काठमाडौं : एक आप्रवासी घरेलु कामदारको अमानवीय रूपमा कुटपिट गरी हत्या गरेको अभियोगमा कुवेतको फौजदारी अदालतले एक परिवारका दम्पतीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
आप्रवासी घरेलु कामदारलाई गैरकानुनी थुनामा राख्ने, लठ्ठीले बारम्बार आक्रमण गर्ने, चिकित्सा हेरचाह अस्वीकार गर्ने र जबरजस्ती श्रम गराउने जस्ता कार्य गर्दा कामदारको मृत्यु भएको अदालतले ठहर गरेको छ ।
मृतकको परिचय भने खुलाइएको छैन । सरकारी अभियोजनकर्ताहरूले दम्पतीले उनलाई चोटपटक लागेर मृत्यु नभएसम्म दबाबमा काम गरिरहन बाध्य पारेको जिकिर लिएका थिए ।
गल्फ न्युजका अनुसार पछिल्लो समय कुवेतमा आप्रवासी घरेलु कामदारहरूमाथि दुव्र्यवहार बढ्दो छ । २०२३ को सुरुमा एक कुवेतीले फिलिपिनी कामदारको बलात्कारपछि हत्या गरेर जलाएका थिए । त्यसपश्चात फिलिपिन्स सरकारले पर्याप्त सुरक्षाको अभाव भन्दै कुवेतमा घरेलु कामदार पठाउन अस्थायी प्रतिबन्ध लगाएको थियो ।