२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

वन प्राविधिक संघ लुम्बिनीको ६ बुँदे घोषणापत्र सार्वजनिक

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ भदौ १८ गते २०:४८
Shares
वन प्राविधिक संघ लुम्बिनीको ६ बुँदे घोषणापत्र सार्वजनिक

रुकुम पूर्व : रुकुम पूर्वको भुमे गाउँपालिका–१ स्थित चुङ्गुरीखर्कमा सम्पन्न नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशको बैठकले ६ बुँदे चंगुरीखर्क घोषणापत्र सार्वजनिक गरेको छ । 

संघका पदाधिकारी, सल्लाहकार, सदस्य तथा स्थानीय समुदाय र सरोकारवालाको उपस्थितिमा सम्पन्न बैठक तथा अन्तरक्रिया कार्यक्रमपछि बैठकका निर्णय सार्वजनिक गर्दै घोषणापत्र सार्वजनिक गरिएको वन प्राविधिक संघ लुम्बिनीका अध्यक्ष केशव खड्काले जानकारी दिए ।

घोषणापत्रमा दिगो वन व्यवस्थापन कार्यक्रम कार्यान्वयन, उच्चतम प्रविधिको प्रयोग, लुम्बिनी प्रदेश वन परिषद गठन, वनक्षेत्रको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रक्रिया रोक्का, पेशागत एकता तथा इमान्दारितासहित पर्यटन प्रवद्र्धन गरी वन प्रशासन र व्यवस्थापनलाई पारदर्शी र प्रभावकारी बनाउन आह्वान गरिएको छ । घोषणापत्रमा लुम्बिनी प्रदेश वन परिषद गठनको आवश्यक पहल गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराइएको उल्लेख छ । 

लामो समयदेखि नेपाल वन प्राविधिक संघ केन्द्रीय कार्यसमितिले वन परिषद गठनको पहल गर्दै आए पनि सरकारले सुनुवाइ नगरेकोमा संघका पदाधिकारी तथा वन अधिकृतहरूले दुःख प्रकट गरेका छन् । संघले केन्द्रले तदारुकता नदेखाएको भन्दै लुम्बिनी प्रदेशले प्रदेशस्तरमै वन परिषद गठनका लागि कानूनी तथा संस्थागत संरचना निर्माणको पहल थालिएको अध्यक्ष खड्काले बताए ।

उनका अनुसार लुम्बिनी प्रदेशभित्र वन प्राविधिकहरूको पेशागत क्षमता अभिवृद्धि, पेशागत नियमन सुनिश्चित र समग्र वन क्षेत्रको दिगो व्यवस्थापनमा दीर्घकालीन योगदान पुगोस् भन्ने उद्देश्यले तत्काल वन परिषद गठन अपरिहार्य भएको छ । 

घोषणापत्रमार्फत संघले वन व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र दीर्घकालीन बनाउन सरोकारवाला सबैलाई सहकार्यका लागि आह्वान गरेको डिभान सदस्य राकेश कुँवरले जानकारी दिए ।

संघले समुद्री सतहदेखि करिब ४५ सय मिटरको उचाइमा रहेको चुंगुरीखर्क लेकमा बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा लुम्बिनी वन मन्त्रालयका सचिव प्रमोद भट्टराई, रुकुमका प्रमुख जिल्ला अधिकारी, विभिन्न जिल्लाका सिनियर डिभिजन वन अधिकृत, वन कर्मचारी तथा स्थानीय सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको वन प्राविधिक दिपक पाण्डेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर