२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

बञ्चरेडाँडाको आयु बढाउँदै काठमाडौं महानगर

Nada
२०८१ कार्तिक १४ गते १६:०१
Shares
बञ्चरेडाँडाको आयु बढाउँदै काठमाडौं महानगर

काठमाडौंः काठमाडौं महानगरपालिकाले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ । सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहोरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी तयारी थालेको कामपा वातावरण विभागले जनाएको छ । 

ncell

स्रोतमा उत्पादन भएको फोहोरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्था गर्नेगरी तयारी थालिएको विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । उनका अनुसार बाँकी फोहोर व्यवस्थापनका लागि बोलपत्र आह्वानको काम भइसकेको छ । 

यसअघि कामपाको ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यको फोहोर निजी सङ्घसंस्थाले व्यवस्थापन गर्दै आएको थियो । अब सबै वडाको फोहोर व्यवस्थापनको काम कामपाले गर्ने प्रमुख राईले बताइन् । उनले भनिन्, ‘सङ्कलन, ढुवानी र विसर्जन सबै काम कामपाले गर्ने गरी तयारी थालेका छौँ ।’

कामपाले पुनः प्रयोग गर्न सकिने फोहोर सोही अनुसार व्यवस्था गर्ने, कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने तयारीसहित अत्यन्तै थोरै फोहोर मात्रै बञ्चरेडाँडा लैजाने योजना बनाएको हो । अहिले काठमाडौं उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिक टन फोहोर व्यवस्थापनको काम भइरहेको विभागले जनाएको छ ।  

साबिकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहोर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि अन्तिम फोहोर व्यवस्थापन स्थलका रुपमा बञ्चरेडाँडालाई प्रयोग गरिँदै आइएको छ । यसरी उपत्यकामा उत्पादन भएको सबै फोहोर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहोरको वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

सबै फोहोर लैजाने हो भने यसको अवधि १५ वर्षमा सकिने अनुमान गरिएकाले कामपाले स्रोतमा फोहोर वर्गीकरण गरेर घटाउने काम अघि बढाएको विभागका प्रमुख राईले उल्लेख गरिन् । ‘अहिले पुनः प्रयोग गर्न सकिने सामान, कुहेर मल हुने कच्चापदार्थ, उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहोर बनाएर पनि बञ्चरेडाँडामा पुग्ने गरेको छ । यसलाई रोक्न सके मात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिन्छ’, उनले भनिन् ।  

बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, फोहोरबाट ग्यास उत्पादन गर्नेलगायत काम गर्ने कामपाको तयारी छ । उपत्यकाका १८ स्थानीय तहको फोहोर दैनिक रुपमा उक्त स्थानमा लग्ने गरिएको छ । शुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोरको अन्तिम व्यवस्थापन काम हुँदै आएको हो । 

सम्बन्धित खबर