२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

तीन दशकदेखि बद्‍नामी चर्चा

ADV
जानकी पाठक
२०८१ कार्तिक २८ गते ०७:४९
तीन दशकदेखि बद्‍नामी चर्चा

काठमाडौं : गण्डकी प्रदेशका सांसद राजिब गुरूङ अर्थात् दीपक मनाङे जेल चलान भएका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतबाट यही कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगको कसुरमा दोषी ठहर भएका थिए । उच्च अदालतबाट फैसला भएर आएको यो कसूर सदर भएपछि मनाङे पक्राउ परेका हुन् । 

फैसला कार्यान्वयनका लागि सीआईबीको टोलीले मनाङेलाई पक्राउ गरेको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । मनाङे २० वर्ष अगाडिको घटनामा दोषी ठहर भएका हुन् । २०६१ मा मिलन चक्रेमाथि भएको आक्रमणको मुद्दामा तत्कालीन पुनरावेदन अदालत, पाटनले ५ वर्ष कैद सजाय सुनाएको थियो । त्यसबेला मनाङले आत्मसमर्पण गरेका थिए । 

सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत पाटन) को फैसलालाई सदर गरेपछि यो मुद्दा टुंगिएको हो । यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका छन् । त्यो अवधि घटाएर बाँकी अवधि उनी जेल बस्नुपर्ने हुन्छ ।  

२०७४ मा मनाङ (ख) मा नेकपा एमालेको समर्थनमा स्वतन्त्र सांसद जितेपछि पनि मनाङे यही मुद्दामा जेल गएका थिए । त्यसबेला १४ महिना जेल बसेपछि १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार छुटेका थिए । २०५० साल यता गुण्डा नाइके र राजनीति दुवैमा दीपक मनाङे कुनै न कुनै रुपमा सत्तासँग पौठेँजोरी खेलिरहे । गुण्डागर्दीको समयमा सरकारको टाउको दुखाइ बनिरहे । 

राजनीतिमा आएपछि गण्डकी प्रदेश सरकार बनाउन र गिराउन लागिरहे । २०७४ प्रदेश सभा सदस्य जितेपछि पनि जेल गएर छुटेका मनाङेले यो अवधिमा राजनीतिको राम्रो स्वाद चाखे । निर्वाचन जितेको र जेल बाहिर रहेर समेत मुद्दा लड्न पाउने कानूनी आधार देखाएर २०७५ पुस ६ गते मनाङेलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले नै आदेश दिएको थियो । सर्वोच्चको आदेशले छुटेका उनी सर्वोच्चकै आदेशले पुनः जेल फर्किएका हुन् ।

कैदमुक्त भएपछि दुईपटक गण्डकी प्रदेश सांसदमा निर्वाचित मनाङे ६ पटक मन्त्री बने । प्रत्येक सरकार बन्नमा उनको निर्णय महत्वपूर्ण थियो । किनभने प्रत्येक सरकार बनाउन र गिराउन उनको एक मत निर्णायक रहन पुगेको थियो । 

२०७८ वैशाख १६ गते मनाङे पहिलोपटक मन्त्री बनेका थिए । उनी युवा तथा खेलकुद मन्त्री बनेका थिए । तर उनलाई मन्त्री बनाएका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने विश्वासको मत पाउन सकेनन् । 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा फुटेपछि गण्डकी सरकार अल्पमतमा पर्‍यो । गुरुङले विश्वासको मत नपाए पनि संसद्को ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री बने । २०७९ वैशाख २९ गते मुख्यमन्त्री बनेपछि गुरुङले मन्त्रीमा मनाङेलाई दोहो¥याए । तर गुरुङले दोस्रो पटक विश्वासको मत नलिँदै मनाङेले कित्ता फेरे  । गुरुङको सरकार ढलेर बनेको कांग्रेसका कृष्णचन्द्र नेपालीका पक्षमा उभिए । नेपाली मुख्यमन्त्री बनेपछि मनाङे युवा तथा खेलकुद मन्त्री बने ।

२०७९ को निर्वाचनमा मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भए ।

एमालेका खगराज अधिकारीको नेतृत्वमा गठित प्रदेश सरकारमा मनाङे मन्त्री बने । मनाङे भौतिक पुर्वाधार मन्त्री बने । अधिकारी नेतृत्वको सरकार ढलेर कांग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री बने । उक्त सरकारको पक्षमा उभिएपछि मनाङे फेरि भौतिक पूर्वाधार मन्त्री बने । 

गत गत असार १७ गते कांग्रेस र एमालेले संयुक्त सरकार बनाएपछि मनाङेको आवश्यकता परेन । एमाले र कांग्रेसको संयुक्त सरकारमा समेत वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउँदा लत्याएर अगाडि बढेका मनाङे अन्तत जेल पुगेका हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise