२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

देवेन्द्रका शब्दमा सन्तोषले तताए पोखरा

मध्यान्ह
२०८२ जेठ १८ गते १२:५४
देवेन्द्रका शब्दमा सन्तोषले तताए पोखरा

अहो ! क्या छ बान्की, तिमी पोखराकी

भनूँ रूप खानी, तिमी पोखराकी

१७ जेठ शनिबार देवेन्द्र के. सी. 'देवु'का यी शब्द विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको सुमधुर संगीत र स्वरमा गुञ्जीँदा पोखरा नै प्रेमिल बनेको थियो ।

पोखराको पार्दीमा रहेको नेपाल पर्यटन बोर्डको सभा हलमा भएको 'देवेन्द्र के. सी. 'देवु' गजल साँझ'मा देवुका ७ वटा गजल सन्तोषले साजबाजसहित प्रस्तुत गरेका थिए ।

बोकेर फूलपाती, स्यूँदोभरी सजाई

को धाउँदै छ दिलमा, छमछम चुरा बजाई

बाँसुरीमा टेकबहादुर राना र तबलामा मिलन गिरीले साथ दिएका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रम भव्य, सभ्य र उत्कृष्ट भएको समाजका महासचिव असफल गौतमले बताए ।

कार्यक्रमका संयोजक गजलकार, गजल अभियन्ता एवं समालोचक घनेन्द्र ओझाले गजलकार देवेन्द्र के. सी. 'देवु' र संगीतकार, गायक सन्तोष श्रेष्ठको छोटो परिचय दिँदै के. सी. श्रेष्ठ र आफू 'नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०' अभियानमा रहेको र सोही अभियानको एउटा महत्त्वपूर्ण पाटो यो कार्यक्रम रहेको बताए ।

ओझाले यो कार्यक्रम पोखराको वा गण्डकी क्षेत्रका लागि मात्र नभएर नेपाल र नेपाली गजल/गजल संगीतकै लागि महत्त्वपूर्ण र ऐतिहासिक रहेको उल्लेख गरे ।

साहित्यकार सरुभक्तले नेपाली गजलमा पछिल्लो समय शास्त्रीयताको खोजी र अभ्यास बढिरहेका बेला यस्तो अर्थपूर्ण कार्यक्रम पोखरामा हुनुले गौरव अनुभूति भएको बताए । उनले अभियानलाई स्वागत गर्दै पूर्ण सफलताको कामना गरे । श्रेष्ठले यो कार्यक्रम गण्डकी प्रदेशै पहिलो भएको सुनाए ।

लोक गायिका हरिदेवी कोइरालाले गजलकार देवुको साहित्यिक जीवनबारे उल्लेख गर्दै गजल गायन सफल र उत्कृष्ट रहेको बताइन् ।

गायक श्रेष्ठले यो अभियानको १ वर्ष पूरा भएको र यसबीचमै आधा दर्जन गजल गायनका कार्यक्रम सम्पन्न भइसकेका बताउँदै गजल गायन अभियान सातै प्रदेशमा आयोजना गर्ने उल्लेख गरे ।

अनेसासका केन्द्रीय सदस्य दुर्गा शाह 'बाबा'ले यस्तो महत्त्वपूर्ण कार्यक्रम पोखरामा हुनु खुसीको खबर भएको बताउँदै देवुको साहित्ययात्राको सफलताको कामना गरे ।

ADV

सम्बन्धित खबर