काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार आफैं कुलपति रहेको त्रिभुवन विश्वविद्यालयको साधारणसभामा रक्षात्मक भए । सभामा विभिन्न १२ बुँदे प्रस्ताव पेस भएको थियो । त्यसमध्ये ११ बुँदा पास भयो भने एउटा बुँदा कुलपति प्रधानमन्त्रीको आग्रहमा स्थगन भएको छ । तर, ती बुँदाहरूमाथि सभामा छलफल हुँदा विभिन्न कोणबाट कुलपति ओली प्रश्नको घेरामा परे ।
जतिबेला सभाहलमा त्रिभुवन विश्वविद्यालयको साधारणसभाका सदस्यहरू कुलपतिमाथि प्रश्नले खनिइरहेका थिए, त्यति नै बेला बाहिर विद्यार्थी र कर्मचारीहरू प्रधानमन्त्री केपी शर्मा ओलीउपर नाराबाजी गरिरहेका थिए ।
सभा बस्नुभन्दा १५ दिन अगाडि सम्पूर्ण सदस्यहरूलाई बैठकमा पेस हुने एजेन्डाबारे दिनुपर्ने जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ । तर, बिहीबार सदस्यहरूले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा १० बजे मात्र एजेन्डाहरू पाए । यसैमा सभाका सदस्यहरू आक्रोशित भए ।
सभा बस्नु अघिल्लो दिन प्रि–सिनेट बस्नुपर्ने त्रिविको प्रावधान छ । तर, बुधबार प्रि–सिनेट बसेको थिएन । प्रि–सिनेट बसेर एजेन्डाहरूमाथि व्यापक छलफल गर्नुपर्नेमा किन सभामा सिधै प्रस्तावहरू ल्याएको भनेर पनिप्रश्न उठे ।
एजेन्डाहरूमाथि पहिला हुनुपर्ने विधिनामान्ने हो भने अरूलाई कसरी विधि सक्ने र विधिकार्यान्वयन गराउने भनेर उनीहरूले कुलपतिलाई प्रश्न गरे ।
आक्रोशित सभाका सदस्यहरूलाई सम्बोधन गर्दै कुलपति ओलीले आवेश र उत्तेजनामा नआउन आग्रह गरे ।
‘आफ्नातर्कहरू राखौं । छाड्ने, उठेर हिँड्ने कुरा नगरौं, यस्तो भएन भने नत्र भन्ने शैली नगरौं’,कुलपति ओलीले सम्झाउन खोजे । विचारको सहीपना, विचारको गम्भीरता आफूले बुझिराखेको उल्लेख गर्दै कुलपति ओलीले सभामा बस्न सकिँदैन भन्नेतिर नलाग्न आग्रह गरे ।
‘मैले कुलपतिबाट राजीनामा दिएँ भने अर्को आउँछ । मेरो कारण रोकिने वाला त होइन । त्यसैले यस्ता कुरा नगरौं’,ओलीले सभाका सदस्यहरूलाई सम्झाउँदै भने ।
उस्तै गरी त्रिवि सभा हल बाहिर नाराबाजी चलिरहको थियो । सुरक्षाका लागि सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति थियो । त्रिविको बिहीबारको दृश्यले कुलपति त्रिविमै रक्षात्मक रहेका देखाउँथ्यो ।