तेजबहादुर बन/मध्यान्ह
इटहरी : समुदाय स्तरमा कोरोना फैलिएपछि संक्रमणलाई न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले वैशाख ३१ गतेसम्म पूर्ण रूपमा निषेधाज्ञाको घोषणा गरेको छ ।
यसअघि प्रशासनले वैशाख २४ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेपनि संक्रमण थपिने क्रम नरोकिएपछि अझ कडाइ गर्दै ३१ गते सम्म पूर्ण निषेधाज्ञा गर्ने निर्णय गरेको हो । प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले निषेधाज्ञाको समय थप्नुका साथै यस अघि गरिएका जोर–बिजोर प्रणालिका निर्णय खारेज गरेको छ ।
मंगलबारबाट लागू हुने गरी अत्याआवश्यक बाहेकका अन्य कुनै सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै स्थानीयहरूमा कोरोना संक्रमणबारे सचेतना जगाउँदै बिना काम घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ ।
अतिआवस्यक काम बाहेक घरबाहिर निस्किए प्रहरीको कारबाहीमा परिने चेतावनी समेत दिएको छ । व्यापार व्यवसायको हकमा भने बिहान ६ बजे देखि बिहान १० सम्म सुचारू गर्न र तोकिएको समय भन्दा बाहिर व्यवसाय सुचारू गरे तत्काल व्यवसायीलाई नियन्त्रणमा लिइ उचित जरिवाना वा कानूनी कारबाही गरिने प्रशासनले निर्णय गरेको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञालाई कडाइका साथ पालना गराउन जिल्लाका मुख्य शहरहरूमा प्रहरी संख्या बढाइएको छ । सुनसरीको धरान, इटहरी, इनरूवा, दुहबी लगायतका शहरहरूमा प्रहरी संख्या बढाइ निषेधाज्ञालाई कडाइका साथ पालना गराउन सम्बन्धित प्रहरी कार्यालयहरूलाई निर्देशन समेत दिइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies