काठमाडौं : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका एजेन्डाहरूको प्रारम्भिक मस्यौदा तयार पारेको छ । परराष्ट्र मन्त्रालयका अनुसार तयार मस्यौदालाई चिनियाँ सरकारसँग समन्वय औपचारिकता दिइने छ ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले बनाएको २ दलीय संयन्त्रले समेत भ्रमणका एजेन्डाबारे गृहकार्य गरिरहेको छ । भ्रमणलाई प्रभावकारी बनाउन परराष्ट्रमन्त्री आरजु राणा मंसिर दोस्रो साता नै चीन जाने तरखरमा छन् । राणाका अनुसार दिनहुँजसो प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डाबारे छलफल चलिरहेको छ ।
प्रधानमन्त्री ओलीले चौथो कार्यकालको पहिलो औपचारिक विदेश भ्रमण चीनबाट गर्ने तयारी हुँदै गर्दा सरकारले एजेन्डाको प्रारम्भिक मस्र्याैदा नै बनाएर छलफल अगाडि बढाएको हो । प्रधानमन्त्री ओली नोभेम्बरको अन्तिम साता चीन भ्रमणमा जाने तय भएको छ ।
नेपाल र चीनबीच यसअघि पटकपटक भएका धेरै सम्झौता तथा समझदारी कार्यान्वयन भएका छैनन् । सम्झौता तथा समझदारी भएका तर कार्यान्वयन नभएका विषयहरूको सूची नै तयार पारिएको छ, जसलाई अगाडि बढाउनुपर्ने नेपालको प्रस्ताव छ ।
सन् २०१८ मा प्रधानमन्त्रीकै रूपमा ओली बेइजिङ जाँदा चीनतर्फका ८ वटा नाका सञ्चालनमा ल्याउने सहमति भएको थियो । तर, अहिलेसम्म रसुवा र तातोपानी मात्र सञ्चालनमा छन् । चिनियाँ सहयोगमा रेलमार्ग निर्माण, सार्वजनिक संस्थान सुधार, राष्ट्रिय योजना आयोगको क्षमता वृद्धि र लगानीसम्बन्धी सम्झौता गरिए पनि यसमा प्रगति भएको छैन ।
चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणका क्रममा कनेक्टिभिटी बढाउने र धेरै नाका सञ्चालन गर्ने सहमति भएको थियो । तर, केरुङ–काठमाडौं रेलमार्ग निर्माण, सडक, हवाई र सञ्चार सम्पर्क व्यापक बनाउनेलगायतका सम्झौता ५ वर्षसम्म पनि कार्यान्वयनमा गएका छैनन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको २०७६ सालमा भएको चीन भ्रमणका क्रममा पनि बीआरआई कार्यान्वयन गर्नेदेखि शिक्षा क्षेत्रमा चीनले सहयोग बढाउने सहमति भएको थियो । तर, बीआरआई कार्यान्वयनमा गएको छैन । यी विषयलाई नै अगाडि बढाउने सरकारको तयारी छ ।
परराष्ट्र मन्त्रालयका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका बेला लिएको ऋणलाई अनुदानमा रुपान्तरण गर्न चीन सरकारसँग आग्रह गर्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ । नयाँ विषय भन्दा पनि पुरानै सम्झौतालाई कार्यान्वयनमा जोड दिने गरी भ्रमणका एजेन्डाको मस्यौदा तय गरिएका हुन् ।
प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डाका विषयमा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले समेत चासो देखाएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे बैठक बोलाएको समिति सचिवालयले जनाएको छ ।