काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा लोकतन्त्रको अभ्यासमा व्यवहारगत रूपमा केही न केही समस्या हुन पुगेको बताउँछन् । तर समस्या स्वीकारेर जिम्मेवारी लिन कोही न कोही तयार हनुपर्ने उनको आग्रह छ ।
‘लोकतन्त्र दोबाटोमा पुर्याएको जिम्मेवारी शेरबहादुर देउवाले लिनु हुन्न, केपी ओलीले लिनुहुन्न र प्रचण्डले पनि लिनुहुन्न भने म जिम्मा लिन्छु । कसै न कसैले त जिम्मा लिनुपर्यो’, गत कात्तिक २८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने । लोकतन्त्रको अभ्यासमा व्ययहारगत समस्या छ भन्ने स्वीकार गरे मात्र व्यवस्था र शासन प्रणाली सुधार गर्न सकिने उनको मत छ । अघिल्लो पुस्ता यसका लागि तयार नभए आफू तयार रहेको महामन्त्री थापाको सन्देश छ ।
थापा २०६२/०६३ सालको आन्दोलनसँगै उदाएका नेता हुन् । उनी कांग्रेसको नेतृत्व गर्दै मुलुकको नेतृत्व गर्ने ध्याउन्नमा छन् । तर अघिल्लो पुस्ता बाधक बन्ने हो कि भन्ने चिन्ताका बीच उनले समस्याको समेत जिम्मेवारी लिन तयार रहेको बताएका हुन् ।
पार्टी नेतृत्वमा पुग्न थापाले यसअघि पार्टी संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरे । ६ पुस २०७९ मा भएको संसदीय दलको नेताको निर्वाचनमा चौथो पटक सांसदमा निर्वाचित भएका थापा ५ पटक प्रधानमन्त्री भइसकेका ७८ वर्षीय पार्टी सभापति देउवासँग पराजित भएका थिए ।
छैटौँ पटक सरकारको नेतृत्व गर्ने आकांक्षा देखाएका देउवालाई पार्टीले संसदीय दलको नेता चुनेपछि कतिपयले राजनीतिमा युवालाई अगाडि ल्याउने अवसरमा क्षति पुगेको टिप्पणी गरे । तर महामन्त्री थापाले जतिको पहल समेत लिन नसकेको भनेर अन्य पार्टीमा रहेका दोस्रो पुस्ताका नेताहरूको अलोचना पनि गरे ।
कांग्रेसमै महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा एमालेमा योगेश भट्टराई, ठाकुर गैरेलगायतका नेताहरू, एकीकृत समाजवादीका घनश्याम भुसाल, रामकुमारी झाँक्री, नेकपा माओवादी केन्द्रमा लेखनाथ न्यौपाने, माधव सापकोटा, हिमाल शर्मा लगायत नेताहरूले अघिल्लो पुस्तासँग अपेक्षित जिम्मेवारी लिन सकिरहेका छैनन् । यी नेताहरूको राजनीति असमझदारी, निराशा र अघिल्लो पुस्ताका नेताको विश्वासपात्र हुने प्रयासमा सीमित अवसरको बीचमा फसेको देखिन्छ ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल राजनीतिक क्रान्ति पूरा भयो भनिरहेका छन् तर अगाडि बढ्ने राजनीतिक कदममा निर्णायक जिम्मेवारी लिन सकिरहेका छैनन् ।
झाँक्री नेपाली विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेकी नेतृ हुन् । बोल्नमा प्रखर, संगठनात्मक रूपमा बलियो र देशको राजनीतिक परिवर्तनका लागि ज्यान दिएर लागेकी झाँक्री पार्टीमा जिम्मेवारीविहीन जस्तै छन् । एकीकृत समाजवादीमा उपाध्यक्षको चुनाव हारेपछि उनी निराश देखिन्छिन् ।
विभिन्न संचारमाध्यमहरूमा अन्तर्वार्ता दिँदा उनी आत्मविश्लेषण गरिरहेकी हुन्छिन् । एक पटक मन्त्री बनेकी उनी अहिले न दलमा प्रभावकारी छन्, न युवा राजनीतिमा बलियो उपस्थिति छ ।
एमालेका योगेश भट्टराईको राजनीतिक अन्योल उस्तै छ । एमालेभित्रै विद्रोही देखिने भट्टराई पार्टी फुटेर एकीकत समाजवादी बन्नु अगाडि १० बुँदे सहमतिमार्फत एमालेमै बसेका थिए । तर त्यो निर्णयले पनि उनलाई एमालेमा महत्त्वपूर्ण जिम्मेवारी दिलाउन सकेन ।
युवाहरूको नजरमा भट्टराई पुरानो दलको प्रतिनिधि पात्र बनेका छन्, जसलाई परिवर्तन चाहने नयाँ शक्तिले आलोचना गरिरहेको छ । अवसरका हिसाबले एक पटक मन्त्री भएका भट्टराई अहिले गालीको सिकार भएका छन् । भट्टराई भने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फकाएर पार्टीभित्रको आफूले अवसर नपाएको क्षति न्यूनीकरण गर्ने प्रयासमा छन् तर यसमा पनि सफल हुन सकिरहेका छैनन् ।
यी नेताहरू प्रतिनिधि पात्र हुन्, जसलाई नयाँ शक्ति र युवाहरूले पुराना शक्तिको पात्रका रूपमा लिएर आलोचना गर्छन् । स्वयं नेताहरू पनि हिम्मत लिन सकिरहेका छैनन् । बूढा नेताहरू पनि जिम्मेवारी वहनका लागि युवालाई विश्वास गर्न सकिरहेका देखिँदैनन् ।
कांग्रेस नेता गुरुराज घिमिरे युवाहरू राजनीतिमा स्थापित हुन् भन्ने जनचाहना रहेको बताउँछन् । तर यसका लागि युवाहरूको अग्रसरतामा समेत कमी रहेको बताउँछन् उनी ।
‘बूढाहरू खाइपाई आएको सुविधा गुमाउन चाहँदैनन् । उनीहरूभन्दा राम्रो गर्छु भन्नेले त्यो स्थापित गर्न सक्नुपर्छ’, घिमिरे थप्छन्, ‘अहिले योभन्दा दुखद् पक्ष केही होइन । राष्ट्रप्रति जिम्मवारी र कर्तव्य बिर्सिएपछि यस्तै अवस्था सिर्जना हुन्छ, जुन अवस्था हामीले भोगिरहेका छौं ।’