२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

कविता : सपना

२०८२ जेठ ३१ गते ०६:००
कविता : सपना

–सत्यजीत

सपना देखेको थिएँ
जहाँ रंगले मान्छे नछुटिने,
कुनै जात, धर्म, नक्साले
मानवताको मूल्य घट्ने छैन ।
जहाँ काबुलदेखि काठमाडौंसम्म
छोरीहरू किताब बोकेर हिँड्नेछन्,
र तेहरानका गल्लीमा
केटीको मुस्कान अपराध मानिने छैन ।
मैले सपना देखेको थिएँ –
जहाँ अफ्रिकाका कालो बालकहरू
‘हाम्रो छालै श्राप हो’ नबोलून्,
जहाँ अमेरिका र भारतका दलितहरू
मन्दिरको ढोकामा लात नखाउँन् ।
सपना देखेको थिएँ –
जहाँ यरूशलेम र गाजामा
बम होइन, बालकको हाँसो फुटोस्,
जहाँ युक्रेनमा बाँच्न पाउन युद्ध नहोस्,
र सिरियामा मान्छेले फेरि सपना देख्न पाओस् ।
तर अझै पनि –
कहिले ‘गाईको हत्या’ भन्दै मान्छे जलाइन्छ,
कहिले ‘पैगम्बरको चित्र’ भन्दै बन्दूक चलाइन्छ,
कहिले ‘बोक्सी हो’ भन्दै 
आमाको छातिमा आगो सल्काइन्छ ।
सपना देखेको थिएँ –
जहाँ विज्ञान पूजा होस् र विवेक धर्म,
जहाँ स्कूलको झ्यालले ब्रह्माण्ड हेर्छ,
र मन्दिरको घण्टाले अन्धविश्वास होइन, चेत जगाओस् ।
अहिले पनि जब किताब च्यातिन्छ,
म यो संसारको निधारमा लाजको गहिरो छायाँ देख्छु ।
जब एउटा केटो ‘नास्तिक’ भनेर जेलमा थुन्छ,
म पुराना धर्मग्रन्थहरूको हिंसा सम्झिन्छु ।
सपना केवल मेरो थिएन –
यो ग्यालिलियोको सपना थियो,
मण्डेला, चे, मार्टिन लुथर किङ्गको सपना थियो,
यो क्रान्तिको निसासिएको सपनालाई
हामी पुनः ब्यूँझाउने छौं ।
सपना देख्नु अपराध हो भने –
सारा युगहरू अपराधी हुन् !
सपना सधैँ नास्तिककै आँखा झल्किन्छ,
किनभने उनीहरू डराउँदैनन् प्रश्न गर्न ।
जबसम्म अन्धविश्वासको सीमा नाघ्दैनौ
सपना साँचो हुँदैन ।
जबसम्म अन्तिम शोषित मुक्ति पाउँदैन
क्रान्ति अधुरो रहन्छ ।।

ADV

सम्बन्धित खबर