–सन्दीप पनेरू
कहिल्यै लाग्दैन कि एउटा सानो निर्णय कति धेरै अर्थपूर्ण हुन सक्छ । “यार, पोखरा जाउँ न ?” भनेर सुरजले एक दिन भनेको थियो । म हाँसेको थिएँ, “पुग्ने हो ?” उसले टक्क हे¥यो र भन्यो, “यसपालि त पक्का हो ।”
यसरी सुरू भयो हाम्रो पोखराको यात्रा– जहाँ सौन्दर्य, साहस, शान्ति र स्मृतिहरू सबै एकसाथ भेटिए । हामी दुई साथी नुवाकोटबाट निस्कियौं । डाँडाकाँडा पार गर्दै, काठमाडौं हुँदै पोखरासम्मको यात्रा साँच्चै थकाइदायक भए पनि मनभित्र अनौठो जोश थियो ।
पहिलो दिन
हामी काठमाडौंबाट पोखरातर्फको बस चढ्यौं । पृथ्वी राजमार्गमा यात्रा गर्नु आफैमा एउटा रोमाञ्च हो– खासगरी जब गण्डकी प्रदेश प्रवेश गरिन्छ । बाटोभरि त्रिशूली, मस्र्याङ्दी र सेती जस्ता नदीहरू हामीसँगै दौडिन्थे । झ्यालबाहिर हेर्दा पानी, पहाड र खेतका दृश्यहरूले थकाइ बिर्साइरहेका थिए । मनमनै सोचेँ— नेपाल साँच्चै सुन्दर छ ।
पोखरा पुगेको समयमा दिउँसोको ३ बजेको थियो । हामीले पहिले नै तालबाराही नजिकै सस्तो तर सफा होटल बुक गरेका थियौं । सामान राखेर होटलको छतमा उक्लियौं– जहाँबाट फेवातालको छायाँमा मुस्काउँदै माछापुच्छ्रे झल्किरहेको थियो । त्यो पहिलो झलक... जीवनभर बिर्सन सकिन्न ।
“डुंगा चढौँ है ?” सुरजले उत्साहित स्वरमा भन्यो ।
“अहिले नै !” मैले मुस्कुराउँदै जवाफ दिएँ ।
तालको किनारमा पुग्दा सूर्य पश्चिमतिर झुक्दै थियो । रंगीन डुंगाहरू पानीमा तरङ्गिएर चिप्लिरहेका थिए । हामी पनि एउटा डुंगा लिएर तालको बीचमा पुग्यौं । पानीको छाल, चराहरूको स्वर र तालमा प्रतिबिम्बित हिमाल– त्यो क्षण सायद मैले पहिलो पटक साँच्चिकै ‘शान्ति’ महसुस गरेँ ।
बाराही मन्दिर पुगेपछि छोटो पूजाआजा गर्यौं । वरिपरिका पर्यटकहरू रमाइरहेका थिए, बच्चाहरू माछालाई पिठो खुवाइरहेका थिए । हामी पनि केही समय त्यहाँ बस्यौं ।
साँझपख फेवातालको छेउमा बसेर चिया पियौं । चिसो बताससँगै जीवनका थुप्रै कुराहरू ओर्लिए— पढाइ, संघर्ष, सपना र भोलिको योजना ।
अनि फेरि लाग्यौं, बुक गरेको होटलतर्फ ।
दोस्रो दिन
“सूरज, उठ ! ५ बजिसक्यो !” म हतारिँदै उठाएँ ।
“अब तँ सुत् न, सुतेपछि सबै पाइन्छ भन्या होइन ?”, ऊ निद्रामा पनि उस्तै ठट्टा गर्दै उठ्यो ।
बिहानको खाजा खायौं, पाउरोटी, अण्डा अनि दुध ।
खाजा खाएसँगै सुरु भयो यात्रा । होटल नजिकैं थियो, सराङकोट जाने जीप । हामीले पहिल्यै नै बुक गरेका थियौैं, प्याराग्लाइडिङको टिकटसहितका जीप ।
हामी जिप चढेर सराङकोटतर्फ लाग्यौं । सडक घुमाउरो थियो । उकालो लाग्दै गर्दा मुटुको धड्कन केही तेज भएको थियो । सराङकोट पुग्दा घाम घमाउँदै थियो । हामी बिस्तारै डाँडाको टुप्पामा पुग्यौं । पहिलो पटक, सराङकोट पुग्दाको दृश्य निकै रोमान्चक थियो ।
एक झिल्को उज्यालोले माछापुच्छ्रे र अन्नपूर्ण श्रृङ्खलालाई सुनौला रङले पोतेको थियो । हामी भाग्यमानी पनि भएर होला, कतै कुहिरोको बाछिटोसमेत थिएन ।
“कति सुन्दर हो नि !” सुरज भित्रैदेखि बोलेको जस्तो लाग्यो ।
म केही बोल्न सकिनँ । त्यो दृश्यले मलाई गहिरो मौनमा पुर्याएको थियो । सायद प्रकृतिले भाषाभन्दा अग्लो कुनै अनुभूतिको माध्यममा हामीलाई छुन्छ ।
त्यसपछि, सबैभन्दा प्रतीक्षित अनुभव सुरु भयो— प्याराग्लाइडिङ ।
जीवनको पहिलो अनुभव । केही डर अनि केही उत्साह । अरु उडेको हेर्दा, सामान्य लागे पनि आफू उड्दा डर धेरै हुने ।
तै पनि छिट्टै पालो आइहाल्यो ।
हामीलाई विशेष गियर लगाइयो, प्रशिक्षकले सम्हाले । म अलिक डराएको थिएँ । तर, जति अग्लो उचाइमा पुग्दै गयौं, त्यति नै मन हलुका हुँदै गयो ।
आकाश खुला थियो, तल पोखरा सहर, फेवाताल र टाढा हिमाल । म बाँधिएको थिएँ, तर मन पूरै स्वतन्त्र थियो । पाइलटले हल्का स्पिन गरिदियो— त्यो क्षण हर्ष, डर र आश्चर्यले भरिएको थियो ।
आकाशमा पुगेपछि मन बेग्लै भयो । तल हेर्दा, पोखरा सहर अनि फेवाताल । उत्तरतिर हाँसेको हिमाल । आहा ! स्वर्ग यही नै हो भन्ने लाग्यो । मनको डर पनि हरायो । “अब फेरि कहिले उड्न पाउँला ?” उडिरहँदा मनमा सोंच आयो । तर, पत्तै नपाई २५ मिनेटको समय सकिएछ ।
अवतरित भएपछि केहीबेर चुपचाप बस्यौं । सायद आकाशको त्यो स्वादलाई मनमा झार्दै थियौं ।
तेस्रो दिन
अन्तिम दिनको योजना अझै बाँकी थियो । हामी बिहान सबेरै पाताले छाँगो गयौं । त्यहाँ पानीको गर्जन टाढैदेखि सुनिन्थ्यो । सेती खोला पातालतिर समाउँदै झर्दा एउटा अनौठो भय र आकर्षण दुवै लाग्थ्यो । हामी रेलिङ समाउँदै झरनाको किनारमा पुग्यौं ।
“कसरी यस्तो आकृति बनेको होला ?” मैले सोधेँ ।
“प्रकृतिले सबै कुरा बनाउँछ, बाँच्न चाहिने डर पनि”, सुरजले हाँस्दै भन्यो ।
छेउमै रहेको गुप्तेश्वर गुफामा पस्यौं । गुफाको भित्ता रसाएका थिए, भित्र निस्किएको धुवाँ र चिसोले मन शान्त भएको थियो । शिवलिङमा तेल अर्पण गर्दै मनमा केही अधुरा कामको सम्झना आइरहेका थिए । गुफाबाट बाहिरिँदा जीवनकै गहिराइ सम्झिएको जस्तो लाग्यो ।
अन्तिम गन्तव्य थियो विश्व शान्ति स्तूपा । हामी केही समय साइकलमा गएर बाँकी उकालो हिँड्यौं । माथि पुग्दा आकाश निलो, सहर सुनसानजस्तै, फेवाताल त त्यहाँबाट अझ सुन्दर देखिन्थ्यो । स्तूपाको सेतो संरचना, त्यहाँका झण्डा फहराउँदा एक किसिमको आध्यात्मिक ऊर्जा महसुस भयो ।
एकछिन उभिएर आँखाले चारैतिर हे¥यौं— जसरी जीवनलाई पनि टाढाबाट हेर्नु पर्छ, भावनालाई शान्त राख्न ।
पोखराबाट निस्कँदा...
तीन दिन... लामो होइन तर, धेरै गहिरो यात्रा । त्यसबेलाको थकाइभन्दा गहिरो थियो स्मृति । हामी फर्किने दिन बिहान फेवाताल नजिक फेरि गयौं । त्यहाँ उभिँदा लाग्यो, पोखराको सुन्दरता त्यसको दृश्यमा मात्र नभएर, त्यसले हामीभित्र बनाएको अनुभवमा लुकेको छ ।
“फर्किन्छौँ नि फेरि ?” मैले भनेँ ।
“फेरि होइन, बारम्बार”, सुरजले आँखा झिम्क्याउँदै उत्तर दियो ।
हामी फर्कियौं— तर फर्किएका हामी पहिले जस्ता थिएनौं । अब हामीसँग पोखराको आकाश, पानी, झरना, गुफा, सूर्योदय, अनि ती फुरूङ्ग मनका क्षणहरू थिए, जुन कहिल्यै बिर्सन सकिन्न ।
पोखराको यात्राले सिकाएका केही कुरा :
जीवनको गति केही समय रोक्नु राम्रो हुन्छ ।
प्रकृति हाम्रो सबैभन्दा ठूलो चिकित्सक हो ।
साहसिक अनुभवले आत्मविश्वास बढाउँछ ।
मित्रताले हरेक यात्रा अझै स्मरणीय बनाउँछ ।
र, फेवातालमा एकछिन चुपचाप बस्नु पनि ‘ध्यान’ जत्तिकै लाभदायक हुन्छ ।