२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

कर्मचारी नेताहरूको एकै स्वर : ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’

hardik ivf
जानकी पाठक
२०८१ पुष २७ गते ०६:४०
कर्मचारी नेताहरूको एकै स्वर : ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’

काठमाडौं : कर्मचारीका नेताहरूले ट्रेड युनियनको दायरा फराकिलो बनाउने प्रस्ताव गरेका छन् । निजामती कर्मचारीमा ट्रेड युनियनको दायरा खुम्च्याएर एउटा मात्र आधिकारिक ट्रेड युनियन राखिनुपर्ने बहस चलिरहेका बेला कर्मचारीका नेताहरूले भने ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’ भन्ने स्लोगन नै प्रस्ताव गरेका छन् । अर्थात्, कर्मचारीका नेताहरूले ३ वटै तहका सरकार र जिल्लामा समेत ट्रेड युनियनको संरचना हुनुपर्ने बताएका हुन् । 

संघीय निजामती कर्मचारीसम्बन्धी विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा छ । विधेयकमाथि राय लिन शुक्रबार समितिले कर्मचारी संघसंगठनका नेतृत्वलाई छलफलमा बोलाएको थियो । छलफलमा भाग लिने नेताहरूले ट्रेड युनियन अधिकार संवैधानिक अधिकार रहेको ख्याल गर्न सुझाए ।

दलीय ट्रेड युनियन नभनी राष्ट्रिय स्तरको ट्रेड युनियन भन्न पनि उनीहरूको आग्रह छ ।

सत्तारूढ दल नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले कर्मचारीले गलत गरेको रहेछ भने गलत गरेको हदसम्म कारबाही भोग्नुपर्ने बताए । गलत गरेकालाई कारबाही हुनुपर्छ भन्नेमा आफूहरू प्रस्ट रहेको उल्लेख गर्दै उनले यसलाई देखाएर ट्रेड युनियन अधिकारबारे बहस नगर्न आग्रह गरे ।

‘ट्रेड युनियन अधिकार एक इन्च पनि तलमाथि गर्न सकिँदैन । अन्यथा, हामीसँग बन्द हडतालसहितको अधिकार छ । यतातिर पुग्न नपरोस्’, अध्यक्ष पोखरेलले भने ।

संवैधानिक अधिकार खोस्ने बहस नगर्न उनको आग्रह छ । ‘दलीय ट्रेड युनियन भनेर जे बहस गर्नुभएको छ, यो बेमौसमको बाजा हो । ट्रेड युनियन संवैधानिक अधिकार भएकाले कतै यस्तो बहस संविधानको बर्खिलाप छ कि !’, सांसदहरूलाई यस विषयमा ख्याल गर्न अध्यक्ष पोखरेलको आग्रह छ ।

नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले ट्रेड युनियन अधिकार अहिले जे छ, त्यसले नै निरन्तरता पाउनुपर्ने बताए । विगतमा राजनीतिक आन्दोलनमा समेत कर्मचारीको सहभागिता रहेको स्मरण गर्दै उनले भने, ‘ट्रेड युनियन अधिकार खारेज गर्ने बहस नगरेकै राम्रो हुन्छ ।’

तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नै कर्मचारी ट्रेड युनियनलाई बन्द हडतालसम्मको अधिकार रहेको बताएको उनले स्मरण गरे । उनले पनि समितिको बैठकमा चेतावनी दिँदै भने, ‘हामी चाहन्छौं– बन्द हडतालसम्म पुग्न नपरोस् ।’

नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले कर्मचारी सरुवालाई लिएर कर्मचारी ट्रेड युनियनको बदनाम हुने गरेको गुनासो गरे । तर, यसको कारण अन्तै रहेको भन्ने बुझ्न आवश्यक रहेको उनको भनाइ छ । 

कर्मचारी ट्रेड युनियनलाई सुशासनसँग समेत जोडेर टिप्पणी हुने गरेको भनेर उनले असन्तुष्टि जनाए । ‘सुशासन कायम हुन्छ भनेर यसको जिम्मा कसले लिन्छ ? कसैले लिन्छ भने हामी ट्रेड युनियन खारेज गर्ने बहस गर्न तयार छौं’, उनले भने ।

ट्रेड युनियनलाई व्यवस्थित गर्न सकिने तर आफ्नो हक हितका लागि कर्मचारीले ट्रेड युनियन रहनै नपाउने भन्न नमिल्ने उनको तर्क छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise