२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

लोप हुँदै पैसरु नाच

ADV
सुर्य प्रकाश बुढा मगर
२०८१ कार्तिक १७ गते ०८:०५
लोप हुँदै पैसरु नाच

रोल्पा : पुर्खादेखि मौलिक कला संस्कृति बोकेको पैसरु नाच पछिल्लो समय लोप हुँदै गएको छ । गाउँमा तिहारको रौनक शुरु भए पनि यतिबेला पैसरु नाच शून्य जस्तै भएको छ । दुई दशक पहिले दशैं तथा तिहारमा प्रत्येक गाउँमा पैसरु नाच हुने गर्थ्यो, तर अहिले शून्य भएको छ ।

दशै तथा तिहार आउँदा पैसरु नाचको धुनले गाउँघर नै गुञ्जायमान हुनथ्यो भने आज भोलि  पैसरु नाच दशैं तथा तिहारमा बिरलै देख्न सकिन्छ । मौलिक पैसरु नाचमा दमाह, ट्यामकी, झ्याली, दौरी, बासुरी र पैजन प्रयोग गरिन्छ । यो नाचमा अगुवा अर्थात नाचको प्रमुख व्यक्ति हुने गर्दछन् र अगुवाको तालमा पछाडिका  सबै जना गोलो घेरा भएर नाच्ने गरिन्छ । यस नाचमा कुनै पोसाक हुँदैन ।

पू्र्खाको मौलिक नाच भएको पैसरु नाच सरल, परम्परा, कला तथा संस्कृति बोकेको नाच भएकाले पुरुष जो कोहीले पनि मादल, झ्याली, दौरी, बासुरीको धुनमा खुट्टामा पैजन लगाएर नाच्छन् । एक/दुई दशक पहिले परापूर्वकालदेखि परम्परागतरूपमा लाग्ने मेलाहरुमा गाउँ-गाउँबाट पैसरु नाच लिएर जाने चलन थियो, जसलाई थला भनेर पनि भनिन्छ । थलामा सहभागी भएका गाउँका सबै मानिस बस्ने र नाच्ने गर्दछन् । अहिले पनि मेला महोत्सव कार्यक्रममा पैसरु नाच लग्ने गरिन्छ तर अहिलेको मेला महोत्सवमा एक/दुई समूह पैसरु नाच मात्र हुन्छन् ।

पैसरु नाच लोप हुँदै जाँदा नागरिक समाज, बुद्धिजीवी,जानकार व्यक्तिहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । पैसरु नाचलाई जीवित राख्नु सबैको दायित्व भएको परिवर्तन गाउँपालिका लोपोन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठानका अध्यक्ष लालबहादुर घर्ती मगर बताउँछन् । उनले पैसरु नाच खाम भाषाबाट उत्पति भएको बताउँदै पै भनेको "पोसी" र सेरु भनेको "गोलो आकार" रहेको र पोसीको बीचमा गोलो आकार भएर नाच्ने"नाच पैसेरु नाच भएको बताए ।

पूर्खाको मौलिक, कला र संस्कृति बोकेकोले सबै मिलेर पूर्खाको सम्पत्तिको अस्तित्व बचाउनुपर्ने बताए । पैसरु नाच पछिल्लो समयको पुस्ताहरुमा रुपान्तरण र हस्तान्तरण हुन नसक्नुको कारण लोपोन्मुख अवस्थामा पुगेको जानकार व्यक्तिहरुले बताएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise