तेह्रथुम : तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका–१ की किसान दीपा पौडेलको बारी र बगैँचामा मौसमी तथा बेमौसमी सागसब्जी बाह्रै महिना हेर्न पाइन्छ ।
आफूले लगाउने सागसब्जीमा उनी रासायनिक मल र विषादीको साटो कम्पोष्ट मल र जैविक विषादी प्रयोग गर्छिन् । दश रोपनी जग्गामा जैविक सागसब्जी उमार्दै आएकी उनले सागसब्जी बिक्रीबाट वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको बताउँछिन् । स्थानीय तीनजुरे महिला किसान समूहकी सचिव दीपा त्यस क्षेत्रकी जैविक सागसब्जी उत्पादक किसान हुन् ।
लालीगुराँस नगरपालिका–७ ओखरबोटे महिला किसान समूहकी अध्यक्ष मेनुका पोख्रेलले पनि उनीजस्तै सागसब्जीमा रासायनिक मल र विषादीको प्रयोग गर्दिनन् । यसैगरी लालीगुराँस नगरपालिका–३ की किसान गीता राईले पनि विगत पाँच वर्षदेखि रासायनिक मलबिना सागसब्जी फलाउँदै आइरहेकी छन् ।
रासायनिक मल प्रयोग नगर्दा उत्पादन केही कम भए पनि उपभोक्ताका लागि स्वस्थकर हुने भएकाले त्यसतर्फ बढी ध्यान दिएको कृषक गीता बताउँछिन् । दीपा र गीतामात्र होइन लालीगुराँस नगरपालिकाको वडा नम्बर १, ३ र ७ प्रयोग गरी सागसब्जी उत्पादन आएका छन् । रासायनिक मल प्रयोगकर्ता उनीहरूलाई पाँच वर्षअघि तेह्रथुममा क्रियाशील गैरसरकारी संस्था दलित सचेतना समाज (ड्यास) ले त्यसको प्रयोग बिना पनि खेती गर्न सकिने यथेष्ट जानकारीसँगै तालिम दिएपछि उनीहरू गाईभैँसीको गोबर र पत्करबाट बनेको मल प्रयोग गरी सागसब्जी उत्पादनतर्फ आकर्षित भएका हुन् ।