२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

डेडिकेटेड र ट्रंकलाइन विवाद : विद्युत प्राधिकरण र उद्योगी आमने-सामने

ADV
मध्यान्ह
२०८१ कार्तिक १२ गते ०६:४०
डेडिकेटेड र ट्रंकलाइन विवाद : विद्युत प्राधिकरण र उद्योगी आमने-सामने

काठमाडौं : डेडिकेटेड र ट्रंकलाइन विवादमा नेपाल विद्युत प्राधिकरण र उद्योगीहरू फेरि आमने सामने भएका छन् । 

प्राधिकरणले विद्युत् उपभोग गर्ने उद्योगीहरूले बिल तिर्न आनाकानी गरेको बताउँदै आएको छ । पछिल्लो समय किस्ताबन्दीको सुविधासहित तीन महिनाको समय दिँदा समेत महसुल नबुझाएको भनेर ३२ उद्योगको लाइन काटेको छ । 

प्राधिकरणले बक्यौता महसुल नबुझाएका ३२ वटा उद्योगको लाइन काटेपछि संचालकहरू विरोधमा उत्रिएका हुन् । उद्योगहरू निसर्त लाइन जोड्न दबाब दिइरहेका छन् भने प्राधिकरण बिना महसुल लाइन नजोड्ने अडानमा छ । 

उद्योगीहरूले पत्रकार सम्मेलन नै गरेर डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा रहेकाले विवाद समाधान नभइ लाइन काट्नु गलत भएको बताएका छन् । उनीहरूले प्राधिकरणलाई  बिजुली बालेको प्रमाण देखाउन चुनौती दिएका छन् ।

प्राधिकरणले विनाप्रमाण उद्योगको बिजुली लाइन काटेको उनीहरूको आरोप छ । उद्योगीहरूका अनसार लाइन काटिएपछि तीन दर्जन उद्योग बन्द भएका छन् । 

उद्योगी पशुपति मुरारका भन्छन्, ‘पैसा माग्न प्राधिकरणले प्रमाण दिनुपर्छ । कुन महिना कुन दिन हामीले बिजुली बालेको हो, त्यसको प्रमाण दिनुस् । लाल आयोगले भने अनुसार बिजुली प्रयोग गरेको रहेछ भने तिर्छौं । बिजुली बाल्ने अनि पैसा नतिर्ने भन्ने हुँदैन ।’ 

मुरारकाले ६ घण्टाभन्दा बढी लोडसेडिङ हुँदा २० घण्टाभन्दा बढी बिजुली प्रयोग गरेको भए प्रमाण दिइनुपर्ने बताएका छन् । 

बक्यौता बुझाउन बाँकी रहेका उद्योग सञ्चालकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । उद्योगीहरू ऊर्जा मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालय र संसदीय समितिसम्म पनि पुगिरहेका छन् । 

उद्योगीहरूले राजनीतिक लविङ गरेर दबाब सिर्जना गर्ने नीति लिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पत्रकार सम्मेलन गरेर प्रतिवाद गरेका छन् । 

घिसिङले मुलुक लोडसेडिङमा रहेका बेला डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने उद्योगीहरूले बिल तिर्न आनाकानी गरिरहेको आरोप लगाउँछन् ।  

बक्यौता रकम नउठाएकाले निर्देशकलाई कारबाही गर्नुपर्छ भन्ने समेतको आरोप लागेको छ । 

‘प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बाँकी बक्यौता रकम नउठाउने भनेका छैनौं’ प्रष्टीकरण दिँदै घिसिङ भन्छन्, ‘प्राधिकरणले उठाउन खोज्दा पटक–पटक माथिल्लो निकायबाट निर्देशन भएको अवस्था हो । अन्तिम पटक लाइन जोडेर सबैसँग छलफल गरौँ । तर उद्योगीहरू प्राधिकरणमा आउन भएन ।’ 

उनका अनुसार प्राधिकरणको अन्तिम विकल्प उद्योगको लाइन काट्ने हो । भन्छन्, ‘लाइन काटेका छौं । उद्योगले डेडिकेटेड र ट्रंकलाइनको २८ महिनाको बाँकी बक्यौता रकम नतिरेसम्म उद्योगहरूमा लाइन जोड्दैनौँ ।’ 

८ वटा उद्योगले बुझाए महसुल

नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको लाइन काट्नुअघि महसुल बुझाउन ९० दिनको समयसीमा दिएको थियो । तर, उद्योगीहरूले समय अवधिमा महसुल नतिरेपछि लाइन काटेको हो । 

प्राधिकरणले किस्ताबन्दीमा महसुल बुझाउनका लागि समय दिएको छ । यो सुविधाअनुसार ८ वटा उद्योगले विद्युत् महसुल बुझाएका छन् । महसुल बुझाएका उद्योगमा लाइन जोडिएको छ । 

प्राधिकरणका अनुसार पहिलो किस्ता बुझाएपछि हालै दुई उद्योगमा लाइन जोडिएको छ । 

बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि बुटवल वितरण केन्द्रअन्तर्गतका दुई उद्योगको विद्युत् लाइन जोडिएको हो । 

बुटवल वितरण केन्द्रअन्तर्गत रहेका जिबी टेक्टाइल र जिबी टेक्साइलले पहिलो किस्ताबापत क्रमशः ३५ लाख ३७ हजार रुपैयाँ र १४ लाख १२ हजार रुपैयाँ बुझाएपछि विद्युत् लाइन जोडिएको हो । 

तर, प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दिपक खड्काको दबाबका बाबजुद नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि गत शुक्रबार दुई उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएका हुन् । महसुल बुझाएका उद्योगमा लाइन जोडिएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise