि आफूहरु जिल्लास्तरमा आएको बताए । पछिल्लो समय कांग्रेस संसदमा सबैभन्दा ठूलो दल भएको र अहिले विपक्षी दलको हिसाबले कसरी संसदमा प्रस्तुत हुने विषयमा आम जिल्लास्तरमा रहेका नेतृत्व तथा कार्यकर्ताको धारणा बुझ्नका लागि आफूहरू जिल्लास्तरमा आएको उनको भनाइ थियो ।
नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य अब्दुल सत्तार, केन्द्रीय सदस्य गोविन्दबहादुर शाह र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगरलगायतको सहभागिता रहेको थियो ।