काठमाडौं : केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत वैदेशिक रोजगार ऐन २०६४ मा संख्या सय खारेजीका साथै व्यवसायीलाई हुने जरिवानामा मुख्य संशोधन भएको छ । संख्या सयसम्बन्धी दफा १३ को उपदफा (२) को खण्ड (घ२) झिकिएको छ ।
दफा ५३ मा ‘त्यस्तो इजाजतपत्रवालालाई त्यसरी वैदेशिक रोजगारमा पठाएको पीडित कामदार संख्याको विभागबाट प्रमाणित आधारमा जनही ५० हजार रुपैयाँका दरले रकम जरिबाना’ भन्ने शब्दहरू राखिएका छन् ।
ऐनको मस्यौदामा पूर्व स्वीकृतिपछि म्यानपावर कम्पनीको वेबसाइटमा सूचना प्रकाशित गर्नुपर्ने गरी मन्त्रालयले गरेको प्रस्ताव संसद्ले अस्वीकार गरी दफा १६ मा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था अन्तर्गत : (१) दफा १५ बमोजिम पूर्व स्वीकृति प्राप्त भएपछि इजाजतपत्रवालाले कामदार छनोटका लागि कम्तीमा सात दिनको अवधि दिई नेपाली भाषाको कुनै राष्ट्रियस्तरको दैनिक पत्रिका र आफ्नो वेबसाइटमा विज्ञापन प्रकाशन गर्नुपर्नेछ भन्ने पुरानै व्यवस्था कायम गरिएको छ । थप संशोधन निम्न बमोजिम गरिएको छ :
वैदेशिक रोजगार ऐन, २०६४ मा संशोधन : वैदेशिक रोजगार ऐन, २०६४ को–
– दफा १३ को उपदफा (२) को खण्ड (घ२) झिकिएको छ ।
– दफा १६ को सट्टा देहायको दफा १६ राखिएको छ : ‘१६. विज्ञापन प्रकाशन गर्नुपर्ने : (१) दफा १५ बमोजिम पूर्व स्वीकृति प्राप्त भएपछि इजाजतपत्रवालाले कामदार छनोटका लागि कम्तीमा सात दिनको अवधि दिई नेपाली भाषाको कुनै राष्ट्रियस्तरको दैनिक पत्रिका र आफ्नो वेबसाइटमा विज्ञापन प्रकाशन गर्नुपर्नेछ ।
– इजाजतपत्रवालाले उपदफा बमोजिम विज्ञापन प्रकाशनका लागि पठाएको सूचनाको एकप्रति विभागको वेबसाइटमा प्रकाशन गर्ने प्रयोजनका लागि सोही दिन विभागलाई उपलब्ध गराउनुपर्नेछ ।
– उपदफा (१) बमोजिमको विज्ञापन प्रकाशन र कामदारको छनोटसम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ । दफा ३० पछि देहायको दफा ३० क. थपिएको छ : ‘३० क. सीप परीक्षण सम्बन्धी व्यवस्था : (१) वैदेशिक रोजगारमा जान दिइने सीपमूलक तालिम छ महिनासम्मको भएमा त्यस्तो तालिमको सीप परीक्षण राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले गर्नेछ । (२) उपदफा (१) बमोजिमको सीप परीक्षणसम्बन्धी विधि र प्रक्रिया राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले निर्धारण गरेबमोजिम हुनेछ । (३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकारअन्तर्गतका वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व रहेका निकाय वा संस्था आफैंले प्रदान गर्ने तालिम वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सीप परीक्षण गरेको तालिमको हकमा यस दफाबमोजिम सीप परीक्षण गर्नुपर्ने छैन ।
– दफा ३८ को उपदफा (१) को (क) खण्ड (ख) मा रहेका ‘श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री÷सहायक मन्त्री’ भन्ने शब्दहरूको सट्टा ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा राज्यमन्त्री वा सहायक मन्त्री’ भन्ने शब्दहरू राखिएका छन् ।
(ख) खण्ड (झ) मा रहेका ‘महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय’ भन्ने शब्दहरूको सट्टा ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय’ भन्ने शब्दहरू राखिएका छन् ।
– दफा ४१ को उपदफा (२) मा रहेका ‘बढीमा तीन महिनाको निमित्त’ भन्ने शब्दहरू झिकिएका छन् ।
– दफा ५३ मा रहेका ‘त्यस्तो इजाजतपत्रवालालाई त्यसरी वैदेशिक रोजगारमा पठाएको पीडित कामदार संख्याको विभागबाट प्रमाणित आधारमा जनही ५० हजार रुपैयाँका दरले रकम जरिबाना’ भन्ने शब्दहरू राखिएका छन् ।
– दफा ७३ को उपदफा (१) मा रहेका ‘श्रम डेस्क राख्नेछ’ भन्ने शब्दहरूको सट्टा ‘श्रम डेस्क राख्न सक्नेछ’ भन्ने शब्दहरू राखिएका छन् ।
– दफा ७६ को उपदफा (३) मा रहेका ‘उपदफा (३)’ भन्ने शब्दहरूको सट्टा ‘उपदफा (२)’ भन्ने शब्दहरू र ‘तीन वर्षसम्म विदेश’ भन्ने शब्दहरूको सट्टा ‘एक वर्षसम्म सम्बन्धित देशमा’ भन्ने शब्दहरू राखिएका छन् ।
– ठाउँ ठाउँमा रहेका देहायका शब्दहरूको सट्टा देहायका शब्दहरू राखी रुपान्तर गरिएको छ : (क) ‘श्रम तथा यातायात व्यवस्था मन्त्री वा राज्यमन्त्री’ र ‘श्रम तथा यातायात व्यवस्था मन्त्री÷राज्यमन्त्री’ भन्ने शब्दहरूको सट्टा ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री वा राज्यमन्त्री’, ‘श्रम स्वीकृति’ भन्ने शब्दहरूको सट्टा ‘वैदेशिक रोजगार अनुमति’ भन्ने शब्दहरू राखिएका छन् ।