लहान : सिरहाको गोलबजारस्थित कुशवाहा धर्मशालामा नेपाल कुशवाहा कल्याण समाज, जिल्ला कार्यसमितिले दिपावली तथा छठ पर्वको शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा समाजका विभिन्न सामाजिक, शैक्षिक, तथा व्यावसायिक क्षेत्रका सयौं सफल व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
समारोहको अध्यक्षता समाजका जिल्ला अध्यक्ष धनपति महतोले गरेका थिए भने प्रमुख अतिथि शत्रुधन महतो थिए । अन्य अतिथिहरूमा वरिष्ठ उपाध्यक्ष कपिलदेव महतो, महासचिव दुर्गा प्रसाद महतोका साथै कुशवाहा समुदायका प्रमुख नेताहरूको उपस्थिति रहेको थियो ।
जिल्ला अध्यक्ष धनपति महतोले समुदायको एकता र सहकार्यको महत्वलाई जोड दिंदै भने, "कुशवाहा समाजको उत्थानका लागि यस्ता कार्यक्रमहरू आवश्यक छन् । हामी सबै मिलेर समुदायको उन्नति र सशक्तिकरणमा योगदान पुर्याउनुपर्छ ।"
प्रमुख अतिथि शत्रुधन महतोले समुदायमा विभेद हटाउन र सहकार्यको भावना बढाउनुपर्नेमा जोड दिए । “समस्यामा रहेका कुशवाहा समुदायलाई सहयोग र एकताको माध्यमबाट सहयोग गर्न सबैलाई प्रेरित गर्नुपर्छ," उनले भने ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो । महासचिव दुर्गा प्रसाद महतोले कुशवाहा समाजको उत्थानका लागि आयोजक समितिले गरेका प्रयासहरूबारे चर्चा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरूको आवश्यकता औंल्याए ।
कार्यक्रमको समापनमा उपस्थित व्यक्तिहरूले हात मिलाएर एकताको प्रतीक प्रस्तुत गरे । आयोजक समितिले आगामी दिनमा पनि कुशवाहा समुदायको हितका लागि निरन्तर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्मान कार्यक्रमले सिरहामा कुशवाहा समुदायको एकता र सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।