डोल्पा : हिमाली जिल्ला डोल्पामा जारी सर्वाधिक राशिको चौथो मेयर कप पालिकास्तरीय पुरुष खुला भलिबल प्रतियोगिताको फाइनलमा रुकुम पश्चिमका सानीभेरी र बाँफिकोट गाउँपालिका पुगेका छन् ।
बुधबार भएको सेमिफाइनल खेलमा यार्सा स्पोर्ट्स क्लब माझफाललाई सोझो सेटमा हराउँदै सानीभेरी फाइनलमा पुगेको हो । त्यस्तै त्रिपुरासुन्दरी ५, ६ को संयुक्त भलिबल टिमलाई हराउँदै बाँफिकोट फाइनल पुगेको हो । अब उपाधिका लागि बिहीबार सानीभेरी र बाँफिकोटबीच प्रतिस्पर्धा हुने छ ।
सानीभेरीलाई सायरा आयल स्टोर्सले प्रायोजन गरेको हो भने बाँफिकोटलाई कंकासुर भूमि कन्स्ट्रक्सनले प्रायोजन गरेको हो ।
त्यस्तै बुधबार नै तेस्रो स्थानका लागि भएको खेलमा यार्सा स्पोर्ट्स क्लब माझफालले त्रिपुरासुन्दरी ५, ६ को संयुक्त टोलीलाई पराजित गरी तेस्रो स्थान हासिल गरेको छ ।
कात्तिक १० गतेदेखि शुरु भएको प्रतियोगितामा जिल्लाभित्र र बाहिरका गरेर १९ भलिबल टिम सहभागी भएका थिए । प्रत्येक टिमलाई ४ समूहमा विभाजन गरिएको थियो ।
आयोजक त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हीराचन्द्र धरलाका अनुसार प्रथम हुने टिमले तीन लाख नगदसहित ट्रफी र मेडलसहित प्रमाणपत्र, द्वितीय हुनेले दुई लाख नगदसहित ट्रफी र मेडलसहित प्रमाणपत्र, तृतीय हुने तिमले १ लाख नगदसहित ट्रफी र मेडलसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी प्रतियोगितामा सान्त्वना हुने टिमले २० हजार नगद प्राप्त गर्ने छ ।
प्रतियोगितामा विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक त्रिपुरासुन्दरी नगरपालिकाले जानकारी दिएको छ ।