काठमाडौं : इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका बन्धक मामिलासम्बन्धी सल्लाहकार गाल हिर्सबीचको दोस्रो पटकको बैठक सम्पन्न भएको छ । तेल अविवमा बुधबार भएको बैठकमा उनीहरूबीच कूटनीतिक र बन्धकका अवस्थाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको अवस्थाबारे अझैसम्म कुनै ठोस प्रमाण प्राप्त नभएको विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको थियो ।
राजदूत पण्डितले विपिनको शीघ्र र सुरक्षित रिहाइका लागि पुनः विशेष आग्रह गर्दै इजरायली पक्षसँग निरन्तर समन्वय र सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।
सो अवसरमा नेपाल र इजारायलबीच लामो समयदेखि उच्चस्तरको भ्रमण नभएको सन्दर्भबारे दुवै पक्षले उच्चस्तरीय भ्रमण सम्बन्धमा सोच अघि बढाउने विषयमा पनि कुराकानी भएको थियो ।
सल्लाहकार हिर्सले हालसम्म हमासको नियन्त्रणमा जीवित र मृत गरी ५० जना बन्दी भएकोमा नेपाली नागरिक विपिनको अवस्थाबारे स्पष्ट जानकारी नभएको उल्लेख गरेका थिए ।