२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

संवादमा सर्वोच्च अदालत र नेपाल बार

ADV
अस्मिता बम
२०८१ असोज १६ गते ०६:४०
संवादमा सर्वोच्च अदालत र नेपाल बार

काठमाडौं : सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गरिएको विषयलाई लिएर सर्वोच्च अदालत र नेपाल बार एशोसिएशन आमने–सामने भएका छन् । तर, यसलाई मथ्थर पार्ने प्रयासमा दुवै पक्षले आक्रम हुने र संवाद गर्ने दुवै प्रयास अगाडि बढाएका छन् । 

विरोधकाबीच न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेपछि सर्वोच्च अदालत र नेपाल बार एशोसिएशन आमने–सामने भएका हुन् । त्यसपछि आक्रोशित हुँदै दिएको अभिव्यक्तिलाई लिएर बार अध्यक्ष गोपालकृष्ण घिमिरेमाथि अपहेलनाको मुद्दा र नेपाल बारसँग संवाद सर्वोच्च अदालतले एकसाथ अगाडि बढाएको छ । 

गत शुक्रबार बारको विरोधका बाबजुद न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशमा मुख्यन्यायाधीशहरु नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सिफारिस गरेको थियो । 

दुवै प्रस्तावित न्यायाधीशउपर संसदीय सुनुवाइको प्रक्रिया अगाडि बढेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले दुवै प्रस्तावित न्यायाधीशउपर १० दिने उजुरी आह्वान गरेको छ । 

तर, विरोधका बाबजुत सर्वोच्च अदालतमा दुई जना न्यायाधीश सिफारिस भएपछि बार अध्यक्ष घिमिरले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध चर्को अभिव्यक्ति दिएका थिए ।

न्याय परिषद नियावली संशोधनका विषयमा उठेको विवाद निरुपण नगरी परिषदले एकलौटी रुपमा न्यायाधीश सिफारिस गर्नु आपत्ति जनक भएको र त्यसमा परिषद अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश श्रेष्ठको अनुचित स्वार्थ रहेको आरोप घिमिरेले लगाएका थिए ।

यही विषयलाई लिएर घिमिरेविरुद्ध अदालतको अपहेलना मुद्दा अगाडि बढाइएको हो । 

न्यायाधीश सिफारिस उपर टिप्पणी गर्दै बार अध्यक्ष घिमिरेले भनेका थिए, ‘अहिलेको बार गैरसंवैधानिक काममा कम्प्रमाइज गर्दैन । गैरन्यायिक काममा कम्प्रमाइज गर्दैन । आज मैले जति बोलेको छु नि प्रधानन्यायाधीशको खिलाफमा । सक्नुहुन्छ भने प्रधानन्यायाधीशज्यू, मलाई थुन्न मिल्छ तपाईंले थुन्नुस् । मलाई थुनेर तपाईंले गरेको गैरन्यायिक र गैरसंवैधानिक काम संवैधानिक हुन्छ भने थुन्नुस् । मेरो चुनौती हो । मैले त तपाईंलाई लेनदेनको आधारमा न्यायाधीश नियुक्ति गर्नुभयो भनेर भनिसकेँ । मैले त तपाईंलाई यो आफूले लिएको हिसाबकिताब मिलानका लागि न्यायाधीश नियुक्ति गर्नुभयो भनेर भनिसकेँ । सक्नुहुन्छ थुन्न भने थुन्नुस् ।’ 

घिमिरेको यो अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै सोमबार उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेको प्रतिवेदनका आधारमा सर्वोच्च प्रशासनले अवहेलना मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दाको सुनुवाई मंगलबार गर्ने भनिए पनि सारिएको छ । मंगलबार पेशी नै राखिएन ।

बिचको बाटोबाट समाधान निकाल्न प्रयास गरिरहेकाहरू अनौपचारिक रुपमा भएको संवादमा दुवै पक्ष एक कदम पछि हट्न तयार भएका छन् । यसकारण मंगलबार अवहेलना मुद्दा नराखिएको हो । अब यसको पेशी दसैँपछि कात्तिक एक गतेका लागि तोकिएको छ । 

नेपाल बारकी महासचिव अञ्जिता खनालका अनुसार विवादलाई समझदारीका आधारमा सम्बोधन गर्ने वातावरण बने आफूहरु संवादका लागि तयार रहेको बताउँछिन् । 

यही असोज २० गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अवकास पाउँदैछन् ।  त्यसपछि प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश हुँदै छन् । प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ पनि अगाडि बढेको छ । प्रधानन्यायाधीश फेरिएपछि परिस्थिति थप बदिलने भएकाले पनि दुवै पक्षको समझदारीमा पेशी कात्तिक एक गतेका लागि तय भएको बताइन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise