– हरिकुमार श्रेष्ठ
उफ !
कस्तो सन्नाटाले छाएको रात
चल्दैछ अन्धकारको राज यहाँ
ढाकेर घर, आँगन
गाऊँ बस्ति र सहरलाई
विशाल सुन्दर प्रकृति र नभलाई
अनि हाम्रा इच्छा, चाहना र रहरलाई ।
यो सहरबाट
जोस–जाँगरका बत्तीहरू बिलाइरहेका छन् आज
राँकेजुलुसहरू अस्ताइरहेका छन् आज
कोणसभाहरू रित्तिइरहेका छन् आज
बाध्यता !
उदीप्त छन् आज तिनीहरू
मरूभूमिमा बालुवा चम्काउन
सुन्दर बस्ति र बगैँचा मस्काउन ।
देखिँदैन आज
यी चकमन्न सहरहरूमा
असारे र गलैँचीका रूपहरू
पारिजात र जयन्तीका मुजुराहरू
सिर्जना रमाउँदै डुलिरहेको
विकास फक्रँदै फुलिरहेको ।
तर
प्रकाशमा जोश जाँगरको
भकारी रित्तिएको छैन
उ रन्थनिँदै हिँड्दैछ निरन्तर
स्वयम्भू बनी यो गाऊँ सहरमा
होस्तेमा हैंसेको आशा बोकी
अँध्यारो चिर्दै उज्यालो छर्नतिर ।
काठमाडौं : हेम सरिता पाठक फाउन्डेशनले आयोजना गरेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका उत्कृष्ट २५ सार्वजनिक गरिएको छ । समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गरेको सो पुरस्कारमा एक लाख राशीसहित सम्मानपत्र रहेको छ ।
प्रतियोगिताका लागि प्राप्त कविताहरुमध्ये पहिलो चरणमा उत्कृष्ट २५ कविताहरु सार्वजनिक गरिएको हो । उत्कृष्ट २५ कविताहरुको जुम माध्यमबाट प्रत्यक्ष वाचन पनि गराइनेछ । सो प्रतियोगिताका लागि साहित्यकारहरु प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की र पारश नेपाल रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा उत्कृष्ट पच्चीस कविताहरु सार्वजनिक गरिएको हेम सरिता पाठक फाउन्डेशन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए ।
उत्कृष्ट २५ कवितामा भ्रष्ट भरिया (महेश चौलागाईं), बढ्न थाल्यो भ्रष्टाचार (विजय थापा), आस्थाको पहाडबाट झरिरहेको अस्तित्व (विवेक दुलाल क्षेत्री), भ्रष्टाचार निवारण चूर्ण (गम्भीर दुवाडी), पुनः एकपल्ट जमिनले बोलाउने छ (मन्दिप बाँस्कोटा), ऊ फेरि सिद्धिने छ (नवचन्द्र ओली), सावधान (रूपा थापा), भ्रष्ट–आचारी (रुद्र अधिकारी), मेरो देशको अनुहार (शङ्कर शर्मा), देशका शत्रु (मदन घिमिरे), उम्रिऊन् बोधिवृक्ष विवेकका (विन्दा पराजुली बराल), भ्रष्टचारीको अन्तिम इच्छा (तोया भट्ट), एक याचना (विश्व कुइकेल), धुर्तलाई समात (संयोग बस्याल), भ्रष्टाचार विरुद्ध (इन्द्रनारायण सुवेदी), कत्ति छुट छैन (प्रज्वल अधिकार), प्रतिक्षा (मणिकुमार श्रेष्ठ सिजन), भ्रष्टाचारविरुद्ध युवाको अपिल (शरद्शोभा), निष्ठाको कर्मयुद्द (मधुर भट्टराई -गिरिराज भट्टराई ), आह्वान (सुन्दर शिरीष), धर्ती सेतो रहोस् (दीपिन सिजापति), झुपडीका मुठीहरू (निशान निष्कर्ष), बतासको बह (विकल त्यागी), भ्रष्टाचार प्रताडित मातृभूमि (सुमन भट्टराई) र दुस्स्वप्न (वासु पन्थी 'देवस्म') रहेका छन् ।
उत्कृष्ट २५ कविताहरुको वाचन कार्यक्रमकै दिन पुरस्कृत कविको नाम घोषणा गरिनेछ । त्यसपछि काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट २५ कविताको पुस्तक प्रकाशन पनि गरिने अध्यक्ष लेकालीले जानकारी दिए ।
काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा आयोजित एक समारोहबीच ११ जना विशिष्ट स्रष्टाहरूलाई जनही एक लाख रुपैयाँ राशिको ‘प्रज्ञा पुरस्कार– २०८०’ अर्पण गरिएको छ ।
कुलपति राईले खगेन्द्र संग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार, मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार, शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार, प्रा.डा.देवीप्रसाद गौतमलाई प्रज्ञा भाषा पुरस्कार, बम देवानलाई प्रज्ञा साहित्य पुरस्कार (पद्य), राजवलाई प्रज्ञा साहित्य पुरस्कार (गद्य),गंगा कर्माचार्यलाई प्रज्ञा बाल पुरस्कार, प्रज्ञा मातृभाषा साहित्य (हिमाली/पहाडी) पुरस्कार डा.योगेन्द्र प्रधान र पदम विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कार अर्पण गरेका थिए ।
प्रज्ञा मातृभाषा पुरस्कार (तराई/मधेस) बाट बेचन उराँव अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा गत महिना धरानमा आयोजित कार्यक्रममा पुरस्कृत भइसकेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले विशिष्ट स्रष्टाहरूलाई पुरस्कृत गर्न पाउँदा आफू गौरवान्वित रहेको चर्चा गर्दै प्रज्ञा–प्रतिष्ठानलाई सबैको साझा थलोको रूपमा आफूले अघि बढाउने बताए । यसै क्रममा उनले समाजले उत्पादन गरेको ज्ञानबारे बहस गर्दै प्रतिष्ठानले प्रतिपक्ष र विरोधी चेतनालाई समेत समेट्ने बताए ।
यसैगरी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले स्वागत मनतव्य र सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टा व्यक्तित्वहरूले समेत आ–आफ्नो मन्तव्य राखेका थिए ।
काठमाडौं : चर्चित कवि जगन्नाथ पौडेलको कृति ‘बग्दैबग्दै’ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा एक समारोहका बीच विमोचन गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि एवम् अनेसास बिओटीका अध्यक्ष पदम विश्वकर्मा, अनेसासका पूर्वकेन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, पूर्वसल्लाहकार एवम् समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, अनेसासका केन्द्रीय उपाध्यक्षहरु राजेन्द्र श्रेष्ठ र डा. रेणु थापा सोलु, समालोचक महेश पौडेल, अश्विनी कोइलाला, गणेश कुमार जी.सी., बालाकृष्ण अधिकारीलगायतले उक्त कृति लोकार्पण गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि विश्वकर्मा, पूर्वअध्यक्ष लेकाली, पूर्वसल्लाहकार डा. गौतम, कवि पौडेललगायतले मन्तव्य राखेका थिए । यसैगरी समालोचक महेश पौडेल र डा. बालाकृष्ण अधिकारीले लोकार्पित कृतिको बारे समीक्षात्मक मन्तव्य राखेका थिए । प्रा.डा. लक्ष्मणप्रसाद गौतमले मन्तव्यका क्रममा ‘बग्दैबग्दै’भित्र सौन्दर्यचेतनाले भरिएका शक्तिशाली कविताहरू रहेको भन्दै कवि पौडेलले कवितामा आफ्नो शिखर निर्माण गरेको बताए ।
समीक्षक महेश पौड्यालले ‘बग्दैबग्दै’ कविताकृति वर्तमान कविता परम्परामा एउटा शक्तिको रूपमा स्थापित हुने कुरामा विश्वश्त हुन सकिने अभिव्यक्ति राखे । डा. बालाकृष्ण अधिकारीले पाँच पटक सोचेर यो कृति डायस्पोरा साहित्यको बेजोड नमुनाको रूपमा आएको छ भनि दाबा गर्न सकिने बताए ।
कार्यक्रममा साहित्यकार सुमन वर्षा, तैँतैँ धिताल, मोहराज शर्मालगायतले लोकार्पित कृतिबाट कविता वाचन गरेका थिए । कविता वाचनको बेला वसन्त चामलिङ राईले बाँसुरीमा धुन दिएका थिए । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा कोषाध्यक्ष कमला रिसालले स्वागत गीत, उपाध्यक्ष निर्मल पराजुलीले स्वागत मन्तव्य र सञ्चालन उपाध्यक्ष मन्जिला अनिलले गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, दिव्य गिरी, विजयध्वज थापा, विक्रमभक्त जोशी, देविका तिमिल्सिना, रञ्जना निरौला (महासचिव), शान्ति रिसाल, सिर्जना शर्मा, रमेश दहाल, ममता मृदुल, यादेवी ढकाल, राज रजक, रिसव घिमिरे, हरिश कल्पितलगायतको बाक्लो उपस्थिति रहेको थियो ।
–रूप नारायण तिम्सिना
रिना आमाको स्वास्थ्य दिनदिनै बिग्रँदै थियो त,र उनले छोरा बुहारीलाई सुनाएर चिन्ता बढाउन चाहिनन् । छोरा रमेश र बुहारी रश्मि दुवै सरकारी जागीरे थिए ।
प्रायः सधैँ आमाले नै खाना तैयार गर्नुहुन्थ्यो दुवै छोरा बुहारी खाइपिइ आ–आफ्नो कार्यालयतिर जान्थे । समय व्यतीत हुँदै गयो । घर गाउँ बस्तीमा भएकोले गाउँलेहरूको आवागमन सदैव हुनेगथ्र्याे । एकदिन छिमेकी रविन काकाले रीना आमालाई आँगनमा बसेर आँसु पुछ्दै गरेको देखेर नजीकै गएर सोधे, “हैन ए रीना के भो तिमीलाई किन रोएकी ?”
रीना आमाले आँसु पुछ्दै भनिन्, “केही होइन काका ! आफ्नो भाग्य सम्झेर रून मन लाग्छ के गर्नु र ?” गुनासोपूर्ण शैलीमा काकालाई बस्न मुडा दिइन् । मुडामा बसेर रवीन काकाले फेरि प्रश्न तेस्र्याए, “हन किन रुनुपर्यो र ? छोरा बुहारी दुवै जागीरे छन् । धन सम्पत्ति टन्न घरमा आउँछ । खान लाउन दुःख छैन घरवार राम्रै चलेको छ होइन र ?”
“सम्पत्तिले सुख हुँदो रहेनछ काका ! यो मनले त माया खोज्दो रहेछ, त्यो माया मबाट टाढा भागिसकेको छ । पतिको मृत्युपछि छोराको मुख हेरेर बाँचे । सुख होला भनेर छोराको विवाह पनि गरियो । तर, खै छोराले बुहारी पाएपछि त झन् मतलब नै राख्न छोडेको छ काका ! त्यस्तै के–के सोचाइ आउँदो रछ अनि मन थाम्न नसकेपछि आँसु झर्दो रहेछ नि काका ! अनि कतासम्म हिँड्नु भएको हो ? चिया पानी केही लिनुहुन्थ्यो कि ?”
रीना आमाका दुःख लाग्दा कुराले रवीन काकाको हृदय छोयो । उनले केही जवाफ दिन सकेनन् र भने, “होइन आमा मलाई केही खाऊँ छैन, म एकछिन पल्लो गाउँतिर लागेको, आफ्नो ख्याल राख्नु है, म गएँ”, भन्दै जुरुक्क उठेर हिँडे ।
रीनाले बेलुकाको खाना तैयार पारेर छोरा बुहारी पर्खेर बसिन् । साँझ पनि टर्यो । सधैँ उज्यालैमा आउने छोरा बुहारी आज साँझ टर्दासम्म पनि न आएपछि आमाले दैलो लगाएर ओछ्यानमै गएर ढल्किन् । रात धेरै बितेपछि उनीहरू आए । आमाले दैलो खोलिन् र भनिन्, “नानी हो ! लु हात गोडा धोएर आओ म खाना पस्किन्छु ल ।”
आमाका कुरा सुनेर छोरा रमेशले भन्यो, “आमा ! तपाईं खाएर सुत्नोस्, हामीले त बाहिरै खाएर आयौं ।”
आमाको मन चिसो भयो र अनुरोध गरिन्, “होइन छोरा आज तँलाई मन पर्ने खाना बनाएकी छु, अलिकति भए पनि खा न छोरा !” रमेश रिसाए झैं गर्दै, “भन्यो आमा हामीले खाना खाएर आयौं अब फेरि कसरी खानु ? तपाईं खाएर सुत्नोस् न भनेको !”
रीना आमाको मन चस्स पोल्यो केही बोलिनन् । छोरा बुहारी आफ्नो कक्षतिर लागे र दैलो बन्द गरे । आमाले विस्तारै भोजनालयमा गएर आफूले मेहनत गरेर बनाएका भोजनका परिकारहरू हेरिन् । केही खान मन परेन र त्यत्तिकै गएर आफ्नो ओछ्यानमा पल्टेर धेरै बेर के के सोचिरहिन् ।
भोलिपल्ट बिहान सधैँ छिट्टै उठ्ने आमा आज किन उठ्दिनन् भनेर रमेश आमाको कक्षमा प्रवेश गर्छ यसो हेर्छ आमालाई सुतिरहेको देख्छ । सम्झिन्छ सायद गल्नु थाक्नु भएकोले होला भनेर उठाउन चाहेन । ऊ आमाको कक्षबाट फर्किन खोज्यो । अचानक उस्का आँखा नजिकैको टेबलमा रहेको कागजमा पुगे । हतार–हतार कागज उठाएर पढ्न थाल्यो । त्यस कागजको पन्नामा लेखिएको थियो, “छोरा रमेश ! आज तेरो जन्मदिन थियो, मैले बिहान त केही गर्न भन्न भ्याइन किनकी तिमीहरूलाई हतार थियो र बेलुकाको भोजनमा तँलाई मन पर्ने खाना बनाएकी थिएँ र तिमेरु आएपछि सँगै खाउँला भनेर मैले पनि नखाई पर्खेर बसेकी थिएँ । तर, तैँले खान मानिनस् र मलाई पनि खाउँ लागेन सायद हामी आमा छोराको बोलचाल पनि यतिनै होला । नानी ! मैले तँलाई एक साताअघि एउटा पर्ची दिएर भनेकी थिएँ, कुनै पसलमा पाइस् भने यो औषधि ल्याइदे ल भनेर त्यो पनि ल्याइनस् । अब त औषधिको पनि आवश्यकता पर्दैन होला । तँ खुशी रहनु आफ्नो स्वाथ्यको ख्याल राख्नु, समयमा खानु, समयमा घर आउनु ल छोरा !”
उसले पर्ची सम्झ्यो गोजी छाम्यो र पर्ची गोजिमै रहेछ । निकालेर हे¥यो । पर्चीमा लेखिएको थियो, “बाबू छोरा ! कतै तेरो याद न आउने औषधि पाइस भने लिएर आइज ल !” यो पर्ची पढेर उसले आमालाई उठाउन खोज्यो तर, आमा अब कहिल्यै नउठ्ने गरी सुतिसक्नु भएको थियो ।
–गणेश लोहनी
१.
जसका लागि साम्यवादका ठेली पढ्यौं
जसका आश्रय र साथले अगाडि बढ्यौं
बिर्सियौं कृतघ्न धन प्रसाद सुन बहादुर
सत्ताको मातले दुर्गन्धित सिनो झैँ सढ्यौं ।।
२.
कुनै पोकापन्तरामा नभेटियोस् सुन मेरो
मनको भित्रि मझेरीमा गुन्जिरहोस् धुन मेरो
समृद्धिको हस्तिनापुर हार्नलाई मञ्जुर छु
पिरतीको आकाशबाट नअस्ताओस् जून मेरो ।।
३.
आफ्नो त्यागेर अरुको आमूल सजाउन जानिएन
रोजियो मार्ग यथार्थको फजुल खेलाउन जानिएन
नक्कल गर्न चाहेको भए चढिन्थ्यो नि प्राडो पजेरो
झुक्याउने संस्कृति अप्रिलफूल मनाउन जानिएन ।।
४.
कस्तो दुस्साहस पराइको छाता ओड्छन् हिँड्छन्
सँगै जिउनेसँगै मर्ने बाचा कसम् तोड्छन् हिँड्छन्
मायाको डोरीभन्दा शारिरीक भोक बलियो हो कि
आमाहरू किन आफ्नै सन्तान् पनि छोड्छन् हिँड्छन् ?
– डा.सुमनुमार रेग्मी
यहाँ दुःख लाग्ने नै छ ।
यहाँ दुःख लाग्ने नै छ ।।
यहाँ दुःख छ लाग्छ ।
जहिले पनि सुखीको चौतरियामा सुते जस्ता लाग्छ ।।
मेरो हातखुट्टा, जीउ पीडा भए लाग्छ ।
तर जीन्दगीलार्ई क्षमा दिए लाग्छ ।।
जीन्दगी पुस्तै पुस्तै लाग्छ जान्छ ।
तर नाम उनीहरूको लाग्छ ।।
नाम रहन्छ लाग्छ ।
यही नै यथार्थ जीन्दगी लाग्छ ।।
यहाँ दुःख लाग्ने नै छ ।
यहाँ दुःख लाग्ने नै छ ।।
–रसुवाली कवि
कवितालाई विचार र कलाको बहसलाई टाढा राख्न सकिँदैन । एकाथरी भन्छन्– कविता भनेको बिम्ब, प्रतीकमा भनिने कलात्मकता हो । अर्कोथरी भन्छन्– यो विचारको रिलेदौड मात्र हो । बहसबिच पनि कविता आफैंमा कला र विचारको लयदार जुँइनो बन्नबाट चुकिरहेको छ ।
प्रगतिशील कित्तामा नारा लेख्नेहरू बढिरहेका छन् भन्ने आरोप निराधार लाग्दैन । जसरी कलावादीहरू कवितालाई उत्तर आधुनिक बजारको मालवस्तु बनाउन लालायित छन्, उसैगरी प्रगतिशीलहरू पनि लाल शासकहरूलाई खुशी बनाउन कविता लेखिरहेका छन् । कविताहरू आकार–आकारका राजनीतिक नेताहरूको स्वार्थमा बाँडिनु दुःख लाग्दो कुरा हो । कविता लेख्नेहरूले कविताको वैचारिक गोरेटो पनि खन्नु नै पर्ने बेला हो ।
नेताहरूले आफ्नो स्वार्थका कविता फलाक्नु नेताहरूका लागि शोभनीय छैन । खासका शासकको आदर्शमा कविता पर्दैन । उनीहरू प्रायः प्लेटोसँग सहमत हुन्छन् । शासकहरू संसदमा कविता सुनाइरहेका छन् । मजदुरहरू पनि हाट बजारमा कविता सुनाइरहेका छन् । समालोचकहरू पनि कविताको समालोचना गरिरहेका छन् । कविताको बजार फराकिलो भएको छ ।
माओवादी जनयुद्धकाल कहिले कलाकारको भूमिकामा कहिले छापामारको भूमिका रहँदै निरन्तर सांस्कृतिक आन्दोलनमा रहेका कुशल बोगटी प्रगतिशिल कित्ताका एक जना उल्लेखनीय लेखक प्रतिभा हुन् । शान्ति प्रक्रियाका दिनहरूमा विद्रोही कित्तामा रहेका कुशलले २०६५ सालमै ‘श्रीपेचको चिहानमा उभिएर’ कविता संग्रह बजारमा ल्याएका थिए । जनयुद्धको सौन्दर्यलाई ती कविताहरूले सम्बोधन गरेका थिए । अहिले कुशलको दोस्रो कविता संग्रह बजारमा आएको छ, ‘विद्रोहको गीत’ । यो कविता संग्रह माओवादी आन्दोलनको एउटा कित्ताको आत्मसमर्पण र वैचारिक स्खलनको विरुद्ध रहेको छ । विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध गरेपछि आक्रोशित कवि कुशलले राज्यसत्ताको क्रूरताविरुद्ध आफ्ना कविताहरूलाई उभ्याएका छन् ।
निःसर्त कुशलका कविताहरू राजनीतिक हुन् । कवितामा आउने नारातत्व छ, जसबाट पनि कुशल कविताहरू मुक्त छैनन् । कुशलका कविताले बामपन्थी आन्दोलनको पछिल्लो मनोदशा उजागर गरेको अनुभुति भएको छ ।
कवितामा कलात्मक नारा नै हो । तर, कविता कुनै अमुक पार्टीको नारा हुनबाट जोगिनुपर्छ । किनकि यो किनबेच र होहल्लाको युगमा नेता र राजनीतिक पार्टीको आयु क्षणिक हुन्छ । कविताको आयु त्योभन्दा केही बढी हुन्छ । मान्नुस् त्यो सामान्य कविता नै किन नहुन् ।
कुशलका कविताले इंगित गरे जस्तै कहिलेकाहीँ आदर्श मानेको नेता नै सुन तस्कर भइदिन सक्छ । कवितालाई सुन तस्करको पक्षधरता उम्काउनु पर्छ । कुशलले आफ्नो पक्षधरतालाई सरलरूपमा भनेका छन्– शोषण छ, अन्याय छ, भेदभाव छ र क्रान्ति जारी छ । कुशल बोगटीका यी प्रतिनिधि कविताहरू निरन्तर क्रान्तिको पक्षमा छन् ।
जसरी एकै मोर्चा लडेर आएका कमरेडहरूले मोर्चा फेरे, जसरी शहरी आत्मसमर्पणलाई मन–मनमा विद्रोह र मुख–मुखमा संविधानसभा भनियो, जसरी युद्धनायकले हठात् आफ्नो जुँगा पत्तीले खुइल्याए, जसरी सिंहदरबारलाई रंग लगाएर भनियो, यो रातो छ भनियो, आजको प्रश्न कविताहरूले नै गरेका छन् । त्यो प्रश्न कवि कुशल बोगटीले पनि गरेका छन् ।
कामरेडले सोध्नुहुन्छ
तपाईंको थर कुन हो ?
कामरेडले सोध्नुहुन्छ
तपाईंको घर कहाँ हो ?
म जब भन्छु, कुशल सार्की
म जब भन्छु, सुकुम्बासी टोलको ठेगाना
कमरेड तर्सिनुहुन्छ
र, भन्नुहुन्छ फेरि भेटौला
(कुशल बोगटी, विद्रोहको गीत, पेज ८६, तपाईं अझै कविता लेख्नुहुन्छ ?)
आजकाल कमरेडहरू वर्ग च्यूूत भएका छन् । उनी आफ्नो साँघुरो वैचारिकमा गुडमा लुकेका छन् । जग्गा दलाल, सेयर बजारको खेलाडी वा मन्त्रालय बिचौलियाहरूसँग उनीहरू नित्य उठबस हुने गर्छन् । उनीहरू यसैलाई समाजवाद भनिरहेका छन् । एक कित्ताका मानिसहरू यहीँ दक्षिणपन्थी हावाको बगाइमा अल्झेर गजल कोरिरहेका छन् । एकाथरी मानिसहरू भनिरहेका छन्, यिनीहरूले कविता लेख्न कहाँ सक्छन् र ? कुशलका कविताले यो दलदलमा उक्किन अनुरोध गरेका छन् । क्रान्ति मरेको छैन भन्ने उनको सन्देश रहेको छ ।
जरूर मरेको छैन भने
तिमीसँग दौड जित्ने अभिलाषा
जरूर मरेको छैन भने
तिमीसँग शोषणको पर्खाल ढाल्ने संकल्प
हेर क्रान्ति मरेको छैन
(कुशल बोगटी, विद्रोहको गीत, पेज ९९, क्रान्ति मरेको छैन)
कविताले प्रश्नहरूलाई जोगाउनुपर्छ भनिन्छ । कविताले आफ्नो वर्गको चेतनालाई रक्षा गर्नुपर्छ भनिन्छ । कहिलेकाहीँ यो अभिलाषाबाट लेख्नेहरूको कलम थाक्छ । त्यहीँ बेला प्रगतिशील कविताको मूल्य स्थापना हुन्छ । कुशल प्रयत्न त्यतातिर गएको देखिन्छ । तर, यो पूूर्ण भने छैन ।
पूूर्वीय काव्यशास्त्रका आचार्य भरतले नाट्य शास्त्रको कल्पना गरेका छन् । उनले पूरै साहित्यलाई नवरसमा वर्गीकरण गरेका थिए । प्रारम्भमा भक्तीरसमा लेखिएका साहित्यले विश्व साहित्यमै महत्वपूर्ण भूमिका खेल्यो । जति पूर्वीय धार्मिक कथाहरू छन्, तिनका मूल भाव भक्तिरसमा नै आधारित छन् । भक्ति रसपछि धेरै लेखिएको श्रृंगारिक रस हो ।
आजको दिनमा भक्ति रसमै साहित्य लेख्नु हुँदैन, बहस जरुर छ । आजको कला÷साहित्यको वैचारिकतामाथि प्रगतिशील (प्रगतिवादी) समालोचकहरू खेम थपलिया, अशोक सुवेदी, भगवानचन्द्र ज्ञवाली, ऋषिराज बरालहरूले यथेष्ट बहस गर्न जरुर छ । गोविन्दराज भट्टराई र कृष्ण गौतमहरूले मोटा किताबहरू नै प्रकाशित गरिरहेका छन् ।
कुशल कवितामा बोल्छन् –
हजारौं बाङ्गा–टिङ्गा गोरेटाहरू
हजारौं उतार–चढावबाट
अन्तिम घुम्ती
पुग्नु छ
र विजयको झन्डा फहराउनुछ
(कुशल बोगटी, विद्रोहको गीत, पेज ९८, घुम्तीहरू)
साहित्यमा उत्तरआधुनिकतावादको तिव्र प्रयोग भइरहेको छ । यस्ले साहित्यका संरचनागत मान्यतालाई भत्काएको पनि छ । तर, साहित्यको जुन महान् लक्ष्य हुन्छ, त्यहाँ उत्तर आधुनिकहरू निरपेक्ष भइदिन खोज्छन् । उत्तर आधुनिकहरू यहीँनेरबाट साहित्यिक दुर्घटनामा फस्छन् ।
साहित्य समाजको आर्थिक बिषमताबाट निरपेक्ष बन्न सक्दैन, आर्थिक अनमेलबाट टाढा रहन सक्दैन । साहित्य सोमरसको तालमा लेखिँदैन ।
साहित्यलाई सुकिला मुकिलाहरूको मुकामबाट जनताको झुपडीसम्म ल्याउने काम जनपक्षीय लेखक श्रष्टाहरूको हो । यसमा कविहरूको भूमिका निकै महत्वपूर्ण हुन्छ । आजको वैचारिक प्रदुषणविरुद्ध साच्चै प्रतिरोध साहित्य लेख्न असजिलो छ । कुशलहरूले जुन प्रयत्न गरेका छन्, त्यो प्रसंशा गर्न लायक छ ।
सहरभरी क्रान्तिको विगुल फुक्ने
महान् योद्धा पनि फेरिएको छ मुसामा
र आत्महत्याका लागि खोजिरहेको छ समुद्र
(कुशल बोगटी, विद्रोहको गीत, पेज ५०, मुसाहरू)
प्रतीकको हिसाबले मुसाहरू शीर्षकको कविता यो संग्रहमा रहेको कवितामध्ये अब्बल लाग्छ । लेमिङ सिन्ड्रोमग्रस्त मुसाहरू जसरी मृत्युका निम्ति समुद्र खोज्छन्, शहर पसेका क्रान्तिकारीहरू पनि त्यस्तै मनोदशामा गुज्रिएको कविताको भाव रहेको छ । यो प्रतीक हिसाबले निकै सशक्त कविता हो । अरू केही कविताहरूमा पनि उल्लेखनीय प्रतीकहरूको प्रयोग गरिएको छ ।
विद्रोहको गीत पढिरहँदा पछिल्लो दशकको कम्युनिस्ट आन्दोलनको तस्वीर आँखाभरी नाँच्छ । क्रान्तिबाट विचलित हुनु हुँदैन भन्ने कविको चेतनाले तपाईंलाई पनि छुन्छ । केही कविताहरू भने कवि आबद्ध राजनीतिक दलको आवाज जस्ता पनि लाग्छन् । राजनीतिक कविताको आफ्नै स्थान छ । कविको पक्षधरतालाई पनि सम्मान नै गर्नुपर्छ । पक्षधरता हुनु राम्रो कुरा हो । कुशल बोगटीकृत ‘विद्रोहको गीत’ आजको पुस्ताले पढ्नुपर्ने एक वैचारिक कविता संग्रह हो ।
–दिप मंग्राती
“ए बुढा यहाँ छेउमा बसन, कति हिँडिराखेका ?”
“तिम्रो दबाई तयार गरेको नि....!”
“अब दबाइले के गर्छ र...? बरु बसन यहाँ, मेरो नजिकै !”
उ श्रीमतीको छेउमा गएर बस्यो ।
आजै मात्रै उनलाई अस्पतालबाट घर ल्याएको । डाक्टरहरूले अवकाश दिसकेका थिए उनलाई । अब परिवारसँगै राख्नु, चाहेको कुरा दिनु, सकेसम्म खुशी राख्नु भनेर ।
श्रीमतीले उसको हात अठाएर सुम्सुमाउन थालिन्, “किन–किन बुढा अझै बाँच्ने लाल्सा जागेर आइरहेछ, तिमिसँग अझैसँगै जिउने चाहाना बढेर आइरहेको छ । त्यो जवानीका दिन अझै दोहोर्याउन मन लागेको छ ।”
“उमेर हुँदासम्म, झगडा गर्दै बसियो, नबोली ठुस्किएरै बिताइयो । रहर अनि यौवन हँुदासम्म, तिम्रो मायाको, तिम्रो साथको कदर नै भएन । आज सम्झिन्छु, किन त्यस्तो भएको थिएँ होला ? अब समय छैन तर, तिम्रो अंगालोको चाहाना उर्लेर आउँछ । अहिले पछुतो लाग्छ ! मैले नै केही समर्पण गरेको भए, आफ्नो जिद्दी र घमण्ड त्यागेर, हाम्रो दाम्पत्य जीवनलाई प्रेमिल बनाएको भए ! कति रमाइलो बन्थ्यो होला हाम्रो जिन्दगी होगी बुढा ?”
“ए बुढा मलाई तिम्रो काखमा सुताउन...!”
उसले बुढीलाई काखमा सुतायो अनि कपाल मुसारी रह्यो..! उनीले एक्टक लोग्नेलाई हेरि रहिन, लाग्थ्यो, उनी आफ्नो लोग्नेको तस्वीर आँखामा उतार्न चाहन्थिन् ।
“तिमी यति मायालु रहेछौ, मैले कसरी तिम्रो माया बुझ्न सकिन बुढा...?”
“बुढा मलाई बचाउ न, म अझै बाँच्न चाहन्छु, मैले जिउन नसकेको जीन्दगी तिमीसँग अझै जिउन चाहन्छु ।”
श्रीमतिको प्रेमिल कुराहरूले टुट्दै जाँदै थियो उ । बाहिरबाट आफूलाई दह्रो देखाउन खोजे पनि आँखाले साथ दिरहन सकेन, परेलीको बाँध तोडेर आँशुको थोपाहरू बग्न थाले ...!
“पगली.....!” यति मात्रै त बोल्न सक्यो उ ! रोदनले भक्कानिएर थप बोल्नै सकेन । बिचरा ! के बोलोस् ? कसरी सम्झाओस् ? के भनेर मनाओस् ?
“आची...!” कति नसुहाएको रूँदा तिमिलाई बुढा....! न रोउ न...! मेरो प्राणलाई किन गाह्रो बनाउछौ प्यारे ! तिम्रो आँशुले यमराजको मन थोरै न पग्लिन्छ र...?”
“काश तिमिलाई म बचाउन सक्ने भए....!”
“मेरो पनि आयु तिमिलाई थप्न मिल्ने भए...!”
उ विस्तारै श्रीमतिको मुहारतर्फ झुक्यो, निधारमा चुम्यो । निकै बेर चुमी रह्यो ! “बुढा तिम्रो ओठ पनि जवानी ढलेसँगै चिसो भएछ, उहिले त कति तातो हुन्थ्यो तिम्रो ओठ....!”
तर उ बोलेन केवल चुमीरह्यो...! निश्चल ...!
“ए बुढा के भयो...? किन नबोलेको....? उसले लोग्नेलाई हल्लाउन खोजी, लोग्ने एकातिर लुड्कियो ।
“बुढा.....! ए बुढा....! के भयो....! ए केटा केटि हो हेर न तिमीहरूको बाउलाई के भयो....?”
“आमा ....! बुवालाई छातिको क्यान्सर थियो, लास्ट स्टेजको....! क्यान्सर मुटुसम्म फैलिसकेको थियो, कुनै पनि बेला मुटु बन्द हुन सक्ने अवस्थामा थियो । तपाईंलाई नभन्नु भनेर सबैलाई उर्दि गर्नु भएको थियो...!”
“अनि किन उपचार गरेनौ त बुवाको ? के कमी थियोे र उपचार गरेनौ बुवाको ?”
“हामीलाई पनि भन्नू भएको थिएन, खाली तपाईंको उपचारमा व्यस्त रहनु हुन्थ्यो । पछि अस्पतालमै बेहोस् भएपछि पो डाक्टरले भनेर थाहा पायौं । मृत्युलाई कुर्नु सिवाय कुनै उपाय थिएन बुवाको निम्ति ।”
“कति गाई प्राणी हुन सकेको बुढा, जिन्दगीभरी मेरो गनगन सुनेर बसेउ, कहिल्यै रिसाएनौ, जहिल्यै मलाई खुशी राख्ने अनेक उपाय गरिरहेऊ, आज जीवनको अन्तिम बाजी पनि आफैले मारेर गयौ होइन ? आफू मर्न लागेको थिएउ, र पनि मेरो सेवा गरिरहेउ ! हे भग्वान ! मलाई किन यति, कठोर, जिद्दी र घमन्डी बनाएछौ ?”
“उनको मायाको बदलामा मैले पनि थोरै माया दिएको भए ! केही मिठो बोली नै बोलिदिएको भए, मेरो के नै जान्थ्यो र ? मेरो अलिकति मुस्कान हेर्न र मेरो थोरै माया पाउन कति लालायीत हुन्थे ।”
“छोरी......?” उनीले मलिन स्वरमा छोरीलाई बोलाइन !
“हजुर आमा, म यही छु ।”
“नानी, तिमी पनि ज्वाइँ नसताउनु है, ज्वाइँ पनि तेरो बाउजस्तै छन्, एकदमै सुभानी, जति चिमोटे पनि कहिल्यै आइया भन्दैनन् । बुझ बाबू, समयको महत्व बुझ । गुमाएको पल फेरि फर्केर आउँदैन । जवानीको माया जवानीमै गर्नुपर्ने रहेछ । बुढेसकालमा त आफूले बिताएका रमाइला पलहरू, सम्झेर रमाउनु मात्रै हो । फेरि भोग्न पाइँदैन ।”
छोरीले लोग्नेलाई पुलुक्क हेरी, अनि लोग्नेको हात अठाइँ, हात मुसारी !
उता बुहारी पनि लोग्नेलाई प्रेमिल नजरले हेरिरहेकी थी । सायद उनीहरूले मन मनै एउटा प्रण गरिरहेला थिए, आपसी मायाले जीवन रंगीन बनाउने ।
“हे ईश्वर, अर्को जुनीमा पनि मलाई यिनकै दुलही बनाइदेऊ है, ता कि यो जुनिमा दिन नसकेको माया अर्को जुनीमा दिन सकु !”
“जाउ बुढा...! शान्तिसँग जाऊ, म पनि आउने छु पछि पछि...!”
लोग्नेको निश्चल शरीरलाई अंगालो मारेर उ यस्तै के–के बड्बडाउँदै रुन थाली, रोइ रही ।
आमा बुबाको यस्तो कारुणिक बियोग देखेर सबै सुँक सुँक रुन थाले । आफूहरू रुने चक्करमा आमाको आँशु सुकेको कसैलाई पत्तै भएन ।
(कथा समूहबाट)
– लेखराज रेग्मी
तिमी आफूलाई एकान्तप्रिय भन्छौ
भजन मण्डलीमा नाचेको फोटो
जन्ती बाजामा छमछमी नाचेको फोटो
रेस्टुरेन्टको फेमिली वार्डमा गाँसेर
चार टेबुलमा पार्टी चलिरहेको फोटो
भो पोष्ट नगर तर, सक्दैनौ तिमी
तिम्रो गुरु र त्यही लायक छ नढाँट
तिमी कलाकार होइनौ थाहा छ तर
मस्किमस्कि नाच्ने बासी रहर छँदैछ
र त कोठामा एक्लै भ्यागुतो झैं उफ्रन्छौ
रहर दबाउन नसकेर पोष्ट गर्छौं
नढाँट रहर छैन भनेर तस्बिर बोलिरहन्छ
शालीन बन्न खोज या भद्रताको नक्कल
अफिसको कुर्सी होस् या चिया पसल
जब बोलाएर सहयोगी फोटो खिच्छौ
तिम्रो सबै कलाकारिता टाप ठोक्छ
तिमी जे होइनौ तस्बिर बन्दैन तिम्रो कोसिस
तिमी जे हौ त्यो त तस्बिर बोलिरहन्छ
मस्त निद्राका खर्राटा सपनाको हाँस्नु रुनु
छोराछोरीमा आडम्बर पैदा हुनु र सबै
हो तस्बिर जस्तै हुन् यी सबै कुरा
त्यागी भन र भोगी वन तस्बिर बोल्छ
देशभक्त भन र राष्ट्रघात गर तस्बिर बोल्छ
महान चिन्तक जस्तै देखिन ठिङ्ग उभिएर
बुख्याँचा जस्तै दृढताको बखान गर
खोक्रो दिमाग र कायर पन तस्विर बोल्छ
हो बुख्याँचा डराउँदैन ज्यान छैन लालच पनि
त्यही ज्यान र लालच जो तिमीसँग छ त्यसैले
तिमी लाछी छौं कायर छौं उभन्दा कमजोर
उ पनि तस्बिर जस्तै हो उ आफै बोल्छ
म त महान सम्झन्छु महान देख्छु र भन्छु पनि
म त आफ्नो भाग्य तिम्रो मुहारमा हेर्न चाहन्छु
र त बारबार खोजिरहन्छु तिम्रो मुहार–सञ्जालमा
खिसी गर्दै मेरा विश्वासहरू तिम्रो तस्बिर बोल्छ
भ्रमित हुन चाहन्छ मन तर, जिस्काई रहन्छ उ
जिस्काउँदै मेरो विश्वासलाई मनसँग जिस्किदै
जब तस्बिरहरू बोलिरहन्छन् तिम्रो सत्य
के बाँकी रहन्छ भन मेरो उजाड संसारभित्र ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies