काठमाडौं : नेपालबाट वैदेशिक रोजगारमा खाडी र मलेसिया गएका धेरै कामदारमा मिर्गौलासम्बन्धी रोग देखिएको छ । किड्नी इन्टरनेशनल रिपोर्टस् जर्नलमा प्रकाशित अध्ययनमा नेपाली आप्रवासी कामदारमा दीर्घकालीनरुपमा मिर्गौला रोग बढ्ने खतरा औंल्याइएको छ ।
वैदेशिक रोजगारबाट फर्केका अधिकांशमा छोटकरीमा सिकेडी भनिने क्रोनिक किड्नी डिजिजको समस्या छ । काम गर्ने घण्टा लामो भएको, स्वच्छ पिउने पानी, कार्यस्थलमा शौचालय नभएको र समयमै चिकित्सा हेरचाहको अभावले सिकेडी समस्या बढ्दै गएको बताइएको छ ।
किड्नी इन्टरनेशनल रिपोर्टस् जर्नलले स्वदेश फर्केका ४४ जना आप्रवासी नेपाली कामदारहरुलाई आधार बनाएर अध्ययन गरिएको बताएको छ । उनीहरुको औसत उमेर ३७ वर्ष हाराहारीमा रहेको छ ।
अध्ययनमा समावेशमध्ये २७.३ प्रतिशत मलेसिया र ७२.७ प्रतिशत खाडी मुलुकमा काम गरेर फर्केका थिए । उनीहरु सबैको नेपालबाट रोजगारीमा जानु अगाडि विस्तृत स्वास्थ्य परीक्षण र अनुसन्धान गरिएको थियोे । उनीहरुमध्ये ६८.२ प्रतिशतले स्वास्थ्य बीमा गरेको भए पनि २०.४ प्रतिशतले मात्रै हरेक वर्ष नियमित स्वास्थ्य जाँच गराएका थिए ।
मिर्गौला समस्या रहेकामध्ये ५२.३ प्रतिशतले इनडोर, ३६.४ प्रतिशतले आउटडोर, ११.४ प्रतिशतले इनडोर र आउटडोर दुवैमा काम गरेका थिए । हाल मिर्गौला समस्या झेलिरहेका ७० प्रतिशत कामदारले हप्तामा ६० घण्टाभन्दा बढी काम गरेका थिए भने १३.६ प्रतिशतले हप्तामा ५० घण्टाभन्दा कम काम गरेको बताएका छन् । २० प्रतिशतले ५५ घण्टा काम गरेका छन् । एक स्वस्थ व्यक्तिले दैनिक कम्तीमा ५ लिटर शुद्ध पानी पिउनुपर्ने भएपनि उनीहरुले औसतमा दैनिक साढे दुई लिटरभन्दा कम पानी पिएको पाइएको अध्ययनले देखाएको उल्लेख गरिएको छ । उनीहरुमध्ये करिब १६ प्रतिशतले समयमै शौचालयको पहुँच नपाएका कारण पिसाब रोकेर काम गर्नुपरेको बताएका छन् । अध्ययन अवधिमा ६३.६ प्रतिशतले मिर्गौला मर्मतका लागि डायलाइसिस शुरु गरेको र ६.८ प्रतिशतले मिर्गौला प्रत्यारोपण गरेको बताइएको छ ।
स्वदेश फर्केका अधिकांश भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका लागि पुगेका छन् । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार डायलाइसिस गराइरहेका मध्ये ३० प्रतिशत र प्रत्यारोपण गर्नेमध्ये ३० प्रतिशत वैदेशिक रोजगारीबाटै फर्किएका बिरामी छन् ।
नेपालबाट दैनिक हजारौंको संख्यामा युवाहरु वैदेशिक रोजगारीमा जाने गरेको र तीमध्ये कतिपयलाई समस्या हुँदाहुँदै पनि गुपचुप पठाउने गरेको बताइएको छ ।
मिर्गौला समस्यासम्बन्धी अध्ययन गरिरहेको अर्को संस्था नेपाल विकास समाजले काठमाडौंको नेशनल किड्नी सेन्टरमा गरेको अध्ययनले डायलाइसिस गराउनेमध्ये ३१ प्रतिशत वैदेशिक राजगारबाट फर्किएका व्यक्ति भएको बताएको छ ।