२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

लघुकथा : अगुवा !

२०८२ जेठ २४ गते ०६:१०
लघुकथा : अगुवा !

–धनराज गिरी

“बा, के दोहोरो सद्भाव सम्भव छ ?” पुत्र विवेकको प्रश्न । उसको जीवनले पनि केही कृतघ्नहरू भोग्यो, पक्कै, यही भएर यस्तो प्रश्न गर्‍यो, पिताश्रीको अनुमान । 

फिन्लीबाट मेलबर्न जाने क्रममा गाडी चलाउँदै छोराले गरेको प्रश्न, चार वसन्तअघि । बा, साझा बा, “प्रोफेसर शीतलकुमार गणितोपाध्याय रुचाङश्री” उही सदाबहार “किशोर दा, जूनियर !” 

बोल्यो, “छोरा, यहाँ केही कुराहरू अमूर्त हुन्छन्, हामी हाताहाती र प्रत्यक्षलाई मात्र विश्वास गर्छौँ । उही छिमेकी गुरु मोतीलाल शर्माको ‘नखाई पत्याइन्न !’ भन्ने उपकथा जस्तै, सुपुत्र, देखेको र सुनेको पनि सत्य हुन्न, यथार्थले नै बढी झुक्क्याउने नि, सुन, सद्भाव दोहोरै हुन्छ, मज्जाले हुन्छ, तर मूर्त र अमूर्त । यी फेसबुके सूचनाहरू, लीलाहरू, नाटकहरूतिर नजानू । काम छैन । मूर्त सद्भाव के ? जुन हाताहाती हुन्छ, मेरा चेलाचेलीहरू तिमीहरूलाई सघाए, त्यो मूर्त हो, अमूर्त सद्भाव हुन्छ, जस्तै : मेरो एक मित्र, चिन्छौ तिमीहरूले पनि, उहिलेको कथा, झुवानीको ‘धनराज सर !’ एक ब्रान्ड, त्यो घनटाउकेप्रति सद्भाव राख्ने उसका चेलाचेली अनन्त, भूगोलभरि, त्यो हो जिन्दगी, अलिअलि लहडी छ त्यो जोगी, तर मायालु छ, दयालु छ ।”

छोरा, “सद्भाव खेर जान्न !”

“हो, केही अति लिच्चड स्वार्थीहरूको हकमा भने गुनले गुन खा, तँलाई म खान्छु !’ भन्ने कुरा चरितार्थ हुन्छ । अनि नि पुतर, पुसको मसान्तमा पकाएर, खाने कुरा, माघे सङ्क्रान्तिको दिन खुवाए साथीले भने सक्कली सद्भाव, तर माघे संक्रान्तिमा पकाएर पुसे मसान्तमा खुवाए भने, कुरा बुझ्नू, नक्कली हो ! अभिनय पनि हुन्छ, दुनियाँमा अभिनय बढी बिक्छ ।”

“हजुरलाई सद्भाव राखेर पछि ग्लानी भएको छ कि छैन ?” छोरा ।

“छ पनि, छैन पनि”, बा । 

“कस्तो कादरखानीयन शैलीको उत्तर, प्रोफेसर जगमोहन आजाद सुमेधाश्रीको जस्तो, अलि स्पष्ट भन्नू न बा”, नरम भयो सुपुत्र । 

“आवेग, आशा, वेबकुफी र गलतफहमी, यी तीन मित्रहरूको फेला परेमा मैले त्यति गर्दा पनि मलाई उपेक्षा गर्ने ? भनेजस्तो लाग्छ र आफ्नो अतीतको लगानीप्रति ग्लानी हुन्छ, झोक चल्छ, सनातनी मान्छे बन्दा, औसत बन्दा ! तर, छोरा आवेगमुक्त हुन सकिन्छ । रिसलाई मार्न सकिन्छ । अपेक्षारहित हुन सकिन्छ । मेरो धर्म, कर्तव्य, मानवता, इमान, सद्भाव राख्नु हो, राखियो, आफ्नो चित्त सफा, आफैंलाई सजिलो, वास्तवमा नि छोरा, अरूप्रति सद्भाव राखेको आफ्नै उपकार गरेको हो, मनले स्थायी शान्ति पाउने पक्का ! जायज स्वार्थ चाहिन्छ, तर अति स्वार्थी बन्नुहुन्न, नाजायज लोभ गर्न हुन्न, अगुवा दर्शन प्रयोग गर्ने । यसले राहत दिन्छ । दोहोरो सद्भावको अपेक्षा नगर्ने, कदापि नगर्ने !”

कार, सेपार्टनभित्र पस्यो । विवेकको दिमागमा अगुवा नाच्यो । “बा, फेरि यो नयाँ दर्शन, अगुवा के आयो ? अभिधा त होइन, उही अधर : अमर, धनराज, रवीन्द्र अक्षत नाता, पोलर प्लञ्ज हो कि ?” विवेक बोल्यो । 

“हो, अगुवा, यहाँ व्यञ्जना हो, जरा घुमाइके, जमुनाकान्त रत्नकृष्णनन्दन बलरामपुरे, तिमीहरूको असल अंकल र मेरो बिचको सम्झौता, अगुवा : अवगुण ४९ प्रतिशत, गुण ५१ प्रतिशत भए काम चल्छ, वास्तविकता बुझ्ने, अनि मात्र कारोबार गर्ने, राम्रो म मुक्त हुने । सबै कुरा आफ्नै अनुकूल खोज्न हुन्न छोरा ! घरभित्र पनि अगुवा रोडम्याप लागु गर्नुपर्छ, जतिखेर पनि आफैंलाई केन्द्रमा राख्न हुन्न, अरूको भावना पनि बुझ्नुपर्छ । केही पनि नचाहेमा, सबै कुरा पाइन्छ । म, तिमीहरूको अगुवा बा, अचम्मसित ५८ पटक साहित्यिक सम्मान र पुरस्कारले अभिनन्दित भएँ, के यो प्राप्ति कम हो ?”

“सपना देखेर होइन, आफूसँग भएको कुरामा रमाउनुहोस् ! बाको मन्त्र, जीवनसूत्र । हरेक हालतमा सकारात्मक बन्न सकिन्छ छोरा, सकिन्छ । अरू जान्दिन, म बनेको छु, दुई÷चार अति अन्याय बाहेकको अवस्थामा । सदाबहार शान्त सम्भव हुन्न । यो पनि जीवनको नियम हो । तर, एक हदसम्म सहेको राम्रो हुन्छ”, प्रोफेसर बा । 

“हजुरको अनुहारको स्थायी चमकको राज त बल्ल थाहा भयो । मनराज हो हजुर, धनराज सरको किस्सा कमल दाइ, मीनाकान्तले सुनाउनुभएको थियो । भेट्न मन छ । अगुवाअब यही सूत्र प्रयोग गर्छु । ल बा, अब एक हिन्दी गीत सुन्ने ?”

छोराको फर्माइसमा प्रोफेसरले सात हिन्दी गीत गजल गायो, भिडियो बनायो । “भाइ त जिनियस ! कति कण्ठ भएको ! आम्माम्मा !” दिदी उमा मैनाली, हेटौँडाबाट । अर्को दिन । 

ADV

सम्बन्धित खबर