२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

लोप हुँदै मयुर नाच

ADV
सुर्य प्रकाश बुढा मगर
२०८१ कार्तिक १८ गते १०:०२
लोप हुँदै मयुर नाच

रोल्पा : पछिल्लो समय मयुर नाच बिरलै मात्रामा देख्न सकिन्छ । पहिले पहिले रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान र रोल्पाको पश्चिमी भेगमा मयुर नाच हुने गर्दथ्यो, तर पछिल्लो समय मयुर नाच धेरै ठाउँमा लोपोन्मुख अवस्थामा पुगिसकेको जानकार तथा  बुद्धिजीवीहरु बताउँछन् ।

एक दुई दशक पहिले दशै तथा तिहारमा मयुर नाचले गाउँ घरमा निकै रौनकता छाउने गरेकेो थियो, तर अहिले गाउँ घरमा मयुर नाच प्राय: सुनसान अवस्थामा छ र कमै मात्रामा एक/दुई गाउँ ठाउँमा मात्र यो नाच नाच्ने गरिएको पाइन्छ। तिहारको रौनक चलिरहँदा समेत अहिले मयुर नाच कहिँ पनि देखिएको छैन ।

No description available.

परापूर्वकालदेखि लठ्ठी खेल्ने अर्थात हाता खेल्ने प्रचलन थियो भने पछी गएर यही नाच एउटै सुरताल अनि एकै प्रकारको लयमा नाच्ने मयुर नाच बन्न पुग्यो । मयुर नाच पाउमा नियोर र हातमा लठ्ठी लिएर नाच्ने गरिन्छ जसमा ९ जना पुरुष र ९ जना महिला गरि १८ जनाको समूह बनाएर नाच्ने गरिन्छ भने कुनै समूहमा बढीमा १२ जना पुरुष र १२ जना महिला गरि २४ जनाको समूह हुने गर्दछ। मादल, दौरी, मुरली र क्यासिनोको धुनमा शुरु हुने मयुर नाचको महत्त्वपूर्ण बाजा मादल र दौरीलाई लिन सकिन्छ ।

समूह अगुवाले सिठ्ठीको माध्यमबाट निर्देश गर्ने यो नृत्य बाजाको धुनसँगै अगाडि बढ्ने गर्छ । मयुरको मजुरबाट निर्मित सामग्रीलाई गड्का समेत भनिन्छ । चिटिक्क परेको ड्रेससँगै गड्का लगाएर नाच्दा सॉच्चै नै मयुर नाचेको जस्तो देखिन्छ मयुर नाच। जसमा मयुर जस्तै नाच्दै १ / १ हात गर्दै २२ हातसम्म नृत्य गर्दै नर्तक नर्तकीहरु पुग्छन।२०६५ देखि २०६८/०६९ साल तिरसम्म रोल्पा पश्चिमका विभिन्न ठाउँमा मयुर नाच सिक्ने र नचाउने नाच्नेको होडबाजी नै चलेको थियो । रोल्पामा पनि नृत्य भित्र्याउन छिमेकी जिल्ला सल्यान र रुकुम पश्चिमबाट मयुर नाच्ने र बाजा बजाउने मानिस ल्याएर सिक्ने सिकाउने गरिन्थ्यो ।

उतिबेला राँक, भाबाङ, तालाबाङ, इरिबाङ, राङ्सी, राङ्कोट, कुरेली, पाछाबाङ, कोर्चाबाङ लगायत गाविसको विभिन्न गाउँ/गाउँमा मयुर नाचको सुरुवात गर्ने प्रतिस्पर्धा नै चलेको थियो । दशै, तिहारमा गाउँ/गाउँमा नृत्य देखाउने र दान समेत संकलन गर्ने गरिन्थ्यो ।

No description available.

कम्तिमा पनि एक लाखदेखि करिब पाँच लाख रुपैसॉसम्म दान स्वरुप जम्मा गरेको पाइन्थ्यो । त्यतिमात्र नभएर परापूर्वकाल देखि परम्परागत रुपमा लाग्दै आएका मेलामा समेत मयुर नाच समूहको बाक्लो उपस्थिति हुने गर्दथ्यो र मेलामा सहभागी हुने दर्शकहरुको आकर्षण बन्ने गरेको थियो मयुर नाच । तर पछिल्लो समय कमै मात्रामा मात्र मयुर नाच देख्न सकिन्छ। अहिले धेरै गाउँ ठाउँमा मयुर नाच लोप भैसकेको छ।

पहिले धेरै गाउँ/ठाउँमा नाच्दै आएको मयुर नाच पछिल्लो समय लोप हुँदै गएको  स्थानीय बताउँछन् । परिवर्तन गाउँपालिकाको इरिबाङ, कुरेली, राङ्सी लगायतमा लोप भएका छन भने राङ्कोट, पाछाबाङ्मा, कोर्चाबाङ, राँक लगायतका एक दुई गाउँमा अझै पनि मयुर नाच रहेको पाइएको छ।

त्यस्तै तालाबाङ, भाबाङ, राँक र चुनबाङका एक दुई गाउँमा समेत मयुर नाच रहेको बताइएको छ । लोपोन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठान परिवर्तन गाउँपालिकाका संयोजक लालबहादुर घर्तीमगरले मयुर नाच लोप हुँदै जानुमा अहिलेको पुस्ताल् ध्यान नदिनु मुख्य कारण भएको बताए ।

“हामीले हाम्रा पूर्खादेखि मान्दै आएका रितीरिवाज, भाषा, कला, संस्कृतिलाई संरक्षण गर्नुपर्ने अहिलेको आवश्यकता देखिन्छ”संयोजक घर्तीले भने, “हामीले कला संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्दा अहिलेका युवा पुस्ताले ध्यान, चासो नदिइ बेवास्ता गरेको पाउछौं ।” उनले पूर्खाको कला यो हो र यो रहेछ भनेर बुझ्नु अहिलेको आवश्यकता रहेको र पूर्खाहरुको विभिन्न भाषा, कला, संस्कृतिको विकास गर्न राज्यले पनि ध्यान दिनुपर्ने बताए । अहिले मयुर नाच मात्र नभएर अन्य पुराना कला, संस्कृतिसमेत लोपोन्मुख अवस्थामा पुगेको उल्लेख गर्दै संयोजक घर्तीले पैसरु नाच, साइला बरै भाका, सिङ्गारुलगायत लोपोन्मुख अवस्थामा पुगेका संस्कृति र पहिचानलाई जोगाएर आगामी पुस्तालाई हस्तान्तरण गरिनु पर्नेमा जोड दिए । 

No description available.

बदलिँदो परिस्थिति, परिवर्तनशिल समय र आधुनिकताको विकाससँगै अहिलेका युवा पुस्ताले आफ्ना पूर्खा र परम्परादेखि चल्दै आएका भेषभुषा, रितिरिवाज, भाषा, कला, संस्कृति छोड्दै बिर्संदै गएका छन् । 

देशमा रोजगारी सिर्जना नभएको कारण पनि युवाहरू रोजगारी खोज्ने सिलसिलामा विदेश पलायन हुनुले कला, संस्कृति ओझेलमा पर्ने संकेत चुलिएको महशुस गर्न सकिन्छ । अहिले मयुर नाचमा पनि नाच्ने र बाजा बजाउने मानिस नभएपछी कसरी पछिल्लो पुस्ताले आत्मसात गर्न सक्छन् र त्यसैले रोल्पा जिल्लाको विभिन्न भाषा, कला, संस्कृतिमध्येको एक मयुर नाचलाई संरक्षण गर्न विभिन्न संघ-संस्था, बुद्धिजीवी, विभिन्न क्रियाशिल राजनीतिक दलहरु, प्रदेश र स्थानीय सरकार लगायत सबैको दायित्व र भूमिका अपरिहार्य देखिन्छ।

ADVADV

सम्बन्धित खबर

Advertise