दोहा (कतार) : चकलेटी युवास्टारद्वय पल शाह र अनमोल केसीको कतारमा पहिलो पटक स्नेह मिलन भएको छ । कतारमा रामी प्रोडक्सन इन्टरनेशनसले शुक्रबार इदको अवसरमा ग्राण्ड मलको एमपी थिएटरमा आयोजना गरेको म्युजिकल हंगामा कार्यक्रममा प्रस्तुति दिन आएका कलाकारद्वयले एक आपसमा स्नेह मिलन गर्दै पहिलो पटक भलाकुसारी समेत गरेका हुन् ।
कार्यक्रममा अनमोल आफ्ना बाबा भुवन केसीसहित आएका हुन् । कार्यक्रममा भुवनले आफ्नी प्रेमिका जियासँग ‘तिमी बिना मरिहाल्छु’ भन्ने गीतमा छोटो प्रस्तुति दिए तर अनमोलले दर्शकलाई अभिनन्दन मात्र गरे सांगीतिक प्रस्तुति दिएनन् ।
यता पल शाहले नृत्याङगना नारायणी खत्रीसहित १२ जना कोरस र काजिस श्रेष्ठका साथमा करिब २१ मिनेट लामो प्रस्तुति दिइन् ।
पलले प्रस्तुति सके लगत्तै आयोजकसहित दर्शकलाई धन्यवाद समेत भने । उनी स्टेजबाट बिदा भएर वेटिङ रुममा जाँदै गर्दा स्टेजको छेवैमा आएर कुर्चीमा बसेका भुवनले पलसँग हात मिलाउँदै ‘वेलडन हिरो, यु डिड फ्यान्टास्टिक जब’ भन्दै पललाई बधाईसमेत दिए ।
लगत्तै पल केही फ्यानहरूसँग फोटो खिच्न व्यस्त भएपछि मध्यान्हकर्मीले अनमोललाई तपाईँ र पललाई साथमा राखेर फोटो खिच्न मिल्छ या मिल्दैन भनेर अनुरोधात्मक प्रश्न गरेपछि अनमोलले मिल्छ खिचौँ भनेपछि मध्यान्हकर्मीले पललाई फोटो खिच्न अनुरोध गरे ।
मध्यान्हकर्मीले पहिला २ जना नायकको फोटो खिचे लगत्तै आफैले फोटो खिचाए । फोटो खिच्नु पूर्व नै अनमोलले पललाई हात मिलाउँदै ‘एकदमै राम्रो गर्नु भो पलजी बधाई छ’ भनेर प्रस्तुतिको प्रशंसा गरे । उनीहरूले आपसमा एक अर्काको तारिफ गर्दै केही बेर कुराकानी समेत गरे । उनीहरूको स्नेह मिलन नयाँ र नौलो जस्तो लाग्दैनथ्यो न त उनीहरूबीचमा कुनै प्रतिस्पर्धा या कुनै दुश्मनी नै छ भन्ने लाग्थ्यो ।
मध्यान्हकर्मीले पलसँग अनमोलसँग दुस्मनी छ कि प्रश्न गर्दा आफू अनमोलको शुभचिन्तक भएको र दुशमनी गर्नुपर्ने कारण नै नरहेको स्पष्ट पारिन् । पलले अनमोलसँगसँगै स्क्रिन शेयर नगरे पनी उनको काम आफूले हेरेको बताए । पल र अनमोल एकै फ्रेममा पहिलो पटक अटेका हुन । एकै फ्रेममा अटेका नायकद्वयले प्रस्तुतिका लागि स्टेज शेयर भने गरेनन् । अनमोलले पनि पलसँग कुनै तिक्तता नभएको स्पष्ट पारे ।
नेपाली, भोजपुरी र मैथिली भाषाका विभिन्न विद्याका ख्याति प्राप्त कलाकारले प्रस्तुति दिएको हंगामा कार्यक्रममा नायिका स्वस्तिमा खड्का, गायिका अस्मिता अधिकारी, मैथिली गायक सन्नु कुमार, भोजपुरी सुपरस्टार केसरी लाल यादव र अम्रपाली दुबे लगायतले प्रस्तुति दिएका थिए ।